+
+
Shares

चालु खाता १ खर्बले घाटामा, विदेशी मुद्राको सञ्चिति भने बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३ गते १७:४४

३ चैत, काठमाडौं । कोरोना पछि सुधार देखिएको चालु खाता पुनः घट्न थालेको छ । चालु आर्थिक वर्षको सात महिनामा चालु खाता १ खर्ब १ अर्ब ९० करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ६ अर्बले घाटामा रहेको चालु खाता यस वर्षको सात महिनामा पनि १ खर्ब रुपैयाँ भन्दा बढीले घाटामा देखिएको हो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६ लाखले घाटामा रहेको चालु खाता यस अवधिमा ८७ करोड १० लाखले घाटामा रहेको छ । गत माघ महिनामा शोधनान्तर स्थिति भने ९७ अर्ब ३६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोडले बचतमा रहेको थियो ।

चालु आवको पहिलो महिना साउनदेखि नै बचतमा गएको चालु खाता आर्थिक वर्षको पहिलो चौमास अर्थात कात्तिक मसान्तसम्ममा पनि बचतमै थियो । मंसिर मसान्तसम्म आइपुग्दा भने चालु खाता पुनः घाटामा गएको थियो । देशभित्र आउने कुल विदेशी मुद्रा र बाहिरिने मुद्राबीचको अन्तर चालु खाता हो । विदेशी मुद्रा धेरै भित्रने र कम बाहिरिने भयो भने बचतमा रहन्छ । यस विपरीत कम भित्रने र धेरै बाहिरिए घाटामा जान्छ ।

निश्चित समयावधिभित्र आवासीय र गैर–आवासीय व्यक्ति र संस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारहरूको सारांश चालु खाता सन्तुलन हो । चालु खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको र चालु खाता बचतले अन्य देशहरूलाई खुद सापटी दिइएको बुझिन्छ ।

निर्यात, प्रत्यक्ष वैदेशिक लगानी, रेमिटेन्स आदीका रुपमा विदेशी मुद्रा भित्रिरहेको हुन्छ । त्यस्तै, पेट्रोलियम पदार्थ, यातायातका साधन, औद्योगिक सामग्री आदीको आयातमा विदेशी मुद्रा बाहिरीरहेको हुन्छ ।

विदेशी मुद्राको सञ्चिति

उता विदेशी मुद्राको सञ्चिितमा भने सुधार हुने क्रम जारी नै छ । कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई २०७७ माघ मसान्तमा १४ खर्ब ६२ अर्ब ३ करोड पुगेको छ । २०७७ असार मसान्तमा विदेशी मुद्रा सञ्चिति १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ माघ मसान्तमा ८.० प्रतिशतले वृद्धि भई १२ अर्ब ५७ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रु.१२२६ अर्ब १२ करोड रहेकोमा २०७७ माघ मसान्तमा ५.० प्रतिशतले वृद्धि भई रु.१२८७ अर्ब ५० करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु.१७५ अर्ब ७१ करोड रहेकोमा २०७७ माघ मसान्तमा ०.७ प्रतिशतले कमी आई रु.१७४ अर्ब ५३ करोड कायम भएको छ । २०७७ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.१ महिनाको वस्तु आयात र ११.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?