Comments Add Comment

अहिलेको ढल प्रणालीले मेलम्चीको पानी थेग्‍न मुश्किल

ठूलो समस्या नआउला भन्ने आशा छः केयूकेएल

४ चैत, काठमाडौँ । काठमाडौंमा आगामी चैत १५ गतेबाट मेलम्चीको पानी वितरण शुरू गरिंदैछ । योसँगै काठमाडौंको ढल प्रणालीमा स्वतः फोहोर पानीको चाप बढ्ने अवस्था छ । तर, काठमाडौंको हालको ढल प्रणालीले मेलम्चीको पानी आएपछिको चाप थेग्न सक्नेमा विज्ञहरू आशंका व्यक्त गर्छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्रणालीमार्फत उपत्यकामा बर्खायाममा दैनिक १५ करोड र हिउँदमा १० करोड लिटर पानी वितरण हुने गरेको छ । अब दैनिक १७ करोड लिटर पानी मेलम्चीमार्फत वितरण प्रणालीमा थपिनेछ । केयूकेएलका अनुसार वितरण भएमध्ये ८० प्रतिशत पानी उपयोगपछि काठमाडौंको ढल प्रणालीमा बग्छ ।

यसअनुसार काठमाडौंको ढल प्रणालीले अहिलेको भन्दा दोब्बर अर्थात् दैनिक करिब २५.५ करोड लिटर फोहोर पानीको चाप थेग्नुपर्नेछ ।

तर, अहिलेको ढल प्रणालीले लेदोसहितको २५ करोड लिटर पानीको चाप थेग्न सक्नेमा विज्ञहरू मात्रै हैन, केयूकेएल नै विश्वस्त छैन । शहरी पूर्वाधार विज्ञ तथा पूर्वसचिव किशोर थापा पानी वितरण भएपछि धेरै ठाउँमा ढल फुटेर र भरिएर सडक र बस्ती क्षेत्रमा फोहोर पानी बाहिर निस्कने जोखिम देख्छन् ।

‘मेलम्चीको पानी वितरण शुरू भएपछि ढल प्रणालीमा त्यसको चाप स्वाभाविक रूपमा देखिन्छ’ उनी भन्छन्, ‘कतिपय ठाउँमा ढल र खानेपानी वितरण प्रणालीले चाप नथेग्न सक्छ ।’

केयूकेएलले पनि मेलम्चीको पानी वितरण थालेपछि ढल फुट्ने र चुहिने समस्या बढ्ने प्रक्षेपण गरेको छ । त्यस्तो अवस्थामा द्रुत मर्मतको लागि तयार अवस्थामा रहन आन्तरिक रूपमा तयारी थालिएको केयूकेएलले बताएको छ ।

२० प्रतिशत प्रणालीमा समस्या

काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले सन् २०१५ मा गरेको एक अध्ययन अनुसार काठमाडौंको १५ देखि २० प्रतिशत ढल प्रणाली विद्यमान फोहोर पानी निकास गर्न नै असमर्थ अवस्थामा रहेको पाइएको थियो । त्यसपछिका वर्षहरूमा पनि काठमाडौंमा त्यस्ता समस्याग्रस्त ढलहरूको मर्मत गर्ने काम भएको छैन ।

सो अध्ययनमा संलग्न भएका अधिकारसम्पन्न एकीकृत वागमती सभ्यता विकास समितिका पूर्वकार्यकारी निर्देशक लीलाप्रसाद ढकालका अनुसार, अध्ययन गरिएको १५०० देखि १६०० किलोमिटरको ढल प्रणालीमध्ये १५ प्रतिशतभन्दा बढी ढल सञ्जालहरू साँघुरो र मर्मत गर्नुपर्ने अवस्थामा रहेको पाइएको थियो । पीआईडीले काठमाडौंका करिब ९० हजारमध्ये ५६ हजार मंगलहरूको अध्ययन गरेर यस्तो निष्कर्ष निकालेको थियो ।

‘मेलम्चीको पानी आएपछि केही क्षेत्रमा ढल निकाससम्बद्ध समस्या बढ्न सक्छ’ उनी भन्छन्, ‘ढल प्रणाली चुस्त नभएका क्षेत्रमा अहिले पनि समस्या देखिरहेको हुन्छ भने मेलम्ची आएपछि झन् समस्या बढ्न सक्छ ।’

ढकालका अनुसार काठमाडौंको ढल प्रणाली आकाशे र फोहोर पानी दुवै बग्ने गरी एकीकृत रूपमा बनाइएको छ । ‘विभिन्न देशमा आकाशेपानी र ढल बग्ने प्रणाली फरक हुन्छन्’ उनी भन्छन्, ‘तर, हाम्रोमा दुवै खालका पानी एउटै प्रणालीमा बगाइन्छ, वर्षात्मा आकाशेपानीको चाप पर्दा थप समस्या देखिन सक्छ ।’

अहिले केयूकेएलसँग करिब १४०० किलोमिटर ढल प्रणालीको मात्रै आकारप्रकार र अवस्थाबारे अद्यावधिक तथ्यांक छ । जसमा करिब ४० हजार मंगल मात्रै समेटिएका छन् । बाँकी करिब ५० हजार मंगल र त्यसको ढल प्रणालीको अवस्थाबारे कुनै पनि निकायले एकीकृत तथ्यांक नै राखेका छैनन् । विभिन्न टोलहरूमा विछ्याइएका धेरै स्थानीय ढल सञ्जालहरूको अवस्थाबारे अहिलेसम्म अध्ययन समेत भएको छैन ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार यस्ता स्थानीय ढल प्रणालीहरू स्थानीयले आफूखुशी बनाएर चलाउँदै आएका हुन् । यस्ता प्रणालीहरूमा पटक–पटक समस्या देखिने गरेकाले महानगरपालिकाले नै मर्मतमा सघाइरहेको छ ।

‘परीक्षण हुन्छ’

पूर्वसचिव थापा पर्याप्त पानी नहुँदा काठमाडौंका ढल प्रणालीमा अहिलेसम्म ढल नै राम्रोसँग बग्न नपाएको बताउँछन् । यसैकारण शहरको ढल प्रणालीको क्षमताको परीक्षण हुन नपाएको उनको भनाइ छ ।

‘सुक्खायाममा त कतिपय ढलको पाइपमा सुक्खा रहने अवस्था समेत छ’ उनी भन्छन्, ‘मेलम्चीको पानी प्रणालीमा थपिएपछि काठमाडौंको ढल प्रणालीको खास परीक्षण हुन्छ ।’ यो समयमा ढल व्यवस्थापनामा चुनौती थपिए पनि सुधारको मौकाका रूपमा उपयोग गर्न सक्नुपर्ने थापको धारणा छ ।

पूर्वाधार विज्ञ सूर्यराज आचार्य पनि काठमाडौंको ढल प्रणाली पूर्ण रूपमा ‘इन्जिनियरिङ’ गरेर एकीकृत रूपमा तयार नगरिएकाले चुनौती रहेको बताउँछन् ।

‘उपत्यकाको धेरैजसो ढल प्रणाली स्थानीय रूपमा कुनै खोलातर्फ सोझ्याएर विना इन्जिनियरिङ विछ्याइएका हुन्’ उनी भन्छन्, ‘यसकारण कतिपय ठाउँमा ढलहरू बोटलनेक भएका हुनसक्छन्, प्रणालीमा फोहोर पानी थपिंदा त्यस्ता ठाउँमा समस्या आउन सक्छ ।’

केयूकेएलका ढल सञ्चालन महाशाखा प्रमुख उज्ज्वल श्रेष्ठ मेलम्चीको पानी थेग्ने गरी शहरको ढल प्रणाली पूर्ण रूपमा चुस्त अवस्थामा नरहेको स्वीकार्छन् । ‘कतिपय ठाउँमा ढल जाम भएको हुनक्छ’ उनी भन्छन्, ‘बग्ने पानीको मात्रा बढेपछि कतिपय ठाउँमा नयाँ खालका समस्या पनि देखिन सक्छ भनेर हामी पूर्वतयारीमा जुटेका छौं ।’

होचा क्षेत्रमा डुबानको जोखिम

विज्ञहरूका अनुसार मेलम्ची आएपछि काठमाडौंका होचा स्थानहरूमा ढलको समस्या देखिन सक्छ । पानी सुस्तरी बग्ने क्षेत्रमा ढल जमेर डुबानकै समस्या पनि निम्तिन सक्ने उनीहरूको चेतावनी छ ।

केयूकेएलका ढल सञ्चालक महाशाखा प्रमुख श्रेष्ठ नदीको सतहभन्दा होचा स्थानमा रहेका बस्तीमा हुनसक्ने जोखिमलाई न्यून गर्न अध्ययन गरेर काम थाल्नुपर्ने अवस्था रहेको स्वीकार्छन् ।

उनका भनाइमा, काठमाडौंमा सडकसहितका ठूला पूर्वाधार निर्माण चलिरहँदा अधिकांश स्थानमा नालाहरू खुला छाडिएका छन् । वर्षामा निर्माणजन्य फोहोर गिटी, बालुवा र ढुंगासहित प्लास्टिकजन्य ठोस फोहोर पनि ढलमै मिसिन्छन् । नकुहिने र ठोस फोहोर पनि ढलमै बगाउने स्थानीयवासीको आनीबानी आगामी दिनमा चुनौती बन्ने सम्भावना रहेको केयूकेएलको पनि अनुमान छ ।

पानीसँगै लेदो र ठोस पदार्थ पनि हुने भएकाले ढल प्रवाह बढ्दा पाइपहरू जोडिएको ठाउँमा फुट्ने र छुट्ने समस्या देखिन सक्ने ढल सञ्चालन महाशाखा प्रमुख श्रेष्ठ बताउँछन् । ढल बग्न अवरोध भएमा त्यसको असर घरको भान्सा र शौचालयदेखि सडकसम्म नै पर्ने केयूकेएलको भनाइ छ ।

भित्री शहरमा चुनौती
उपत्यकाका भित्री शहरहरूमा अझै पनि परम्परागत ढल प्रणाली विस्थापित नगरिएकाले समस्या बढ्न सक्ने काठमाडौं महानगरपालिकाका प्रवक्ता डंगोल बताउँछन् ।
ठमेल, असन, इन्द्रचोक, वसन्तपुर, पाटनलगायत क्षेत्रमा अझै पनि राणाकालीन ढल प्रणाली छन् । पुरानै प्रणाली मर्मत गरेर काम चलाइए पनि कतिपय स्थानमा अब समस्या आउनसक्ने डंगोलको अनुमान छ । अहिले पनि यस्ता क्षेत्रमा पटक–पटक ढल जाम भएर नागरिकले सास्ती बेहोर्दै आएका छन् ।

काठमाडौंमा सेफ्टी ट्यांकी नराखी बनाइएका हजारौं घर छन्, जसका कारण शौचालयको फोहोर पनि सीधै ढलमा मिसाइन्छ । मेलम्चीको आगमनसँगै पानीको उपयोग बढ्दा सुधार र विस्तार नगरिएका पुराना ढल प्रणालीमा समस्या देखिन सक्ने प्रवक्ता डंगोलको भनाइ छ ।

काठमाडौंमा ढलको निर्माण र मर्मत केयूकेएलको जिम्मामा छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित अन्य नगरपालिकाले पनि यसमा काम गर्दै आएका छन् । तर, खानेपानीकै बिलमा ढल व्यवस्थापनको रकम जोडिने भएकाले आफूहरूले प्रणाली सुधारमा काम गर्न नसकेको महानगरपालिकाका प्रवक्ता डंगोल बताउँछन् ।

केयूकेएलले पानीको महसुलमा थप ५० प्रतिशत शुल्क जोडेर ढल मर्मत शुल्क उठाउने गरेको छ । ‘शुल्क नलिए पनि हामीले पनि प्रयास नगरेका हैनौं, कति ठाउँमा मर्मत–सुधारको काम भइरहेको छ’ उनी भन्छन्, ‘तर जति गर्नुपथ्र्यो, त्यति काम हुनसकेको छैन ।’

सडकमा सास्ती
अहिले पनि काठमाडौंका विभिन्न स्थानमा ढल फुट्ने समस्या दोहोरिरहने गरेको छ । रत्नपार्क र जमल क्षेत्र सुक्खायाममै ‘ढलमग्न’ हुने गरेका छन् । दुई वर्षअघि भएको सरकारी अध्ययन अनुसार राजधानीका मुख्य २२ स्थानमा वर्षायाममै ढल र पानीको पाइप फुटेर सडक अस्तव्यस्त हुने गरेको पाइएको थियो । यसरी ढल फुट्दा नागरिकले फोहोर पानीको दुर्गन्धसहित हिलो र धूलोको सास्ती खेप्नु परिरहेको छ ।

सडक विभागका अनुसार सुन्धारादेखि भोटाहिटी, जमल, नारायणगोपाल चोक, तीनकुनेदेखि कोटेश्वर, थापाथलीदेखि माइतीघरमा ढल सडकमा आइपुग्ने समस्या व्यापक छ । नक्सालदेखि भगवतीबहाल, गौशालाको जयबागेश्वरी, लैनचौर र सोह्रखुट्टेमा पनि ढल तथा पानी चुहिने समस्या बढी छ ।

यसैगरी कमलादीदेखि त्रिचन्द्र क्याम्पस, रातोपुल र हात्तीसारको जयनेपाल हलनजिक पनि ढल लिकेजको समस्या ज्यादा देखिने गरेको सडक विभाग बताउँछ । गौशाला र पुतलीसडकमा भने गत वर्ष मात्रै नयाँ ढल हालेर समस्या समाधानको प्रयास भएको थियो ।

ढल फुट्ने क्रम तीव्र भएका कारण भर्खरै कालोपत्रे गरिएका सडक लामो समय नटिक्ने समस्या बढेको काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली बताउँछन् । ‘कालोपत्रे सडकमा लगातार पानी जमेर सडकमा रहिरह्यो भने सडकमा खाल्डो पर्न थाल्छ’ उनी भन्छन्, ‘गाडीको चाप धेरै भएपछि साना खाल्डा ठूलो हुँदै जान्छन् । खानेपानी र ढल फुटेर समयमै मर्मत नहुँदा हामीलाई पनि चुनौती थपिने गरेको छ ।’

छैन पर्याप्त प्रयास
काठमाडौंका मुख्य शहरमा ढलको क्षमता बढाउने काम नभए पनि अधिकारसम्पन्न एकीकृत वागमती सभ्यता विकास समितिमार्फत नदी र खोलाका करिडोरहरूमा ढल निकासका लागि ह्युमपाइप विछ्याउने काम भइरहेको छ । तर, कामको गति निकै सुस्त छ । सन् २०२० सम्ममा सबै करिडोरमा पाइप विछ्याएर ढललाई प्रशोधन गर्दै खोला र नदीमा मिसाउने योजना थियो । तर, अझै दुई तिहाइ काम पनि सकिएको छैन ।

पूर्वाधारविद् सूर्यराज आचार्य शहरको ढल प्रणालीको वैज्ञानिक व्यवस्थापन समयमै नगरिएमा भविष्यमा विकराल अवस्था आउने बताउँछन् । ‘भूमिगत रूपमा बग्ने ढललाई प्रशोधन केन्द्रसम्म विना रोकावट पुर्‍याउन सकिएन भने सामाजिक र वातावरणीय हिसाबले अनेकन् चुनौती थपिन्छ’ उनी भन्छन्, ‘ढल व्यवस्थापनको पुरानो कार्यशैलीले अब निरन्तरता पाउनुहुन्न ।’

पूर्वसचिव किशोर थापा पनि मेलम्ची आएपछि ढल व्यवस्थापनको हालको अवस्था समीक्षा गरेर अघि बढ्नुपर्ने बताउँछन् । ‘अब मेलम्चीले दिने अनुभवलाई आधार बनाएर प्रणाली सुधार गर्न थाल्नुपर्छ’, उनी भन्छन् ।

केयूकेएलका अधिकारीहरू भने तत्कालको लागि समस्या पर्ने देखिएर तुरुन्तै सम्बोधन गर्ने संयन्त्र तयार गर्न लागिएको बताउँछन् । केयूकेएलले ढल सफाइको काम गर्न अहिले ठेकेदारहरू सूचीकरण गर्न थालेको बताएको छ ।

‘दीर्घकालमा पर्न सक्ने समस्याबारे पनि सचेत छौं’ केयूकेएलका ढल सञ्चालन महाशाखा प्रमुख श्रेष्ठ भन्छन्, ‘अहिले वर्षाको पानी पनि थेगिरहेको प्रणाली भएकाले धेरै ठूलो समस्या नआउला भन्ने आशामा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment