Comments Add Comment

वडाअध्यक्ष बानियाँ : सरकारी सुविधा लिँदैनन्, पारिश्रमिक बाँड्छन्

५ चैत्र, हेटौंडा । जनप्रतिनिधि निर्वाचित भएपछि सरकारबाट आएको सुविधा सामाजिक काममा खर्चने कमै भेटिन्छन् । तर, हेटौंडा उपमहानगरपालिका-५ का वडाअध्यक्ष राजेश बानियाँले भने आफ्नो पारिश्रमिक मतदाताकै लागि खर्च गर्ने गरेका छन् ।

चुनावी अभियानकै बेला सरकारी सुविधा मतदातालाई नै खर्चिने बाचा गरेका उनले निर्वाचन भएको ३ वर्ष पुग्दा उपमहानगरको शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा खर्च गरेका छन् ।

‘मासिक २८ हजार ७१० रुपैयाँ मेरो खातामा जम्मा हुन्छ, त्यो पैसा मैले सामाजिक काममै खर्च गरेको छु,’ उनले बुधबार वडा कार्यालयमा स्थानीय दुई विद्यालयलाई फागुन महिनाको पारिश्रमिक बाँड्दै भने ।

उनले मंगलबाट उपमहानगरले खातामा जम्मा गरिदिएको पारिश्रमिकमध्ये हेटौंडा-५ मा रहेको बालज्योती माबिलाई २० र लक्ष्मी आधारभूत विद्यालयलाई ८ हजार ६१० रुपैयाँ विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरे ।

वार्षिकरुपमा पारिश्रमिकवापत आउने ३ लाख ४४ हजार ५२० रुपूयाँ नियमित ३ वर्ष स्थानीय बालज्योति माबिको ३ कोठे भवन निर्माणको लागि दिएको उनले बताए ।

विद्यालयले कक्षा कोठा अभाव भएको जानकारी गराएपछि१५ लाख रुपैयाँ खर्चेर भवन निर्माण गरिदिएको उनले बताए ।

बानियाँको सहयोगमा निर्माण भएको कक्षामा डान्स, म्युजिक र आर्टको कक्षा सञ्चालन हुने गरेको व्द्यिालयका प्रधानाध्यापक भरत अर्यालले बताए ।

अध्यक्ष बानियाँले स्वास्थ्य उपचारको लागि सहज होस भन्दै सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ९ मार्फत सञ्चालन हुने गरी एम्बुलेन्स खरिदमा पनि सहयोग गरेका छन् ।

उनले एम्बुलेन्स खरिदको लागि १४ लाख ५० हजार रुपैयाँ खर्चेको बताए । सामाजिक काममा खर्चेको रकम पारिश्रमिकबाहेर व्यक्तिगत पनि भएको उनको भनाइ छ ।

विद्यालयको शैक्षिकस्तर सुधारका लागि व्यक्तिगत तथा संस्थागतरुपमा वडाको भूमिका महत्वपूर्ण रहेको बालज्योतिका प्रधानाध्यापक अर्यालले बताए ।

सामुदायिक विद्यालयमा अध्यनरत आर्थिक अवस्था सुदृढ नभएका जेहेन्दार विद्यार्थीको लागि खर्चने गरी आएको रकमले शिक्षाको विकासका लागि सहयोग पुग्ने उनले बताए ।

यस्तै विद्यार्थी संख्या कम भएको कारण मर्ज गर्नुपर्ने अवस्थामा रहेको विद्यायको विकास र त्यहाँ अध्ययनरत विद्यार्थीको शैक्षिकस्तर सुधारमा सहयोग हुँदै आएको लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक रामहरी मैनालीले बताए ।

सरकारी मोटरसाइकल पनि लिएनन्

हेटौँडा उपमहानगरले वडाअध्यक्षका लागि मोटरसाइकल बाँडेको थियो । काममा सहजता र छिटो हुने तर्कसहित उपमहानगरले मोटरसाइकल बाँडे पनि अध्यक्ष बानियाँले लिएनन् ।

निर्वाचनपछि कार्यभार सम्हाल्ने क्रममा उपमहानगरले हेटौंडाका १९ वटै वडाअध्यक्षका लागि दिएको ‘बजाज डिस्कभर’ आफूले नलिएको उनले बताए । ‘जनताले निर्वाचित गराएका हुन्, मतको कदर गर्दै अघि बढेको छु,’ उनले भने ।

अध्यक्ष बानियाँ हेटौंडाका व्यवसायी पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment