Comments Add Comment

कर्णाली सरकारमा एमाले : एउटा समूहको समर्थन फिर्ता, अर्कोको कायमै !

यमलाल कँडेलको नेतृत्वमा बसेको संसदीय दलको बैठक

४ चैत, सुर्खेत । नेकपा एमालेमा देखिएको विवादको बाछिटा कर्णाली प्रदेश सरकारसम्म आइपुगेको छ । एमालेको एउटा समूहले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ भने अर्को समूहले समर्थन कायमै रहेको बताएको छ ।

बुधबार एमाले संसदीय दलका नेता यमलाल कँडेलले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरे ।

त्यसको एक घण्टा नबित्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले शाही नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहेको प्रतिकृया दिएका छन् ।

नेपाल समूहका सांसदहरुले कँडेलको नेतृत्वमा भएको बैठकलाई गुटगत भेलाको संज्ञा दिएका छन् र ‘समर्थन फिर्ता गर्ने निर्णय’को बैधतामाथि प्रश्न उठाएका छन् ।

‘आज गरिएको गुटको भेला विधि र प्रक्रियासम्मत छैन । २० जना प्रदेशसभा भएको संसदीय दलमा १० जनाले गरेको निर्णय कानून सम्मत छैन’ नेपाल समूहका सांसद एवंम् प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले भने, ‘त्यो निर्णय स्वीकार्य छैन । सरकारलाई दिएको समर्थन कायमै रहन्छ ।’

तर ओली समूहका सांसद एवंम प्रमुख सचेतक गुलावगंग शाहले भने २० जना प्रदेशसभा सदस्यमध्ये एकजना सभामुख भएकाले १९ जनाको मात्र गणना गर्ने र १० जनाले गरेको बैठक नै आधिकारिक भएको दाबी गरे । ‘यो बहुमत सदस्यको निर्णय हो, वैधता नपाउने कुनै प्रश्न छैन’ प्रमुख सचेतक शाहले भने ।

प्रदेशसभामा एमालेका २० प्रदेशसभा सदस्य थिए । उनीहरुमध्ये एक सभामुख भए । बाँकी १९ मध्ये १० जना ओली समूहमा र ९ जना माधव समूहमा छन् ।

सरकार कामचलाउ भयो : कँडेल

सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गराएका नेता कँडेलले सरकार कामचलाउ भएको बताए ।

अब मुख्यमन्त्रीले विश्वासको मत पाउने स्थिति नरहेको नभएको उनको दाबी छ । ‘हाम्रै साथीहरुको प्रवृत्ति राम्रो रहे मुख्यमन्त्रीले विश्वासको मत पाउँने स्थिति छैन’ नेता कँडेलले भने, ‘दलका मान्छेहरुलाई गन्ने हो भने त मेरो भन्नु केही छैन । नभए सबै दललाई जम्मा गरेपनि विश्वासको मत प्राप्त गर्ने स्थिति देख्दिनँ ।’

शाहीको नतेत्वमा सरकार बनेयताका तीन वर्ष खेर गएको आफूहरुको निष्कर्ष रहको कँडेलले बताए । ‘सरकारको काम-कारवाही निराशाजनक, जनअपेक्षा विपरित भएाले समर्थन फिर्ता लिने निर्णयमा पुगेका हौं,’ नेता कँडेलले भने ।

उनका अनुसार प्रदेश सरकारमा भएका तीन मन्त्रीलाई फिर्ता आउन समेत निर्देशन दिएका छन् ।

मन्त्रीहरु फिर्ता आउँदैनन् : ज्वाला

प्रदेश सरकारमा एमालेबाट प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढा मन्त्री छन् । तीनैजना माधव नेपाल पक्षधर हुन् । र, उनीहरुले सरकारबाट फिर्ता नहुने बताएका छन् ।

आर्थिक मामला तथा योजना मन्त्री ज्वालाले एक विज्ञप्ति जारी गर्दै सरकारलाई आफूहरुको समर्थन जारी रहेको बताएका छन् ।

प्रदेशसभाको अंकगणित

४० सदस्यीय प्रदेशसभामा सबभन्दा ठूलो दल नेकपा एमाले हो, जसका २० प्रदेशसभा सदस्य छन् । एमालेका २० सांसदमध्ये १० जना ओली समूहमा छन् भने ९ जना माधव नेपाल समूहमा छन् ।

सभामुख ओलीतिरका भएपनि उनको मत भने गणना हुँदैन । तसर्थ अहिलेको अवस्थामा १०-९ को अनुपात छ ।

त्यस्तै माओवादी केन्द्रका १३ जना सांसद् छन् । यद्यपि माओवादी केन्द्रका धर्मराज रेग्मी एमालेको प्रदेश सचिवमा मनोनित भइसकेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसका ६ जना सांसद् छन् । एक जना राप्रपाबाट छन् ।

र, एमालेले समर्थन फिर्ता लिएको अवस्थामा विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री शाहीलाई कम्तिमा २० प्रदेशसभा सदस्य चाहिन्छ, जुन उनीसँग देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment