Comments Add Comment

गण्डकीमा कोभिड : जोखिम बढ्यो, हेलचेक्र्याइँ उस्तै

स्वास्थ्यकर्मी भन्छन् : खोपको बाहाना भयो, मास्क लाउन र हात धुन पनि छाडे

१२ चैत, पोखरा । वीरगञ्ज-विराटनगर पुगेर फर्किएका इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसका एक जना विद्यार्थीमा कोरोना संक्रमण देखियो ।

ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएपछि स्वाब लिएका उनको कोरोना पोजेटिभ आएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका १९ जनाको स्वाब परीक्षण गर्दा अरु ७ जना थपिए । क्याम्पसको छात्रवासबाट सुरु भएको संक्रमण अहिलेसम्म केही प्राध्यापकसहित ७६ जनामा पुग्यो ।

भारतीय सीमावर्ती सहरबाट फर्किएका विद्यार्थीबाट वा क्याम्पसमा विद्यार्थी भेला, बिदाइ तथा स्वागत कार्यक्रमबाट कोरोना सल्कियो भन्ने यकिन छैन ।

तर कोरोनाको दोस्रो लहर सुरु भएको आशंका भइरहेका बेला विद्यार्थीहरुमा संक्रमण फैलिएपछि क्याम्पस प्रशासनले ४ गतेदेखि पढाइ स्थगित गरेको सहायक क्याम्पस प्रमुख सुनील दाहालले जानकारी दिए । ‘होस्टेलमा मात्र ४ सय विद्यार्थी छन् । विद्यार्थी, प्राध्यापक र कर्मचारी गरी क्याम्पसभित्र २ हजार भन्दा बढी छन्,’ दाहालले भने, ‘कोरोना संक्रमण अरु फैलिन नदिन क्याम्पस बन्द गरायौं ।’

पश्चिमाञ्चल क्याम्पसमा मात्र होइन, गण्डकी प्रदेशमै संक्रमणको जोखिम बढेको स्वास्थ्यकर्मी बताउँछन् । ‘संक्रमणको जोखिम एकदमै बढिरहेको छ, तर मानिसमा डर छैन,’ प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले भने, ‘गण्डकी प्रदेशमा १ सय ८० जनासम्ममा झरेका थियौं । अहिले फेरि करिब ३ सय संक्रमित पुगेका छन् । संक्रमितको संख्या बढेसँगै परीक्षण पनि बढाइरहेका छौं ।’

कतिपयले खोप आइसक्यो त कतिपयले लगाइसक्यौं भनेर हेलचेक्र्याइँ गर्दा संक्रमणको जोखिम बढेको शर्माले बताए । नागरिकले सतर्कता अपनाउने र सरकारले परीक्षणको दायरा बढाउँदै नियन्त्रणका अरु उपाय अबलम्बन गर्नुपर्नेमा त्यसो नभएको प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालका निर्देशक डा. विकास गौचनले बताए ।

‘अब कोरोना सकियो भन्ने मानिसमा परिरहेको छ । मास्क लगाउने, नियमित हात धुन पनि छाडिसके । यसले थप जोखिम बढाइरहेको छ,’ डा. गौचनले भने, ‘२ हप्ताअघिसम्म परीक्षण पनि एकदमै कम थियो । भारतमा नयाँ लहर आएपछि बल्ल परीक्षण बढाइएको छ ।’

नेपालमा कोरोना संक्रमणको जोखिम कम नभएको सबैले बुझ्नुपर्ने डा. गौचनको भनाइ छ । ‘अझै जोखिम बढाउने काम त गरिरहेका छैनौं भनेर सरकार र जनता दुबैलाई प्रश्न गर्नेबेला आइसक्यो,’ डा. गौचनले भने, ‘सरकारले कोरोनाको जोखिम बढ्यो, तम्तयार अवस्थामा बस्नु भनेर पत्र काटिसकेको छ ।’

भेला सभा सम्मेलन नगर्ने, भीडभाड नगर्ने मापदण्ड कायमै रहेको भएपनि सबैभन्दा बढी सभा सम्मेलन राजनीतिक दलले नै गरे । दलहरुले नै भेला गर्दै हिँडेपछि नागरिकमा कोरोना सकियो भन्ने भ्रम परेको स्वास्थ्यकर्मीहरु बताइरहेका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम भने कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको संकेत देखिएसँगै मापदण्ड पालनामा सबैलाई सचेत गराइएको बताउँछन् । ‘अनुशासन कायम गरिएन भने फेरि संक्रमण दर बढ्नसक्छ । त्यसैले होली पर्व पनि घरमै बसेर मनाउन भनिरहेका छौं,’ उनले भने ।

गत आइतबारसम्म गण्डकी प्रदेशमा हप्तामा ८ सय ४५ जनाको परीक्षण हुँदा १२१ जनामा संक्रमण देखिएको थियो । त्यतिञ्जेलसम्म गण्डकीमा संक्रमितको संख्या १६ हजार २२४ थियो । सक्रिय संक्रमित जम्मा १७६ जना थिए ।

तर मंगलबार १ ८२ जनाको स्वाब परीक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १६ हजार २१ पुगेको छ, जसमध्ये २३८ सक्रिय संक्रमित छन् । त्यसमध्ये २०९ जना कास्कीमा मात्र रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशभरमा एक ठाउँमा मात्र उपचार, तर जनशक्ति छैन

कोरोना संत्रमितको संख्या घटेसँगै उनीहरुको उपचार गर्ने अस्पतालको संख्या पनि घटाइएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्र बन्द गरेको छ भने जिल्ला र अञ्चल अस्पतालमा पनि कोभिडका विरामीको उपचार हुन्न । ‘अरु बिरामीको उपचारमा असर नपरोस् भनेर जिल्लाका जुनसुकै ठाउँका कोभिडका बिरामी भए पनि पोखराकै अस्पताल ल्याउने निर्णय गरिरहेको छ,’ प्रदेश स्वास्थ्य निर्देशक शर्माले भने ।

अहिले लेखनाथस्थित प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालमा मात्र उपचार गर्ने भनिएको छ । संक्रमण बढेसँगे यसले यहाँको संरचनाले नधान्ने देखिएको छ । संक्रामक अस्पतालसहित गण्डकी मेडिकल कलेज र चरक मेमोरियल संक्रामक अस्पतालले मात्रै कोभिडका विरामीहरुको उपचार गर्ने हो भने जनशक्ति पनि बढाउनुपर्ने निर्देशक डा. शर्मा बताउँछन् ।

‘फेरि जोखिम बढ्न थाल्यो, तर जनशक्ति छैन । गम्भीर खालका विरामी आए कहाँ ल्याएर विरामी राख्ने भन्ने छ,’ गौचनले भने, ‘आईसीयूमै दक्ष कर्मचारी छैनन् ।’

७ बेडको आईसीयू र ५ वटा भेन्टिलेटर रहेको अस्पतालमा ३ जना विशेषज्ञ डाक्डर, ८ जना मेडिकल अधिकृत र ५ जना स्टार्फ नर्ससहित ४० जना स्वास्थ्यकर्मी छन् । अहेब र हेल्थ असिस्टेन्ट १/१ जनामात्र छन् । ल्याबमा ३ जनामात्र छन् । अस्पताल सहयोगीदेखि डाक्टरसम्मै जनशक्तिको अभाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment