+
+

गर्मीमा दाँत र मुखको सुरक्षा : दन्त सड्नबाट बच्‍न के गर्ने ?

डा. प्रकाश बुढाथोकी डा. प्रकाश बुढाथोकी
२०७७ चैत ६ गते ११:४७

दाँत तथा मुखको सुरक्षा र सरसफाइको लागि जाडो होस् या गर्मी सबै उस्तै महत्वपूर्ण छन् । दाँतको सुरक्षा त्यतिबेलासम्म मान्छेलाई सामान्य लाग्छ, जतिबेलासम्म तीब्र दुखाइका कारण मान्छेमा छटपटी हुँदैन । त्यसैले के बिहान, के बेलुका, के झरी के बर्खा । मुख र दाँतको सरसफाइलाई महत्व दिनु आवश्यक हुन्छ ।

हामीले खाने जुन सुकै खानाको मुख्यद्वार मुख नै भएकोले पनि यहाँ धेरै किसिमका खानेकुराहरू दाँतमा वा गिजामा अड्किएर पनि बसेका हुन सक्छन् । यस्तो अवस्थामा यदि मुख वा दाँतमा कुनै स्वास्थ्य समस्या भयो भने यसले शरीरका विभिन्न अंगसम्म असर गर्न सक्छ ।

अतः बरु शरीरको अरू अंगमा देखिएको स्वास्थ्य समस्याले मुखलाई असर नगर्न सक्छ तर मुखको फोहार वा रोग शरीरमा गएर असर गर्ने भएकोले शारीरिक स्वास्थ्यको लागि मुखको स्वास्थ्य पनि अनिवार्य शर्त हो ।

गर्मीयाममा बढी ख्याल राख्नु जरुरी

गर्मीयाममा तापक्रम बढी हुने भएकाले कुनैपनि खाद्य पदार्थ दाँतमा अड्किएर बस्दा मुखभित्रै छिटो सड्ने भएकोले यसलाई बेलाबेलामा सफा गरिरहनुपर्छ । गर्मीको समयमा खाने मात्रा र खाने समय पनि अलिकति धेरै हुन्छ । त्यसैले पनि यसमा सरसफाइ धेरै आवश्यक पर्छ ।

अर्काेतर्फ गर्मीको समयमा दिन अलिक लामो हुने भएकोले हामीले खाना पनि धेरै पटक खाने गर्छाैं । तर हरेक पटकको खानासँगै मुखको सफाइ नगर्ने हो भने फेरि खाना अड्किएर मुखभित्रै खाना सड्ने सम्भावना हुन्छ । त्यसैले पनि दिनको दुई पटक बिहान र बेलुका खाना खाइसकेपछि अनिवार्य ब्रस गर्ने र अरू समयमा खाना खाएपछि राम्रोसँग सफा पानीले मुख कुल्ला गर्नुपर्छ ।

ब्रस र मञ्जन कस्तो चाहिने ?

हामीले प्रयोग गर्ने ब्रस कस्तो राख्ने ? मञ्जन कस्तो प्रयोग गर्ने र दाँत र मुख सफा गर्दा कस्तो तरिका अपनाउने ? भन्ने कुरालाई ध्यान दिनुपर्छ । यस्तो विषयमा ध्यान नदिँदा पनि पर्याप्त मात्रामा मुखलाई सफा गर्न नसकी दन्त सडन जस्ता समस्याको जोखिम बढी हुन्छ ।

त्यसैले सामान्यतया ब्रस चयन गर्दा नरम खालको प्रयोग गर्नुपर्छ । त्यस्तै, फ्लोराइड भएको मञ्जनको प्रयोग गर्नुपर्छ । ब्रसमा मञ्जन राख्दा पनि बालबच्चाको लागि सानो केराउको दाना जति मञ्जन र वयष्क मान्छेको लागि ठूलो केराउको दाना जति मञ्जन राख्नु जरुरी हुन्छ । यसरी मञ्जनलाई ब्रसमा राखेर बिस्तारै थिचेर ब्रसको भित्रसम्म पुग्नेगरी थिच्नुपर्छ । यसरी गरिएको ब्रस बढी प्रभावकारी हुन्छन् ।

यसरी सफा गर्दा भित्रबाहिर र दुई दाँतको बीचमा रहेका कुनै पनि सतह नछुट्नेगरी सफा गर्नुपर्छ। दुई दाँतबीचको भागलाई सफा गर्ने यो चलनलाई डेन्टल फ्लस भनिन्छ । यो ब्रसले नभेट्ने दुई दाँत बीचको भागलाई सफा गर्नको लागि हो ।

खानपान ध्यान दिनु जरुरी

गर्मी मौसममा खानपानमा ध्यान दिनु जरुरी हुन्छ । जस्तो, ज्यादै गुलियो र प्रशोधित खानेकुरा दाँत र मुखको लागि उपयुक्त हुँदैन । ‘अति खानेकुरा’ अर्थात् अति अमिलो, अति चिसो र अति तातो जस्ता खानेकुरालाई सकेसम्म बेवास्ता नै गर्नुपर्छ । सुर्तीजन्य पदार्थ र मद्यपानको सेवन पनि मुख तथा दाँतको स्वास्थ्यको लागि प्रतिकूल खाद्यपदार्थ हुन् । यस्ता खानेकुरालाई नियन्त्रण मात्रै गरियो भने पनि यसबाट धेरै समस्याहरु समाधान हुन्छन् ।

यति हुँदाहुँदै पनि वंशजको रूपमा समेत मुख तथा दाँतमा समस्या देखिन सक्छ । अतः प्रत्येक ६ महिनामा दाँत तथा मुखमा केही समस्या छ कि छैन भनेर परीक्षण गर्नुपर्छ भन्ने मान्यता राखिन्छ । ब्रस गर्दा कुनै सतह नछुट्ने गरी ४५ डिग्रीमा राखेर तलमाथि गरेर ब्रस गर्दा दाँत र मुख सम्बन्धी ९० प्रतिशत स्वास्थ्य समस्याको समाधान हुन्छ । एकदिनमा २४ घण्टा वा १४४० मिनेट हुन्छ ।

त्यसमध्ये बिहान खाना खाइसकेपछि ३ मिनेट र साँझ ३ मिनेट मुखको स्वास्थ्यको लागि समय दिने हो भने सधैंभरि दाँतको दुखाइ वा मुखसम्बन्धी समस्याको कारण छट्टाउनु पर्दैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दाँत तथा मुख स्वास्थ्य शाखाका प्रमुख डा बुढाथोकीसँगको कुराकानीमा आधारित 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?