Comments Add Comment

पर्सामा नागरिकता बनाउन र प्रतिलिपि पाउन समेत सास्ती

१२ चैत, वीरगञ्ज । ‘घरमा पुरुष छैनन्, महिला मात्रै छौं, दुई दिनदेखि दौडिएको-दौडिएकै छौं, तर नागरिकता नै बनेको छैन’ जिल्ला प्रशासन कार्यालय पर्सामा भेटिएकी वीरगञ्ज उदयपुर घुर्मीकी सोनुदेवीले गुनासो गरिन् ।

‘अब त बन्छ कि भनेर दिनभरि उभिएर बस्नुपर्छ, तर रित्तो हात फर्कनुपर्छ’ उनले भनिन् । ‘नबन्ने हो भने आज बन्दैन भने पनि घर गएर काम गर्न हुन्थ्यो’ दिनभरि लाइनमा उभिँदा खुट्टा नै दुखिसकेको उनी सुनाउँछिन् । उनकै आँखा अगाडि एकजना बेहोस भएपछि उनलाई झन डर लागिरहेको छ ।

एकै दिनमा हुने कामका लागि पटक पटक आउनुपर्दा अनावश्यक खर्च भइरहेको उनले सुनाईन् । ‘आमा छोरी एक पटक वीरगञ्ज आउँदा ५ सय खर्च हुन्छ । कलाई के भन्ने नभन्ने ।’ उनले भनिन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बिहानदेखि बेलुकासम्म नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी लिने र त्रुटी सच्याउनेहरुको भिडभाड देखिन्छ । प्रशासनले नै कोरोना संक्रमणको जोखिम बढेको भनेर २५ जनाभन्दा बढी भेला नहुन निर्देशन जारी गरेको छ । तर कार्यालय परिसरमै सयौं सेवाग्राही सामाजिक दुरी नै कायम नगरी बसेको देख्न सकिन्छ ।

संक्रमणको जोखिम एकातिर छ भने अर्कोतिर सेवा पाउन सास्ती छ । सेवाग्राहीलाई व्यवस्थित लाईनमा राखेर सेवा प्रवाह गर्नुपर्नेमा त्यसो हुँदैन । अव्यवस्थित छ । वीरगञ्ज–२६ सुगौलीविर्ताका अतिउल्लाह देवान ४ दिनदेखि प्रशासन कार्यालय धाईरहेका छन् । श्रीमती नाफिजा खातुनको नागरिका अझै बनेको छैन । आवश्यक सबै कागजात बुझाउँदा किन नागरिकता तयार नभएको हो उनले भेउ नै पाईरहेका छैनन् ।

‘कहिले कर्मचारी नै बसेकै हुँदैनन् । कर्मचारी बसेको बेला केहि सोध्यो भने सुन्दैनन् ।’ उनले भने ‘ भिड हुन्छ, अलि जोडले कराएर सोध्यो भने रिसाउँछन् ।’ वीरगञ्ज–३१ कोन्हियाकी रेनु कुमारी जयसवाल नागरिकताका लागि धाएको दुई दिन भयो । नागरिकता पाउने कुनै छाँटकाँट नदेखिएको उनी बताउँछिन् ।

‘न पुरुषको लाईन छ, न महिलाको ?’ उनले भनिन् ‘कर्मचारीलाई केहि सोध्न गयो, लाईनमा आउनुस भन्छन् । लाईन भए पो लाईनमा जानु ?’ उमेर भएका महिला पुरुष मात्रै हैन, वृद्ध उमेरका मानिसहरुले समेत जिल्ला प्रशासनमा सहजै सेवा पाउँदैनन् । केहुनियाका शिव मंगल साह नागरिकताको प्रतिलिपी लिन आएकोमा दिन वितेको बताउँछन् ।

‘नागरिकता हराएको छ, प्रतिलिपि लिन आएको दिनभरी बस्दा पनि पाएन ।’ उनले भने ।

अनावश्यक सास्ती दिएको गुनासो
जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता बनाउन के–के कागजपत्र आवश्यक पर्छ भन्ने जानकारी दिने ठाउँ समेत नभएको सेवाग्राहीको गुनासो छ । आज एउटा कागजपत्र पुगेन भन्छन्, अर्को दिन अर्को कागजपत्र नभएको भनेर भन्ने गरेको उनीहरुको भनाई छ ।

यस्तै सास्ती वीरगञ्ज–१९ बिन्दबासिनीका जियालाल यादवले झेले । बुवाको नागरिकताको प्रतिलिपी लिन आएका उनले पहिलोदिन अभिलेख नै नपाएको भनेर जवाफ पाए । ‘पहिलो दिन अभिलेख च्यातिएको रहेछ, भेटिएन भने ।’ उनले भने ‘पछि प्रजिअले सिफारिस गरिदिए हुन्छ भने, हैन नयाँ फर्म भर्नुस भन्न थाले यसो उसो गर्दैमा दिन त्यतिकैमा दिन बित्यो ।’

उनी भन्छन् । अर्को दिन फेरि नयाँ फर्म किनेर भर्नु भने । पछि भोटर कार्ड ल्याउन भने । ‘एकैपटक भनेको भए सजिलो हुन्थ्यो, पटक पटक भन्दा दुःख भयो ।’

प्रशासन भन्छ: ६ महिना ग्याप भो, त्यसैको परिणाम हो
जिल्ला प्रशासन कार्यालय पर्साले भने कोभिड महामारीका कारण ६ महिना सेवा बन्द गर्नु परेका कारण नयाँ नागरिकता वितरणमा अहिले समस्या भएको बताएको छ । प्रतिलिपीमा भने अभिलेख नभेटिएको अवस्थामा बाहेक खासै समस्या नरहेको प्रशासनको दावी छ ।

सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल कोरोना महामारीमा सेवा प्रवाह रोकिएकोले गर्दा अहिले कार्यालयमा नागरिकता बनाउनेको भिड देखिएको बताए ।

कोभिड–१९ का कारण ६ महिना कार्यालय बन्द गर्नुपर्‍यो, २० हजार जनाले नागरिकता बनाउन पाएनन्, खुलेपछि आउने नै भए ।’ उनले भने ‘त्यसमाथि दरबन्दी अनुसारको कर्मचारी नै छैनन, कर्मचारीहरुले त टाउको उठाउने समेत फुर्सद पाउँदैनन् । न कुनै प्रोत्साहन पाउँछन् ।’

सेवाग्राहीका कारण पनि कतिपय समस्या आउने गरेको तर्क उनको छ । सेवाग्राहीले नागरिकता लिँदा नहेरी लिने र पछि त्रुटी भयो भनेर आउने गरेको उनी बताउँछन् ।

‘लाईन बसेर आउन भन्दा मान्दैनन्, एकैपटक झुम्मिन्छन्, एकै पटक बोल्छन् । सर्पोटिङ डकुमेन्टहरु पनि हुँदैन । अनि कर्मचारीले कसरी सेवा दिन्छ ?’ उनले भने ‘ अर्को नागरिकता लिँदा त्रुटी छ कि छैन भनेर हेर्दैनन् । पछि सच्याउन आउँछन् । ’

कर्मचारीबाट गलत नियतले काम हुन नदिएको बताउँदै उनले सेवाग्राही पनि सभ्य भएर प्रस्तुत हुँदा धेरै समस्या समाधान हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment