Comments Add Comment

बेपत्ता झा दम्पतीकाे खोजीमा सीआईबीको टोली खटियो

४ चैत, जनकपुरधाम । गत फागुन ११ देखि बेपत्ता महोत्तरीको पिपरा गाउँपालिकाका वृद्ध दम्पतीको खोजीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोली परिचालन भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीलाई प्राविधिक सहयोग गर्न प्रहरी निरीक्षकको नेतृत्वमा सीआईबीको टोली महोत्तरी पुगेको प्रवक्ता एसपी गंगा पन्तले जानकारी दिइन् । ‘अहिले अनुसन्धान सुरु भएको छ । बाँकी कुरा अनुसन्धानपछि भन्छौं’ उनले भनिन् ।

पिपरा गाउँपालिका–५ सहोडवास्थित आफ्नै घरमा १० फागुनको राति सुतेका ६६ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी ११ फागुनको बिहान घरबाट बेपत्ता भएका हुन् ।

यी श्रीमान् श्रीमती सुतेका छुट्टाछुट्टै कोठामा रगतको छिटासमेत भेटिएको प्रहरीको भनाइ छ । रगतको छिटा छिमेकीको घरसम्म देखिएपछि प्रहरीले स्थानीय केही व्यक्तिलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी झा आफ्नी श्रीमती, बुहारी र नातिनातिनासँगै घरमै बस्दै आएका थिए ।

उनी लोहारपट्टी नगरपालिकाको मोही जग्गामा साक्षी बसेका थिए । उनी साक्षी बसेकै कारण जग्गावाला पक्षले अपहरण गरेको हुनसक्ने आशंका गरिए पनि यो तथ्य पनि बाहिर आउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment