Comments Add Comment

एसियाली–अमेरिकीमाथि बढ्दो आक्रमणले उब्जिएको त्रास र आक्रोश

६ चैत, काठमाडौं । अमेरिकाको जर्जियास्थित तीन मसाज पार्लरमा मंगलबार अन्धाधुन्ध गोली चल्दा आठ जनाको मृत्यु भयो । मृत्यु हुनेमध्ये ६ जना एसियाली मूलका महिला थिए ।

यो घटनाले अमेरिकामा बसोबास गर्दै आएका एसियाली मूलका मानिसहरुमा आक्रोशसँगै त्रास बढाएको छ । किनकी पछिल्लो समय एसियाली मूलका मानिसमाथि आक्रमण र दुर्व्यवहारका घटना बढ्दै गएको देखिन्छ ।

आक्रमण तथा दुर्व्यवहारको श्रृंखला

गत जनवरी २८ मा ८४ वर्षीय विचा रतनपक्दीमाथि सन्फ्रान्सिस्कोमा आक्रमण भएको थियो । मर्निङ वाकमा निस्किएका उनीमाथि एक युवाले आक्रमण गरेका थिए । आक्रमणमा घाइते भएका उनको दुई दिनपछि उपचारको क्रममा मृत्यु भएको थियो ।

अघिल्लो साता अमेरिकाको सन्फ्रान्सिस्कोमा उबरका नेपाली चालक सुभाकर खड्कामाथि तीन महिलाले दुर्व्यवहार गरे । एसियाली मूलको आप्रवासी भएकाले आफूमाथि दुर्व्यवहार भएको उनको दाबी छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार सन् २०२० को मार्चयता अहिलेसम्म एसियाली तथा प्यासिफिक क्षेत्रका मानिसमाथि दुर्व्यवहारका ३८०० घटना भइसकेका छन् । पुरुषको तुलनामा महिलामाथि दोब्बरभन्दा धेरै घटना भएका छन् ।

अमेरिकाका प्रमुख सहरहरुका प्रहरीले दिएको जानकारीअनुसार २०१९ र ०२० मा एसियाली–अमेरिकीमाथि दुर्व्यवहार तथा घृणा फैलाउने अभिव्यक्तिको घटनामा उल्लेख्य वृद्धि भएको छ ।

मंगलबारको घटनापछि अमेरिकी राष्ट्रपति जो बाइडनले ट्वीट गर्दै यो घटनाले एसियाली मूलका मानिसहरुले निकै ठूलो दुःख पुगेको बताएका छन् ।

गत जनवरीमा एसियाली अमेरिकी नागरिकहरुमाथि कोरोना भाइरस (कोभिड–१९) फैलाएको आरोपमा दुर्व्यवहार तथा घृणा फैलाउने गतिविधि नियन्त्रणको लागि कार्यकारी आदेश दिएका उनले गैर–अमेरिकी समुदायमाथि हुने आक्रमण रोक्नुपर्नेमा जोड दिएका छन् ।

पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि सामाजिक सञ्जाल फेसबुकमा एसियाली मूलका मानिसमाथिको हिंसा बढिरहेकाले यसलाई तत्काल रोकिनुपर्ने बताएका छन् ।

त्रास र आक्रोश

अमेरिकामा बस्दै आएका एसियाली मूलका मानिसमा भने त्रास र आक्रोश देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जाजिरासँग कुरा गर्दै २२ वर्षीया एक युवतीले भनिन्, ‘यस्ता हिंसाको कारण हामी त्रसित र द्विविधामा छौं, साथै आक्रोशित पनि ।’

मंगलबारको आक्रमण उनकै घर नजिक भएको थियो । एक आप्रवासीकी छोरीको रुपमा अमेरिकामा बस्दा अरु चिन्ता लिनु नपरे पनि पछिल्लो समय बढेको आक्रमणले चिन्ता बढाएको बताइन् ।

यो घटनापछि अमेरिकाको राजधानी सहर वासिङटन डीसीमा एक सयभन्दा धेरै मानिसले एसियाली मूलका समुदायमाथिको आक्रमणको विरोधमा र्‍याली प्रदर्शन गरेका थिए । आन्दोलनमा सहभागी एक महिलाले बीबीसीसँग भनिन्, ‘यो घटना अमेरिकाको कुनै पनि स्थानमा बस्ने एसियाली–अमेरिकी महिलाको लागि डरलाग्दो घटना हो ।’

कारण

अमेरिकामा एसियाली मूलका मानिसमाथि हुने भेदभावको इतिहास लामो भएपनि विशेषगरी कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिपछि यस्ता घटना बढेका छन् । चीनबाट यो भाइरस उत्पत्ति भएकाले सुरुमा चिनियाँ नागरिक र पछि बिस्तारै एसियाली मूलका मानिसमाथि दुर्व्यवहार तथा आक्रमणका घटनाहरु बढेका हुन् ।

समाचार एजेन्सी एपीले कोरोनाबाट राजनीतिक तथा अन्य विभिन्न माध्यमबाट फैलिएका हल्लाको कारण पनि यस किसिमको आक्रमण बढेको उल्लेख गरेको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनालाई वर्णन गर्दा क्षेत्रगत विभेद गर्ने किसिमको शब्दको प्रयोग गर्थे ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

बोल्ड जेबिका

Advertisment