Comments Add Comment

लागूऔषध ओसारपसारमा बालककाे प्रयाेग

१५ चैत, विराटनगर । लागूऔषध ओसारपसारमा प्रयोग भएका दुई बालकसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार विराटनगर महानगरपालिका–१८ भेडियारीबाट ११ र १३ वर्षीय बालकसहित भारतीय नागरिक भारत बिहारको अररिया वैजनाथपुरका २३ वर्षीय दिलीपकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

दिलीपकुमारले दुई बालकलाई भारतबाट नेपाल लागूऔषध पार गर्न लगाएको प्रहरीले जनाएको छ । पक्राउ परेका बालकहरु दाजुभाइ हुन् । लागूऔषधसहित पक्राउ परेका दाजुभाइले दिएको सूचनाका आधारमा प्रहरीले कारोबारी दिलीपकुमारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार झोला बोकेर नेपाल आउँदै गरेका बालकको झोला चेक गर्दा उनीहरुले बोकेको झोलाबाट डाइजेपाम, फेनारगन र नुफिन गरेर ५७० एम्पुल लागूऔषध बरामद भएको थियो ।

नाकामा चेकजाँच नहुने भएकाले भरियाको रुपमा बालकलाई प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुई बालक विपन्न परिवारका हुन् । पैसाको लोभमा लागूऔषध कारोबारीले उनीहरुलाई भरिया बनाएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान अगाडि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment