Comments Add Comment

कोकाकोला र डोको रिसाइकलर्सले काठमाडौंमा ‘पीईटी कलेक्सन बिन’ राख्दै

५ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा १० सूचना मुलक पीईटी कलेक्सन बिन राखिने भएको छ । कोकाकोला र डोको रिसाइकलर्सले विश्व रिसाइक्लिङ दिवसको अवसरमा उक्त बिन राख्ने घोषणा गरेको हो ।  स्थानीय अधिकारीहरुको सहकार्यमा अगस्ट २०२० मा उक्त बिन राख्ने कार्यको  शुरुवात भएको थियो ।

‘रिफ्रेस एन्ड रिसाइकल’ अभियान प्रयोग भइसकेका बोतलहरू संकलन गर्ने अभियान हो । यो अभियानले मानिसमा जागरुकता जगाउने र समुदायलाई प्रयोग भइसकेका बोतलहरूलाई प्रशोधन गरेपछि पुनःप्रयोगका लागि योग्य हुन्छन् भन्नेबारे शिक्षा दिने काम पनि गर्दछ । यसअघि प्रयोग भएका बोतलहरू राख्नका लागि स्वयम्भूनाथ स्तूपा, बौद्ध स्तूपा, पाटन अस्पताल, पाटन ढोका, पाटन दरबार स्क्वायर, त्रिभुवन विश्वविद्यालय र ललितपुर नगरपालिका सार्वजनिक पार्कजस्ता बाक्लो जनसंख्या भएका क्षेत्रमा राखिएको थियो । यी क्षेत्रमा यस्ता प्रयोग भइसकेका बोतलहरू प्रायः डिस्पोज गर्ने गरिन्छ ।

त्रिभुवन विश्वविद्यालयका प्रोक्टर, अबिलाल शाहले भने, ‘त्रिभुवन विश्वविद्यालयमा राखिएको बिनमा विद्यार्थी, प्राध्यापक र प्रशासनिक कर्मचारीले सकरात्मक प्रतिक्रिया दिएका छन् । त्रिभुवन विश्वविद्यालयमा राखिएको डिब्बा प्रायः सबैले प्रयोग गर्न भएकाले दुवै विद्यार्थी र आगन्तुकहरुका लागि यो उपयोगी भएको छ । हामी भविष्यमा अन्य सहयोगहरुका लागि समेत तत्पर छौँ।’

यस अभियानकै माध्यमबाट उपभोक्ताहरुलाई यी क्षेत्रहरूमा भएका बेला उनीहरूले प्रयोग गर्ने बोतललाई प्रयोगपछि पीईटी संकलन बिनमा राख्न प्रोत्साहित गरिने अभियन्ताहरु बताउँछन् ।

डोको रिसायक्लर्सका सहसंस्थापक राघवेन्द्र महतोले भने, ‘उपभोक्ताले डिस्पोजल गर्नुभन्दा अगाडि बोतल खाली र सफा छन्/छैनन्, कुल्चिएको छ/छैन भनेर सुनिश्चित गर्नु पर्नेछ । सार्वजनिक जागरुकताका लागि डिस्पोजलको उचित चरण र प्रयोग भइसकेका बोतलहरुको रिसाइकल प्रक्रियाका बारेमा बोतल संकलन गर्न राखिएका बिनमा विभिन्न जानकारी समेत लेखिएको छ । प्रयोग भइसकेका बोतलहरू पछि अन्य कामका लागि उपयोग गर्न सकिने भएकाले यसलाई फोहोरको रुपमा वर्गीकरण गरिएको छैन । पीईटी प्लास्टिक सुरक्षित, हल्का वजन, किफायती, पारदर्शी, आकारयोग्य र शत प्रतिशत पुनःप्रयोग गर्न सकिने हुन्छ ।’

‘रिसाइक्लिङका लागि सार्वजनिक पूर्वाधार प्रदान गर्न चाहन्छौँ र रिसाइक्लिङ गर्दा हुने फाइदाका बारेमा मानिसलाई शिक्षित पार्न चाहन्छौं,’ महतो भन्छन्‚ ‘व्यवहारिक‚ डिस्पोजेबल‚ दीर्घकालीन रुपमा प्रयोग गर्न सकिने भएकाले पनि हामी फोहोर व्यवस्थापनमा सफल भएका छौं ।’

बोतलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशक प्रदीप पाण्डेले भने‚ ‘हामीले पर्यावरण कर्मचारीको रुपमा आफूलाई गम्भीरताका साथ लिएका छौं । जसका लागि हामी नेपालमा फोहोरजन्य वस्तुको पुनःप्रयोगका लागि नयाँ र सुधारिएका उपायहरू अपनाउने छौं । यस महत्वपूर्ण प्रयासमा स्थानीय सरकारको समर्थन र साझेदारीलाई अत्यन्तै सम्मान गर्छौं।’

हरेक साता डोको रिसाइक्लरहरूद्वारा ती बिनबाट प्रयोग भइसकेका बोतलहरू संकलन गरिने र यसलाई पुनः प्रयोगयोग्य बनाउनका लागि निश्चित स्थानमा पठाइने पाण्डेल बताए । फोहोरजन्य सामग्रीहरूलाई प्रशोधन गरेर नयाँ बोतल‚ कन्टेनरहरू र विभिन्न कपडा‚ कार्पेट बनाउनसमेत सकिने उनले बताए । हालसम्म डोको रिसाइक्लर्सले करिब दुई हजार पीईटी बोतलहरू संकलन गरिसकेको उनको भनाइ छ ।

२०१८ मा कोकाकोलाले २०३० सम्ममा सबै प्रयोग भइसकेका बोतलहरूलाई संकलन गर्दै त्यसलाई पुनःप्रयोगमा ल्याउने उद्देश्यका साथ ‘फोहोरबिनाको विश्व’ अभियानको घोषणा गरिसकेको छ । त्यसकै समर्थनमा नेपालमा पनि कोकाकोलाले यस अभियानलाई सफल पार्नका लागि नगरमित्र‚ रिफ्रेस एन्ड रिसाइकलजस्ता विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment