+
+
Shares

आगजनीले उजाड पार्टी मुख्यालयबाट गगनको भावुक सन्देश

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते १९:१३

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन-जी आन्दोलनको क्रममा भएको आगजनीबाट क्षतिग्रस्त भवनहरूको भग्नावशेष सफा र पुनर्स्थापना गर्न जुट्न आह्वान गरेका छन् ।

शनिबार पार्टी मुख्यालय सानेपा पुगेका थापाले एक भावुक भिडियो सन्देशसहित पुनर्स्थापनामा जुट्न आह्वान गरेका हुन् ।

‘अहिले राजनीतिक बहस भन्दापनि आत्तिएको समाजलाई सहारा दिँदै भग्नावशेष सफा र पुनःस्थापना गर्न जुटौँ,’ उनले भनेका छन् ।

यस्तो छ छ गगनको सन्देश :

म अहिले नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय भर्खर छिरेको छु। यहाँको अवस्था देख्दा शब्दै हराएको छ- के भन्ने ? बोल्ने शब्दहरु सबै हराएको छ । सबै ध्वस्त भएको छ। यो हाम्रो लाइब्रेरीको कोठा हो, जुन हामीले धेरै मेहनत गरेर, साथीहरूबाट सानो–सानो योगदान सङ्कलन गरेर अस्ति भर्खर बनाएर सुरु गरेका थियौं। त्यहाँ हजारौँ पुस्तक थिए, तर आज सबै खरानीमा परिणत भएको छ।

शरीर ढल्न सक्छ, तर हाम्रो मन दरो छ। यो खरानीबाट पनि हामी पुनः उठ्नेछौं भन्ने विश्वास छ। अहिले दुःखको घडी हो, यसबेला रिस पाल्नु हुँदैन, एक–अर्कालाई सम्हाल्नु, सहयोग गर्नु र समुदायलाई पुनः जोड्नु हाम्रो कर्तव्य हो।

म घर गएको छैन, पार्टी कार्यालयमा आएको छु। तर थाहा पाएँ- मेरो टोलका साथीहरू, छिमेकीहरू र समुदायका सदस्यहरूले मेरो घर सरसफाइ गरिरहेका रहेछन्। म उनीहरू सबैप्रति अत्यन्त आभारी छु। जसको घर जलेको छ वा क्षति भएको छ, जहाँ सकिन्छ त्यहाँ गएर सहयोग गरौं भन्ने मेरो अपिल छ।

विशेष ध्यान सार्वजनिक सम्पत्तिमा भएको ठूलो क्षतिमा दिनुपर्छ। प्रहरी चौकीहरू ध्वस्त भएका छन्, जसले गर्दा मानिसहरू असुरक्षित महसुस गरिरहेका छन्। त्यसैले सुरुवातमै ‘ल–एण्ड–अर्डर’ कायम गर्नु प्राथमिक आवश्यकता हो। प्रहरी चौकीहरूको पुनर्निर्माणमा सबैले सकेको सहयोग गर्नुपर्छ।

आज हामीले देखेको विनाश नेपालको इतिहासमै अभूतपूर्व हो। यसलाई केवल समुदाय र संगठित प्रयासमार्फतै जोगाउन र पुनर्निर्माण गर्न सकिन्छ। आगामी दिनमा राजनीतिक बहस र हिसाब–किताबका कुरा हुनेछन्, दोषीले दण्ड पाउनेछन्। तर अहिले राजनीति भन्दा माथि—राष्ट्रको पुनर्निर्माण मुख्य कार्य हो।

अहिले भूकम्पले पनि नगरेको विनाश भएको छ। त्यसैले पार्टीका साथीहरू, समुदायका सदस्यहरू, जसको जहाँ क्षति भएको छ, सबै मिलेर लाग्नुपर्छ। सजिलो छैन, तर यो हाम्रो जिम्मेवारी हो। हामीले दुःख गर्नकै लागि यो बाटो (राजनीतिकको) रोजेका हौं, अझै धेरै कठिनाइ सहेर अघि बढ्न तयार छौं। धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?