Comments Add Comment

त्रिदेशीय कप फुटबलमा बंगलादेशको विजयी शुरुवात

१० चैत, काठमाडौं । मंगलबार शुरु भएको त्रिदेशीय (थ्री नेसन्स) कप फुटबलमा बंगलादेशले विजयी शुरुवात गरेको छ । आत्मघाती गोलको मद्दतमा बंगलादेशले कीर्गिस्तानको २३ वर्षमुनिको टिमलाई १–० ले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा कीर्गिस्तानका कुमारबाज उलु बेइमनले ३० औं मिनेटमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । बंगलादेशका फरवार्ड साद उद्दिनको क्रस गरेको बलमा कीर्गिस्तानका कुमारबाज उलु बेइमानले आफ्नै पोष्टमा गोल गरे । उनले क्लियर गर्ने प्रयास गर्दा बल आफ्नै पोष्टमा गोल हुन पुगेको थियो ।

कीर्गिस्तानका कप्तान समेत रहेका गोलकिपर तोकोताएभ एर्जानले बल रोक्ने अवसर नै पाएनन् ।

फरवार्ड मेहदी हसन तथा डिफेण्डरद्वय रिमोन होसेन रहबीबुर रहमान सोहागले पहिलो पटक बंगलादेशी टिमबाट खेलेका थिए । नियमित कप्तान जमल भुईयन सोमबार मात्रै नेपाल आएकाले मंगलबार उनले दोस्रो हाफमा मात्र खेले । उनको अनुपस्थितिमा सोहेल रानाले ५५ मिनेटसम्म बंगलादेशको कप्तानी गरेका थिए ।

दोस्रो हाफमा बंगलादेशले गोलको अवसर पाएपनि फिनिसिङ गर्न सकेन । पहिलो हाफमा बंगलादेश हाबी बनेको थियो ।

इन्जुरी समयको अन्त्यतिर कीर्गिस्तानका तासिएभ कामोलिदिनले फ्रि हेडरमा गोल गर्न सकेनन् । बंगलादेशको राष्ट्रिय टिमले कीर्गिस्तानलाई पहिलो पटक हराएको हो । यसअघि दुई देशको सिनियर टिमबीच चार खेल भएकोमा चारै खेल कीर्गिस्तानले जितेको थियो ।

पहिलो खेल जित्दै बंगलादेश फाइनल नजिक पुगेको छ । अब दुबै टिमले नेपालसँग खेल्नुपर्नेछ । तीन टिमबीच सिंगल राउण्ड रोविन लिगको खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको यस प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल बिहीबार कीर्गिस्तानसँग खेल्नेछ ।

के भन्छन् प्रशिक्षक ?

कीर्गिस्तानका प्रशिक्षक झोल्डोसोभ नुर्बेकले बंगलादेशका अनुभवी खेलाडीसँग खेल्दा टिममा समस्या देखिएको बताए । ‘पहिलो हाफमा हाम्रा खेलाडी कन्फ्युजनमा परे । दोस्रो हाफमा पुनरागमन गर्न सक्छौं भन्ने विश्वास देखाएका थिए तर हामीले अवसर सदुपयोग गर्न सकेनौं’ उनले भने ।

अब नेपालसँगको खेल पनि चुनौतीपूर्ण हुने प्रशिक्षक नुर्बेकले बताए । ‘नेपाल होस्ट टिम हो त्यसैले नेपालसंग खेल्दा कठिन हुनेछ । तर हामी राम्रो खेल्ने प्रयास गर्नेछौं’ उनले भने ।

बंगलादेशका प्रशिक्षक जेम्स डेले पहिलो पटक राष्ट्रिय टिमबाट खेलेका खेलाडीले राम्रो प्रदर्शन गरेको बताए । ‘पहिलो पटक राष्ट्रिय टिमबाट खेलेका खेलाडीले राम्रो खेले । यसले हामीलाई आउँदो जुनमा खेल्नका लागि अरु खेलाडी पनि तयार बनाएको छ । १६ वर्षीय खेलाडीले समेत सिनियर टिमबाट खेले’ उनले भने ।

अब बंगलादेशले पनि नेपालसँग खेल्नेछ । नेपालसँगको खेलमा अहिलेको टिममा फेरबदल गर्न सक्ने उनले संकेत दिए । ‘हामी अर्को खेलमा नेपालसंग खेल्दा टिमको अवस्था हेरेर खेलाउछौं । हाम्रो लागि अंक आवश्यक परेमा अनुभवी टिम खेलाउनेछौं । त्यसो नभए नयाँ खेलाडीलाई अझै अवसर दिनेछौं’ उनले भने ।

हेर्नुहोस् कीर्गिस्तान र बंगलादेशबीचको खेलका तस्वीरहरु

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment