Comments Add Comment

हनुमन्ते करिडोर निर्माणमा अवरोध पुगेका संरचना हटाउन थालियो

फाइल तस्वीर

भक्तपुर- कोटेश्वरको जाम हटाउने, बस्ती डुबान रोक्ने, वातावरणीय र अन्य विभिन्न सुधार गर्ने उद्देश्यका साथ भक्तपुरमा शुरु भएको हनुमन्ते करिडोर निर्माणमा अवरोध पुगेका संरचना हटाउन थालिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिले शुरु गरेको हनुमन्ते करिडोर निर्माणको क्रममा मापदण्ड विपरित रहेका संरचना हटाउन सम्बन्धित निकायलाई पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि त्यस्ता संरचना हटाएर करिडोर निर्माण कार्य अगाडि बढाएको हो ।

समितिले भक्तपुरको सल्लाघारी पुलदेखि मनोहरा नदी दोभानसम्मको करिब ११ किमिमा करिडोर निर्माण गर्ने कार्य शुरु गरेपछि राधेराधे पुलदेखि नयाँ थिमि बालकोट पुलसम्म २.८ किमि करिडोर निर्माणमा आएका विभिन्न विवादलाई सुल्झाउदै बालकोटसम्मको निर्माण पूरा गरेको छ ।

यो बीचमा केही भागमा स्थायी तथा अस्थायी संरचना बनाएर हनुमन्ते करिडोर निर्माणमा बाधा पुगेका र करिडोरको मापदण्ड विपरित रहेका संरचना भने धमाधम भत्काएर निर्माण कार्य सम्पन्न गर्न लागेको हो । हनुमन्ते करिडोर मापदण्डभित्र संरचना निर्माण गरेका साख मेटल एण्ड ऐलाईड ईन्डष्ट्रिज र नेपाल पेन्ट ईन्डष्ट्रिज प्रालिको उद्योगको पर्खाललगायत भौतिक संरचनामा भत्काउन समितिले विगत दुई वर्षदेखि पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेको समितिका अध्यक्ष उद्धव तिमिल्सिनाले बताए । ती उद्योगले पटकपटक एक साताको समय माग गर्ने गरेको तर समय दिँदा पनि भौतिक संरचना नहटाई अटेर गर्दा करिडोर निर्माणमा नै बाधा पुग्ने भएपछि यहाँका संरचना डोजर लगाएर भत्काइएको उनले जानकारी दिए ।

एक साता अघिसम्म पनि सूर्यविनायक नगरपालिकाले सात दिनको समय दिएर अन्तिम पटक उक्त संरचना हटाउन सूचना जारी गरी पत्र पठाउँदा पनि अटेर गरेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार करिडोर निर्माणमा क्लष्टर बनाई प्रत्येक क्लष्टरको उपभोक्ता समिति गठन गरेर निर्माण भइरहेको र तीनवटा क्लष्टरमा केही विवाद आएपछि सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसहित जिल्ला प्रशासन कार्यालयमा एक महिना अगाडि बसेको बैठक र त्यसपछि जिल्ला प्रशासन कार्यालयमा सांसद एवं पूर्वमन्त्री महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापा, विवादित क्षेत्रका दुवै नगरपालिकाका वडा अध्यक्ष शिवशरण खत्री, कमलनाथ आचार्य, प्रेम कुटुलगायत सरोकारवालासहितको छलफलले सम्बन्धित वडाको सहमतिमा करिडोर निर्माण कार्य अगाडि बढाउने र उपत्यका विकास प्राधिकरणसहितले करिडोर निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउने सहमति भएअनुसार नै बाँकी निर्माण कार्य शुरु भएको हो ।

हनुमन्ते करिडोर समय मै सम्पन्न नगर्दा करोडौँको बजेट फिर्ता जाने, आयोजना अधूरो रहने, वर्षामा बस्ती डुबान हुने, सडकको जाम कायमै रहने र विकासमा अवरोध पुग्ने भएपछि आएका समस्या समाधान गर्दै करिडोर निर्माण अगाडि बढाउने निर्णयानुसार नै काम शुरु भएको बताइएको छ ।

विसं ०७५÷७६ देखि राधेराधे पुलदेखि शुरु भएको यो आयोजनाको पहिलो चरणअन्तर्गत रु ६९ करोड ७० लाखको बजेटमा शुरु भएको करिडोर निर्माण हालसम्म ६८.६७ प्रतिशत भौतिक र ६०.६९ प्रतिशत वित्तीय प्रगति भएको समितिले जनाएको छ भने उक्त ठेक्काका लागि ०७६÷७७ मा रु १४ करोड बजेट विनियोजन भएको थियो ।

यस्तै, दोस्रो चरणमा रु ५६ करोड ६० लाख ठेक्कासहित ०७५ असोजदेखि शुरु गरेको कामको हालसम्मको भौतिक प्रगति २९.६८ र वित्तीय प्रगति २४।२ प्रतिशत रहेको समितिले जनाएको छ ।

यसका लागि ०७६÷७७ मा रु २० करोड बजेट विनियोजन भएको थियो । तेस्रो चरणमा रहेको ठेक्काको भौतिक प्रगति २५.९१ र वित्तीय प्रगति २०।१२ प्रतिशत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment