Comments Add Comment
केपी ओलीलाई घनश्याम भुसालको प्रतिप्रश्न : :

कसको बलमा र कसका लागि एमाले विभाजन गर्दै हुनुहुन्छ ?

'व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस्'

१७ चैत, काठमाडौं । नेकपा एमालेका उपमहासचिव धनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाउँदै स्पष्टीकरणको जवाफ दिएका छन् । पार्टी अध्यक्ष ओलीले नै पार्टी विभाजन गर्न खोजेको भन्दै उनले प्रश्न गरेका छन्, ‘कसका बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?’

ओली पक्षीय नेताहरु मात्र उपस्थित रहेको ७ चैतको केन्द्रीय कमिटी बैठकले भुसालसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो । उनीहरुमध्ये जवाफ दिएका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई अध्यक्ष ओलीले सोमबार मात्र ६ महिनाका लागि पार्टी सदस्यबाटै निलम्बन गरेका छन् । भुसाल र पाण्डेलाई भने २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएका थिए ।

मंगलबार पार्टी अध्यक्ष ओलीलाई जवाफ पठाएका भुसालले आफूहरुलाई सोधिएको स्पष्टीकरणलाई कंगारु अदालत (नक्कली प्रक्रिया र प्रमाणका आधारमा सुनियोजित रुपमा लक्षित तथाकथित प्रक्रिया)को संज्ञा दिएका छन् । यसको जवाफ दिन आवश्यक नभएको, तर आरोप कति पूर्वाग्रही छन् र कति झूठा छन् भनेर जानकारी दिन पत्र लेखेको उनले बताएका छन् ।

पार्टी विभाजनको रेखा कोर्नुभयो

उपमहासचिव भुसालले पार्टी अध्यक्ष ओलीले नै एमालेमा विभाजनको रेखा कोरेको आरोप लगाएका छन् । २८ फागुनमा आफ्ना गुटका मानिसहरु मात्र भेला गरेर नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी हेरफेर, २३ जना केन्द्रीय सदस्य मनोनयन र संविधान संशोधन जस्ता निर्णय गरेर अध्यक्ष ओलीले नै पार्टी विधानको उल्लंघन गरेको उनको आरोप छ । उनले भनेका छन्, ‘त्यहीबाट पार्टीमा विभाजनको रेखा कोरिएको छ ।’

पत्रमा उनले अध्यक्ष ओलीले नै कसरी पार्टीको वैधानिक व्यवस्थाको उल्लंघन गरे भन्ने पनि उल्लेख गरेका छन् ।

केन्द्रीय कमिटीको बैठकको सूचना र कार्यसूची तीन दिन अगाडि नै केन्द्रीय सदस्यलाई दिनुपर्ने भए पनि त्यसो नगरिएको उनले बताएका छन् । यद्यपि संसदीय दलको बैठकमा ओलीले कसैलाई खबर पठाएको दाबी गरेको भन्दै उनले भनेका छन्, ‘तपाईको दाबी शतप्रतिशत झूटो हो । तपाईंको आफ्नै गुटका सदस्यहरुलाई पठाइएको मेसेजमा समेत केन्द्रीय कमिटीको बैठक भनेर खबर गरिएको थिएन ।’

‘मेरो चुनौतीपूर्ण प्रस्ताव छ, एउटा जाँच कार्यदल गठन गरौं र नेपाल टेलिकमबाट तथ्यहरु मागौं । उक्त मेसेज कुन–कुन व्यक्तिलाई गएको छ वा त्यसबाहेक अरु के सूचना जारी भएको खोजी गरौं, तपाईले झूटो बोल्नुभएको प्रमाणित भइहाल्छ ।’ ओलीले यस्तो झूट पटकपटक बोलेको उनले बताएका छन् ।

साथै २८ फागुनको निर्णयले पार्टी विधानका कुन–कुन धारा उल्लंघन भयो भनेर समेत उपमहासचिव भुसालले पत्रमा उल्लेख गरेका छन् । र, उनले भनेका छन्, ‘त्यस बैठकले गरेको भनिएका विधान संशोधन, त्यसका आधारमा पार्टी केन्द्रीय निकायमा भर्ती, पदाधिकारी परिर्वतन, राष्ट्रिय महाधिवेशन अयोजक समिति बनाउने सबै निर्णयहरु अवैध, अनधिकृत र नक्कली ठहर हुन्छ ।’

दशौं महाधिवेशन राष्ट्रिय महाधिवेशन आयोजक समिति, अध्यक्षको हैसियत र निर्णयहरु नै अवैध भएको भन्दै उनले ओलीलाई नवौं महाधिवेशनले निर्वाचित गरेको अध्यक्षबाहेकका अन्य हैसियतमा स्वीकार नगर्ने समेत बताएका छन् ।

१९ पृष्ठमा मेरो भूमिका छैन

उपमहासचिव भुसालले आफूमाथि लगाएका सबै आरोप बनावटी भएको दाबी गरेका छन् । उनीमाथि लगाइएको पहिलो आरोप थियो, (साबिकको नेकपामा) पार्टी अध्यक्ष ओलीमाथि १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप तयार गर्न … प्रचण्डको मतियार भएको र पार्टी हित विपरित कार्य गरेको ।

भुसालले भने त्यसमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । त्यो अध्यक्ष ओली र उनको गुटका धेरैलाई थाहा पाएपछि आफूविरुद्ध प्रचार सामग्री बनाउन कथा बुनेको भन्दै उनले भनेका छन्, ‘त्यो मेराविरुद्धको निर्वस्त्र षड्यन्त्र हो ।’

उनले यदि त्यो प्रस्ताव ‘अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण’ लागेको भए पार्टीको औपचारिक बैठकमा छलफल गर्न किन इन्कार गरेको’ भनेर प्रश्न गरेका छन् । साथै पाँच वर्षसम्म प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्ष रहने, ठूला निर्णयहरु सचिवालयको सहमतिमा दिने भनेर २६ भदौमा स्थायी कमिटीले गरेको निर्णयहरु इन्कार गरेर संसद भंग गरेको भन्दै उनले भनेका छन्, ‘आफ्ना रहस्यपूर्ण कृत्यहरु ढाक्न तपाईंले अरुमाथि जथाभावी आरोप लगाउन थाल्नुभयो । त्यही मेसोमा तपाईंले मलाई समेत आरोपित गर्नुभएको हो ।’

राष्ट्रिय भेलामा गर्नसक्ने जति योगदान गर्न सकिनँ

भुसालमाथि पार्टी निर्देशन उल्लंघन गरी पार्टीको नाम, चिन्ह र झण्डा दुरुपयोग गर्दै राष्ट्रिय भेला गरेको आरोप लगाइएको थियो । स्पष्टीकरणमा भुसालले भेला गर्न आफूले अग्रसरता लिएको स्वीकार गरेका छन् । पार्टीको झण्डा झुक्न नदिन भेला गरेको भन्दै उनले भनेका छन्, ‘त्यति महत्वपूर्ण भेलामा जति योगदान गर्नुपर्ने थियो, त्यति गर्न नसकेको सविनय उल्लेख गर्न चाहन्छु ।’

सर्वोच्चको २३ फागुनको फैसलाले एमाले २०७५ जेठ २ को मितिमा पुनर्जीवित भएपनि अध्यक्ष ओलीले २८ फागुनमा गुटको भेला गरेर योजनावद्ध रुपमा एमाले विभाजन गर्न खोजेको भन्दै उनले पार्टीेको वैधानिक व्यवस्थाको पक्षमा उभिन आफूहरुले कार्यकर्ता भेला गरेको बताएका छन् ।

अदालतको फैसला कार्यान्वयनका लागि भेला गरेको भन्दै उनले भनेका छन्, ‘२८ फागुनको भेला अवैधानिक रुपमा पार्टी कब्जा गर्ने उद्देश्यले एउटा गुटले गरेको भेला हो, समानान्तर गतिविधि हो । जबकि चैत ४ र ५ गतेको भेला पार्टीको आधिकारिक भेला हो भन्ने कुरा स्वतः प्रमाणित छ ।’

गुटको भेला गुटकै रहन्छ

भुसालमाथि लागेको तेस्रो आरोप केन्द्रीय कमिटीका दशौं, एघारौं र बाह्रौ बैठक र संसदीय दलको बैठकहरुमा उपस्थित नभएको भन्ने छ । भुसालले भने गुटले गरेको भेला गुटकै हुने र ओलीको समूह पार्टीको परिभाषाभित्र नपर्ने बताएका छन् ।

संसद पुनर्स्थापनापछि संसदीय दलको पहिलो बैठकमा भने कार्यकर्ता भेलामा व्यस्त भएकाले उपस्थित हुन नपाएको र दोस्रो बैठकमा आएको उनले बताएका छन् । तर अध्यक्ष ओलीले गुटको भेलामार्फत दलको विधान पारित गरेको भनेर प्रचार गरेर संसदीय दललाई विभाजन गर्न खोजेको उनको आरोप छ ।

भुसालमाथि लागेको चौथो आरोप पार्टीप्रतिको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेकाहरुसँग साँठगाँठ गरेको … छन् ।

भुसालले भने आफूविरुद्ध प्रयोग भएको निन्दात्मक भाषा र अर्थले नै संस्कार देखाउने भन्दै भनेका छन्, ‘यस्ता आरोपहरु या त कुनै अपराध कर्मको असफलताको पीडाले छटपटाइरहेको आवेगमा लगाइएको हुनुपर्छ या हरेक मानवीय मूल्यसमेत किनमेलको माल बनाउन सक्ने दलाल पुँजीवादको असली सन्तानले मेराविरुद्ध ती आरोपहरु लगाएर अरु कसैलाई खुसी पार्न कसरत गरेको हुनुपर्छ ।’ यद्यपि आफ्नो कामना त्यो दुवै नहोस् र तत्कालीन असावधानीपूर्ण आवेगवश हुन गएको त्रुटि होस् भन्ने भएको समेत भुसालले स्पष्टीकरण पत्रमा उल्लेख गरेका छन् ।

स्पष्टीकरणमा उपमहासचिव भुसालले पार्टी असाधारण संकटको भुमरीमा रहेको र त्यसको दुवै पक्ष एकअर्कालाई मानेको भन्दै समाधानका लागि गम्भीर छलफल गर्नुपर्ने बताए । ओली अध्यक्ष भएपछि पार्टीको विचार, सिद्धान्त, राजनीति तथा संगठनात्मक सिद्धान्तको मूल्य हराउँदै गएको, पार्टीमा म र मेरो पद नै विचारधारा बन्दै गएको, आफ्नो गुटमा नलाग्नेविरुद्ध साम–दाम–दण्ड–भेदको प्रयोग नै राजनीति हुँदै गएको भुसालको आरोप छ ।

आफूसँग असहमत दोस्रो पुस्तालाई किनारा लगाइसकेको र बाँकी केहीलाई पनि क्रोध र बदलाका साथ गुटबन्दीको सहाराले किनारा लगाएको भन्दै उनले पार्टी अध्यक्ष ओलीलाई भनेका छन्, ‘मप्रति देखाउँदै आउनुभएको असहिष्णुतालाई यही सन्दर्भमा बुझेको छु । र, त्यसको मूल्य तिर्न म तयार नै छु ।’

ओलीलाई दुई प्रश्न :

एमालेका मुख्य नेताहरुले अहिलेसम्म नेतृत्वमा बसिरहन पार्टीको विधि भत्काउने र पार्टीलाई अस्तव्यस्त पार्ने काम नगरेको भए पनि ओलीले त्यो परम्परा भत्काउन थालेको भुसालले बताएका छन् । ‘आफ्नो पद छाड्नुपर्छ भने कुर्सी नै भाँचिदिन्छु’ भन्ने वाक्य नै ओलीको जीवन दर्शन भएको उनको दाबी छ ।

अध्यक्ष ओलीको कालमा वाम गठबन्धनको फराकिलो बहुमत र पार्टी एकता उपलब्धि भएपनि अहिले त्यो सबै टुटेको र कार्यकर्तामा निराशा छाएको उनले बताएका छन् । यस्तो बेला आफ्नो असफलताको जिम्मा लिएर राजनीति गर्नुको साटो एमालेको विधि, विधान र एकता भत्काउन आतुरता देखाएको भन्दै भुसालले ओलीलाई प्रश्न गरेका छन्, ‘तपाईं अध्यक्ष हुनुभन्दा पहिला तपाईं स्वयंले गरेको तथाकथित पार्टी प्रजातन्त्रीकरणलाई तपाईं के जवाफ दिनुहुन्छ ?

भुसालले अध्यक्ष ओली नेतृत्वको सरकारका नीति तथा कार्यक्रम र बजेट पार्टीको नवौं महाधिवेशनले अघि सारेको कार्यक्रम ‘समृद्ध नेपाल, सुखी नेपाली’ र वाम गठबन्धनको घोषणा विपरित चलेको आरोपसमेत लगाएका छन् ।

मन्त्रीहरु विवादित बनेको, अनेक काण्डमा प्रधानमन्त्रीकै भूमिका अनुचित रहेको, विदेशी नीतिमा अवसरवादी भएको, राष्ट्रिय अखण्डता र सार्वभौमिकताको प्रश्नलाई निजी मामिला बनाएको, सुशासनलाई लज्जित बनाएको, सरकारलाई गुटका हितको साधन बनाएको र संसद विघटन जस्तो अवैधानिक कदम चालेको र त्यसको अपजसको भारी पार्टी र आन्दोलनलाई बोकाएको उनको आरोप छ । अघि भनेका छन्, ‘त्यतिले नपुगेर अझै के तृष्णा बाँकी रह्यो र पार्टी विभाजन गर्न खोज्दै हुनुहुन्छ ? तपाईं अहिले हिंडिरहेको बाटो रहस्यमय छ । कसको बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?’

अध्यक्ष ओलीकै कारण पार्टी विसर्जनतिर जान लागेको भन्दै उनले सबै विषयमा संगठनभित्र छलफल गर्ने वातावरण भए तर्कसंगत समाधान खोज्न सकिने बताएका छन् । त्यसका लागि २ जेठ २०७५ बाट पार्टी जीवन आरम्भ गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘मेरो लाखलाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस् ।’

नभए क्रान्ति अगाडि बढ्ने र ढिलोचाँडो ओलीलाई दण्डित गर्ने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment