Comments Add Comment

अन्तर्राष्ट्रिय फुटबलका लागि दशरथ रंगशाला तयार हुँदै (फोटो फिचर)

५ चैत, काठमाडौं । गत वर्ष मंसिरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबल खेलपछि पहिलो पटक दशरथ रंगशालामा दर्शकसहितको फुटबल खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा यही चैत १० देखि १६ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिदेशीय फुटबल प्रतियोगिता आयोजना हुँदैछ । जसमा नेपालसहित बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन् । किर्गिस्तानको ओलम्पिक टिमले खेल्नेछ ।

यही चैत दोस्रो साता नेपालमा विश्वकप छनोट अन्तर्गत नेपालले चाइनिज ताइपेई र अष्ट्रेलियासँग खेल्ने तय भएको थियो । तर कोरोना महामारीका कारण खेल स्थगित भएपछि एन्फाले त्रिदेशीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । विदेशी टिमलाई पनि नेपालमा खेलाउन सकिन्छ भन्ने सन्देश दिन यो प्रतियोगिता आयोजना गर्न लागेको एन्फाले जनाएको छ ।

१३औं साग सम्पन्न भएको झण्डै १६ महिनापछि दशरथ रंगशालमा अन्तर्राष्ट्रियस्तरको फुटबल हुन लागेको हो । एन्फा प्रवक्ता किरण राईले प्रतियोगिताका लागि रंगशालमा तयारी अन्तिम चरणमा रहेको बताए । ‘रंगशालाको तयारी ९५ प्रतिशत सकिएको छ । सिनियर टिमले २०१५ पछि पहिलो पटक खेल्न लागेको हो । यू–२३ टिमले गत वर्ष साग फुटबल खेलेका थिए,’ राईले भने ।

सागपछि गत वर्ष शहीद स्मारक ए डिभिजन लिगका खेलहरु दशरथ रंगशालमा भएको थियो । यस्तै गत वर्ष माघ–फागुनमा राष्ट्रिय महिला लिगको उद्घाटन र समापन खेल पनि दशरथ रंगशालमै खेलाइएको थियो ।

महिला राष्ट्रिय लिगमा पनि खेल हेर्न दर्शक उपस्थित भएका थिए । विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियासँगको खेल हेर्न नपाएपनि नेपाली दर्शकले अन्तर्राष्ट्रियस्तरको खेल भने दशरथ रंगशालमा हेर्न पाउने भएका हुन् ।

नेपालको सिनियर फुटबल टिमले भने पछिल्लो पटक सन् २०१५ मा भारतसँग विश्वकप छनोट खेल खेलेको थियो । त्यसयता सिनियर टिमले पहिलो पटक रंगशालामा खेल्न लागेको हो ।

त्रिदेशीय फुटबलका लागि बंगलादेशको टोली बिहीबारै आउँदैछ भने किर्गिस्तानको टोली चैत ८ गते आइपुग्नेछ । प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर प्राप्त गर्नेछन् ।

यस्तै खेल हेर्नका लागि भीआइपीतर्फ १५ सय र साधारणतर्फ ७ सय टिकट मूल्य तोकिएको छ । रंगशालाको क्षमता १५ हजार रहेपनि १२ हजार टिकट मात्र बिक्री गर्ने लक्ष्य रहेको एन्फाले जनाएको छ । प्रतियोगितामा १ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको एन्फाले जनाएको छ । यस्तै एन्फाका अनुसार १ करोड रकम खर्च हुनेछ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment