Comments Add Comment

व्यापार घाटा साढे ८ खर्बभन्दा माथि

फाइल तस्वीर

८ चैत, काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालको व्यापार घाटा साढे ८ खर्बभन्दा माथि पुगेको छ । उच्च आयात र कमजोर निर्यातको प्रभाव व्यापार घाटामा देखिएको हो । भन्सार विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म नेपालको व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । कोरोना भाइरस महामारीमा केही सुस्ताएको आयातको ग्राफ कोरोना भन्दा अगाडिकै स्थितिमा पुगेको छ । तर, निर्यात औसतः हुँदा चाप व्यापार घाटामा देखिएको हो । विभागका अनुसार व्यापार घाटा अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १.६३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ८ महिनामा ८ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ ।

आयात कोरोनाकाल भन्दा अगाडिकै अवस्थामा

आंकडा अनुसार नेपालमा वस्तु आयात भने कोरोनाकाल भन्दा अगाडिकै अवस्थामा पुगेको छ । यस्तो ट्रेण्ड चालु आर्थिक वर्ष २०७७/७८ को सातौं महिना (साउन–माघ)बाटै शुरु भएको थियो । फागुनमा पनि उही प्रवृत्ति देखियो । चालु आवको ८ औं महिनासम्म कुल ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको यसै अवधिमा ९ खर्ब २४ अर्ब २४ करोडको वस्तु आयात भएको थियो । गत आवको यो अवधिमा कोरोनाको महामारीले मुलुकको अर्थतन्त्र भने प्रभावित बनेको थिएन । चालु आवको शुरुदेखि नै कोरोनाबाट अर्थतन्त्र प्रभावित बने पनि त्यसले आयातमा असर नपरेको पाइएको छ । विभागका अनुसार ८ औं महिनामा भएको आयात गत आवको तुलनामा २.१४ प्रतिशत बढी हो ।

८ महिनामा मात्र ८० अर्बका वस्तु निर्यात

आयातको ग्राफ उकालो लागेको यो अवधिमा निर्यातको ग्राफ भने साविकमा जस्तै टिठलाग्दो छ । ८ महिनाको अवधिमा नेपालले मात्र ८० अर्ब ७१ करोड रुपैयाँको मात्र वस्तु निर्यात गर्न सकेको छ । यो निर्यातले नेपालको पेट्रोलियम पदार्थ आयात समेत धान्न सक्दैन । तथ्यांक अनुसार ८ महिनाको अवधिमा नेपालले ८० अर्ब ७७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गर्न सकेको छ । अघिल्लो आवको यसै अवधिमा ७४ अर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । चालु आवमा वस्तु निर्यातमा ७.८४ प्रतिशतको वृद्धि देखिएको छ ।

८ महिनाको अवधिमा कुल वैदेशिक व्यापारको आकार १० खर्ब २४ अर्ब ७६ करोड पुगेको छ । कुल वैदेशिक व्यापारको आकार अघिल्लो आवको यसै अवधिको तुलनामा २.५६ प्रतिशतले सुधार आएको छ । अघिल्लो आवको यसै अवधिमा कुल वैदेशिक व्यापारको आकार ९ खर्ब ९९ अर्ब १५ करोड रहेको थियो । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२.१२ प्रतिशत र निर्यातको हिस्सा मात्र ७.८८ प्रतिशत रहेको छ ।

१ खर्ब २१ अर्ब माथि पेट्रोलियम पदार्थको आयात

आठौं महिनासम्म आइपुग्दा यो वर्ष नेपालले सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात गरेको छ । यस्तो आयात १ खर्ब २१ अर्ब ६१ करोड रुपैयाँ बराबरको भइसकेको छ । यो नेपालको कुल वस्तु निर्यातको तुलनामा निकै माथि हो । निर्माण क्षेत्रमा बढी प्रयोग हुने फलाम तथा स्टीलको आयात समेत १ खर्ब नजिक पुगेको छ । यो अवधिमा यस्तो वस्तुको आयात ९४ अर्ब ५८ करोड रुपैयाँ बराबरको भएको छ । यो अवधिमा ६२ अर्ब ८३ करोड रुपैयाँ बराबको सवारी साधन र त्यसको पार्टपूर्जा आयात भएको छ । यो अवधिमा ७१ अर्ब ४३ करोड रुपैयाँ बराबरको इलेक्ट्रोनिक्स सामान नेपाल आयात भएको छ । यसमा मोबाइलको हिस्सा अधिक छ । यो अवधिमा नेपालले तरकारी मात्र २५ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ । नेपालले यो अवधिमा १ सय ५१ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गरेको छ ।

यस्तो रह्यो ८ महिनाको वैदेशिक व्यापार

आयात : ९ खर्ब ४३ अर्ब ९८ करोड (२.१४ प्रतिशत बढेको)

निर्यात : ८० अर्ब ७७ करोड (७.८४) प्रतिशत बढेको)

व्यापार घाटा : ८ खर्ब ६३ अर्ब २० करोड (१.६३ प्रतिशत बढेको)

कुल वैदेशिक व्यापार : १० खर्ब २४ अर्ब ७६ करोड (२.५६ प्रतिशत बढेको)

व्यापारमा आयातको हिस्सा : ९२.५० प्रतिशत (०.४२ प्रतिशत घटेको)

व्यापारमा निर्यातको हिस्सा : ७.८८ प्रतिशत (५.१४ प्रतिशत बढेको)

भारतबाट मात्र ६ खर्ब २२ अर्बको आयात

नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार भारतसँग रहेको छ । सोही कारण व्यापार घाटा समेत सोही मुलुकसँग बढी छ । तथ्यांक अनुसार ८ महिनाको अवधिमा नेपालले भारतबाट ६ खर्ब २२ अर्ब ३० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यसअवधिमा निर्यात भने मात्र ५८ अर्ब १९ रहेको छ । यसले भारतसँग व्यापार घाटा ५ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ देखिएको छ । यस अवधिमा चीनतर्फ मात्र ६१ करोडको सामान निर्यात हुँदा आयात भने १ खर्ब ३६ अर्ब १९ करोड रुपैयाँ बराबरको भएको छ । चीनसँग १ खर्ब ३५ अर्ब ५८ करोड रुपैयाँ बराबरको व्यापार घाटा देखिएको छ । अमेरिकाबाट ११ अर्ब ३२ करोडको सामान आयात हुँदा ८ अर्ब ७६ करोड रुपैयाँको निर्यात भएको छ । तुलनात्मक रुपमा अमेरिकासँगको व्यापार सन्तुलित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment