Comments Add Comment

कोरोना संक्रमित भेटिएपछि मोरङमा भारतीय सीमामा सतर्कता

१० चैत, विराटनगर । विराटनगरमा पुनः कोरोना सङ्क्रमित भेटिन थालेपछि स्थानीय प्रशासनले नाकामा सतर्कता अपनाएको छ । पछिल्लो तीन दिनमा विराटनगरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ सङ्क्रमित भेटिएपछि स्थानीय प्रशासनले शंकास्पद व्यक्तिको एण्टिजिन परीक्षणपछि मात्रै प्रवेश गर्न दिने निर्णय गरेको हो ।

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण तीब्र भएपछि सतर्कता अपनाएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

‘नाकामा रहेको हेल्थ डेक्समा एण्टिजिन परीक्षण गर्ने निर्णय भएको छ,’ उनले भने ‘नेपाल आउने सबैको सम्भव हुदैन, शंकास्पद व्यक्तिको जाँच गर्छाै ।’

भारतबाट आउनेहरुको नाकामा तापक्रम नाप्ने र ज्वरो आएकाहरुको एन्टिजिन परीक्षण गर्ने उनको भनाइ छ ।

भारतबाट आएका सङ्क्रमित सम्पर्क छैनन्

मोरङमा पछिल्लो चार दिनमा १० जना कोरोना सङ्क्रमित भेटिएका छन् । १० मध्ये ६ जना विराटनगरका छन् । नयाँ सङ्क्रमण देखिएकाहरुको ट्राभल हिस्ट्री भारतसँग जोडिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेशकुमार मेहताका अनुसार मोरङमा सङ्क्रमण देखिएका १० जनामध्ये विराटनगरका ६ जना, सुन्दरहरैचाका ३ र पथरीशनिश्चरे नगरपालिकाका १ जना छन् ।

तर उनीहरुको कन्ट्याक्ट ट्रेसिङ भएको छैन । महानगरपालिकामा पछिल्लो दुई महिना कोरोना सङ्क्रमित भेटिएका थिएनन् । तर चार दिनको अन्तरमा ६ जनामा सङ्क्रमण देखिँदा नागरिकमा त्रास बढेको छ ।

विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्कीका अनुसार नयाँ सङ्क्रमितमा दोस्रो फेजको कोरोना सङ्क्रमण भएको आशंका गरिएको छ । सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ महानगरपालिकाले गर्ने उनले बताए । कोरोना महामारी नियन्त्रणमा आएपछि महानगरपालिकाले दुई महिना अघि पीसीआरका लागि स्वाब संकलन बन्द गरेको थियो ।

विज्ञ भन्छन् : जोखिम बढ्यो

भारतमा सङ्क्रमण तीब्र भएकाले नेपालमा पनि दोस्रो फेजको कोरोना सङ्क्रमण भित्रिएको आशंका स्वास्थ्य विशेषज्ञले बताएका छन् ।

कोसी अस्पताल विराटनगरमा मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दास पछिल्लो चरणमा देखिएको सङ्क्रमण दोस्रो फेजको कोरोना हुनसक्ने बताउँछन् ।

‘दोस्रो फेजको कोरोना भारतमा तीब्र गतिमा फैलिएको छ, हामीले सतर्कता अपनाउनुपर्छ,’ उनले भने ‘व्यक्तिगत दूरी, मास्क र सरसफाइमा ध्यान दिनुपर्छ ।’

विराटनगर महानगरपालिका स्वास्थ्य संयोजक रमेश कार्की कोरोना संक्रमण घटेपछि मानिसहरु सामान्य दैनिकीमा फर्किएका बेला अब ढुक्क हुन नमिल्ने बताउँछन् ।

‘हाम्रो आशंका दोस्रो चरणको कोरोना भित्रिएको हो कि भन्ने छ,’ उनले भने ‘परीक्षणमार्फत पुष्टि भएको छैन, तर हामीले सफसफाइ र सतर्कतामा ध्यान दिनुपर्छ ।’

उब्रिएको खोप शिक्षकलाई

विराटनगरमा शिक्षकलाई कोरोना भाइरसको खोप लगाइने भएको छ । २३ फागुनबाट सुरु भएको तेस्रो चरणको खोप अभियानमा उब्रिएको खोप विराटनगरका निजी र सामुदायिक विद्यालयका शिक्षकलाई लगाउने निर्णय भएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय मोरङमा जिल्ला स्तरीय खोप समितिको बैठक बसेको थियो । बैठकले यसअघि छुटेका र शिक्षकलाई खोप लगाउने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

उनका अनुसार यसअघि छुटेकाहरुलाई समेट्ने र विराटनगरका निजी र सामुदायिक विद्यालयका शिक्षकलाई चैत महिनाभित्र कोरोनाविरुद्धको खोप लगाइने छ । मोरङमा ५ हजार ८ सय डोज खोप बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment