+
+

गिम्दी प्रकरण : परिवारकै डरले बलात्कारबारे नबताएको पीडितको बयान

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ५ गते १७:२२

५ चैत, काठमाडौं । ललितपुरको बाग्मती गाउँपालिका–७, गिम्दीमा जबरजस्ती करणीपछि गर्भवती बनेकी बालिकाले डरका कारण प्रहरीकहाँ उजुरी नदिएको बयान दिएकी छन् । अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएअनुसार परिवारभित्रैबाट आएको दबाबका कारण आफूले किटानी जाहेरी दिन नसकेको पीडितले उल्लेख गरेकी छन् ।

उनलाई करणी गरेर गर्भवती बनाएको अभियोगमा प्रहरीले उनको भिनाजुलाई पक्राउ गरेको थियो । तर, पीडितले जाहेरी नदिँदा आरोपीविरुद्ध अभद्र व्यवहारको सामान्य कसूरमा कानुनी प्रक्रिया अघि बढाएको थियो ।

प्रहरी परिसर, ललितपुरकी प्रमुख किरण बज्राचार्यका अनुसार काउन्सिलिङपछि पीडित बालिकाले आफूमाथि बलात्कार भएको बताएकी छन् ।

‘पीडितले जाहेरी नदिएपछि सिविनको बाल हेल्पलाइनबाट जाहेरी लिएर कानूनी प्रक्रिया अघि बढाएका थियौं’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बज्राचार्यले अनलाइनखबरसँग भनिन्, ‘पीडितले पनि बलात्कार भएको बयान दिएपछि अनुसन्धान प्रक्रिया थप सहज बनेको छ ।’

पीडितले प्रहरीसँग बताएअनुसार शिक्षकसमेत रहेका भिनाजुले घरमा दिदी नभएको बेलामा उनीमाथि करणी गरेका थिए । यसबारे गिम्दी बाल सञ्जालका साथीहरुसँग पीडितले भनेपछि घटना प्रहरीसम्म पुगेको थियो । तर, परिवारभित्रैबाट आएको दबाबका कारण उनले मुख खोल्न सकेकी थिइनन् ।

उनको बुबाआमा भारतमा छन् भने ललितपुरमा दिदीको घरमा बसेर पढ्थिन् । घरमा उनलाई गर्भपतन गराउने र शिक्षाको सबै जिम्मा लिने भन्दै चुप बस्न भनिएको थियो । हल्ला गरे ठीक नहुने भनिएको पीडितको भनाइ छ । उनलाई मानसिक दबाबसमेत दिइएको पाइएको प्रहरी बताउँछ ।

हाल पीडित बालिकालाई अस्थायी संरक्षण सेवामा राखेर स्वास्थ्य उपचार भइरहेको बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेल बताउँछन् । ‘उपचार सकिएपछि उनको सुरक्षा र सर्वोत्तम हितलाई ध्यानमा राखेर सम्भवः भएसम्म नजिकको नातेदार वा परिवार नभए दीर्घकालीन संरक्षण सेवामा राख्छौं’, उनले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?