Comments Add Comment
संसदमा सरकार र प्रमुख विपक्षीको जुहारी :

मेलम्चीको पानी आयो, सन्त नेताको नाम खोइ ?

६ चैत, काठमाडौं । प्रतिनिधिसभा अधिवेशन शुरु भएको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने परम्परा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको तर सर्वोच्च अदालतको आदेशले पुनर्स्थापना भएको संसदको सुरुवाती तीन बैठकमा नेताहरुले बोलेनन् ।

शुक्रबार चौथो बैठकमा संसदमा भएका सबै दलका दोस्रो तहका नेताहरुले सम्बोधन गरे । त्यसक्रममा परराष्ट्रमन्त्री एवं नेकपा एमाले सचिव प्रदीप ज्ञवाली र प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडबीच जुहारी नै चल्यो ।

मन्त्री ज्ञवालीले सरकारले हासिल गरेका उपलब्धिहरु सुनाए भने खाँडले त्यसमा प्रश्न गरे ।

विकासशील राष्ट्रमा स्तरोन्नति

मन्त्री ज्ञवाली : सीडीपीले नेपाललाई अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस गरेको छ । अब अगस्ट सेप्टेम्बरमा बस्ने बैठकले पारित गरेपछि अल्पविकसित भन्ने कलंक हट्नेछ, यो नेपालका लागि ठूलो उपलब्धि हो ।

प्रमुख सचेतक खाँड : अल्पविकसित र विकासशीलमा पनि भुइँचालो नआएको भए तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाकै पालामा यो भइसकेको हो । कमसेकम अहिले पूर्णता पाएको छ भने पनि जसको पालामा सुरु भएको छ, त्यसलाई स्मरण गर्ने त गरौं ।

मेलम्चीको पानी

मन्त्री ज्ञवाली : काठमाडौंका जनताले वर्षौंदेखि काकाकुल जस्तै पर्खिरहेको मेलम्ची खानेपानी आयोजनाको पानी अस्ति सुन्दरीजल आइपुगेको छ । अब अर्को हप्ताबाट नागरिकको धाराधारामा त्यो पानी आउनेछ ।

प्रमुख सचेतक खाँड : मेलम्चीको पानी आउने भयो, सरकारलाई धन्यवाद । मेलम्चीको सपना सन्तनेता कृष्णप्रसाद भट्टराईले देख्नुभएको हो । त्यो मेलम्चीको पानी आउने भयो, काकाकुल जनतालाई राम्रो अवस्थामा लैजाने भइयो । सबैलाई धन्यवाद । तर कृष्णप्रसाद भट्टराईको नाम एकपटक लिन पनि कन्जुस्याईं ? मेलम्चीमा गए पनि भट्टराईजीको नाम छैन, सुन्दरीजलमा गए पनि भट्टराईजीको नाम छैन । संसदको रोष्टममा फर्किएर आयो, भट्टराईको नाम छैन । मेलम्चीको पानीभन्दा जसले टुँडिखेलमा हाँसेर भाषण गर्थे, उनीहरुले हामीले ल्यायौंभन्दा काठमाडौंका जनताले पत्याउँछन् कि पत्याउँदैनन् ?

शिलान्यास र उद्घाटन

मन्त्री ज्ञवाली : प्रदेश नम्बर १ का ५ वटा जिल्लाको भाग्य बदल्न सक्ने मरिन सुनकोशी डाइभर्सनको काम सुरु भएको छ । यसले १ लाख ८२ हजारभन्दा बढी जमिनलाई सिंचाइ गरेर तराईलाई सुन फल्ने ठाउँ बनाउने छ भन्ने हाम्रो विश्वास छ ।

एम्बुलेन्समा घण्टौं जाममा परेर बिरामीलाई अस्पताल ल्याउन नसकेर बीचमै ज्यान जानुपर्ने नागढुंगाको जामलाई अन्त्य गर्न नागढुंगा सुरुङको कामलाई तीव्रता दिइएको छ । मंसिर १५ गते एकैदिन ३९६ पालिकामा ५ देखि १५ वेडका आधारभूत अस्पतालको शिलान्यास गर्‍यौं । यससँगै हरेक पालिकामा न्यूनतम एउटा अस्पताल हुनु सुनिश्चित भएको छ । अघिल्लो हप्ता मात्र आउने दुई वर्षभित्र हरेक पालिकालाई कालोपत्रे सडकले जोड्ने काम सुरु भएको छ ।

प्रमुख सचेतक खाँड : डीपीआर गरेको छैन, बजेट छैन, शिलान्यास भइसक्यो । वाह् विकास । दुई वर्षदेखि गाडी कुदिराखेको छ, कालोपत्रको अहिले उद्घाटन । दुई वर्षदेखि गाडी तरिरहेको छ, अहिले बोर्ड लगाएर राजमार्गमा आमसभा गरेर उद्घाटन ।

यो कस्तो खालको विकास हो ? दिउँसै रात पार्ने अवस्थाबाट मुलुक अगाडि नबढोस् ।

कोरोना खोप

मन्त्री ज्ञवाली : सरकारले कुशलतापूर्वक कोरोना महामारीको सामना गर्‍यो । संक्रमण २ लाख ७५ हजार पुगेपनि रिकभरी रेट ९८.५ प्रतिशतभन्दा माथि छ । आजका दिनमा एकहजार भन्दा कम सक्रिय संक्रमित हस्पिटलमा हुनुहुन्छ र मृत्युदर पनि एक प्रतिशत हाराहारी छ । नेपालले कोभिडविरुद्धको लडाइँमा एउटा दृष्टान्त स्थापित गरेको छ ।

हामीले माघ १४ देखि कोभिड भ्याक्सिन लगाउन सुरु गर्‍यौं । संसारका ६० वटा अग्रपंक्तिका देशमा नेपाल पनि थियो, जसले सुरुमै कोभिड भ्याक्सिन सुरु गर्न सक्यो । हिजोका दिनसम्म फ्रन्टलाइन र ५५ वर्षमाथिका ज्येष्ठ नागरिक गरी करिब १७ लाखलाई खोप दिन सफल भएका छौं ।

मित्रराष्ट्र भारतप्रति आभारी छौं, जसले १० लाख डोज सहयोग गर्‍यो । २० लाख जोड हामीले त्यहाँबाट खरिद गरेका छौं । अरु थप खरिद गर्ने प्रक्रियामा छौं । मित्रराष्ट्र चीनप्रति आभारी छौं, जसले ८ लाख डाेज हामीलाई उपलब्ध गराएको छ । र, कोभ्याक्स सुविधाअन्तर्गत कुल जनसंख्याको २० प्रतिशतलाई पाउने सुनिश्चितता गरेका छौं । कोभिडविरुद्ध हामी महत्वपूर्ण सफलतातर्फ अगाडि बढेका छौं ।

प्रमुख सचेतक खाँड :  प्रधानमन्त्रीले भन्नुभएको थियो, तीन महिनाभित्र नेपालका सबै नागरिकलाई कोभिडको भ्याक्सिन लगाइनेछ । कुन सालको तीन महिना हो ? १७ लाखलाई भ्याक्सिन लगाइएको छ, ७ लाख स्टक छैन । सेकेण्ड डोज दिनुपर्नेछ, त्यसका लागि १७ लाख स्टक हुनुपर्ने हो । जसले लगाउन पाएको छैन, त्यसका लागि चाहियो । चीनले अनुदानमा दिएको खोप ढुवानी गर्ने जहाज नपाएर आएको छैन ।

कोभिडका बेलामा श्रमिकलाई रोजगारी छैन, किसानलाई बीउ–मल छैन, शिक्षक, प्राध्यापकलाई तलब छैन । सरकारले कसैलाई राहत ल्याएको सुनिएन । राहत पनि भूमिगत रुपमा गरेको हो कि ? नभए जनताले थाहा पाउने गरी राहत ल्याउनुपर्‍यो । अब त झन् के राहत देला ? सरकारको हालत के छ भने ऋण लिएर घ्यू खाने ।

सफल सरकारले यति धेरै ऋण लिएको छ, यति ऋण यसअघि कहिल्यै थिएन । शायद उहाँहरुलाई लागेको होला, यस्तो स्थिति छ । फेरि फर्किएर आइन्छ कि आइन्न ? अहिले ऋण लिएर घ्यू खाऔं, तिर्ने बेला अरु आइहाल्छन् भन्ने हिसाबले लिनुभएको छ भने केही छैन ।

सरकार बन्दा अर्थमन्त्रीले बडाे उत्साहित भएर पूर्ववर्ती सरकारले ऋणैऋण गरेको छ, हामीले घ्यू  खुवाउँछौं भनेर श्वेतपत्र निकाल्नुभएको थियो, याद होला नि । त्यो ह्वाइट पेपरमाथि छलफल गर्नुपर्‍यो । अहिलेको पनि श्वेतपत्र जारी गर्नुपर्‍यो ।

अग्रगमन कि प्रतिगमन ?

मन्त्री ज्ञवाली : प्रतिगमनको परिभाषा कस्तो भयो भने निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन हुने, नपाए प्रतिगमन हुने । तर हाम्रा निम्ति काठमाडौंका जनताले पानी खान पाउनुभन्दा अग्रगमन अरु केही हुन सक्दैन । तराईका बन्जर जमिनमा सिंचाइ दिनुभन्दा अग्रगमन अरु केही हुन सक्दैन ।

प्रमुख सचेतक खाँड : यो सरकार बनेकै दिनबाट विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको छ । माइतीघरलगायतका कतिपय सार्वजनिक ठाउँमा भेला हुन र बोल्न नपाइने निर्णय पनि सरकारले गर्‍यो । जनताले मुद्दा हाले र अदालतले भन्यो, त्यहाँ जान पाइन्छ, बोल्न पाइन्छ ।

भनेपछि सरकारले अग्रगमन गरेको छ कि प्रतिगमन ? प्रधानमन्त्री र मन्त्रीहरुले एक पटक छातीमा हात राखेर सोच्नुस्, जुन स्पिरिटमा हामीले संविधान बनाएका थियौं, त्यसरी पालना भएको छ ? विशेष सेवासम्बन्धी विधेयक, जहाँ नागरिकको गोपनीयतालाई हरण गर्न सकिने, कसैको पनि, सरकारले पनि अनुगमन गर्न सकिने भनिएको छ । निरंकुश तानाशाही भएको देशमा मात्र यस्तो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment