Comments Add Comment

गुल्मीको भाडगाउँमा मध्य चैतसम्म पनि बोटमै सुन्तला

१६ चैत, गुल्मी । मध्य चैत सुन्तलाको फूल फुल्ने समय हो । तर गुल्मीका किसानका बगैंचामा भने अझै सुन्तला देखिन्छ । सुन्तला पाकेर फूल फुल्ने समयमा भाडगाउँका किसानका बोटमै लटरम्म सुन्तला देख्न सकिन्छ ।

बेमौसमी सिजनमा सुन्तलाको मूल्य बढी पर्ने भएपछि यहाँका किसानहरुले बोटमै सुन्तला राख्ने गरेका हुन् । सुन्तला पाकेर पहेंलो हुने बित्तिकै बोटबाट टिपिहाल्नु राम्रो हुने कृषि प्राविधिकहरुले बताइरहे पनि किसानहरु भने बढी मूल्य पाइने लोभमा चैत–वैशाखको महिनामा पनि बोटमै सुन्तला राखिरहेका छन् ।

सुन्तलाको लागि प्रख्यात स्थान भाडगाउँमा फागुनसम्म त प्रायः सबैको बगैंचामा सुन्तला हुन्छ । तर मध्य चैत बितिसक्दा पनि भाडगाउँमा सुन्तलाको बोटमा एकै ठाउँ फल र फूल देखिन्छ ।

किसान प्रदीप मरासिनीको सुन्तला बगंैचामा ५ सयभन्दा बढी सुन्तलाका बोट छन् । उनले परम्परागत रुपमा बाउबाजेको पालादेखि नै ढिलोसम्म सुन्तला राख्ने भएकाले नै आफूले पनि त्यसै गरेको बताए । जसका कारण सुन्तला उत्पादनमा कुनै कमी नभएको महसुस गरेको उनको भनाइ छ । मरासिनीले उत्पादन गरेका सुन्तला बगैंचाबाटै बिक्री हुने गरेको छ ।

माघको अन्तिमसम्म सुन्तला टिप्नु राम्रो हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गुल्मीका प्रमुख नारायण काफ्ले बताउँछन् । सुन्तला जति ढिलो टिप्यो उति अर्को वर्षको उत्पादनमा घाटा हुने भएकाले अन्य विधिबाट भण्डारण गर्न काफ्लेको सुझाव छ ।

गुल्मीका किसानले प्राविधिक ज्ञानभन्दा पनि आफ्नो अनुभवलाई नै आधार बनाएर सुन्तलाको खेती गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment