
१७ चैत, काठमाडौं । नेपालकी चर्चित पौडीबाज गौरिका सिंहले पौडी पोखरीको उद्घाटन गरेकी छन् । गौरिकाले मंगलबार ललितपुरको पुल्चोकस्थित हार्दिक फिटनेस क्लबले सञ्चालनमा ल्याएको पौडी पोखरीको उद्घाटन गरेकी हुन् ।
नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पौडीतर्फ ४ स्वर्ण, २ रजत र ३ कास्य जित्दै इतिहास रचेकी गौरिकाले पौडी पोखरीको उद्घाटनपछि क्लबमा रहेका विभिन्न सेवाको अवलोकनसमेत गरिन् ।
सानो र ठूलो गरी दुईवटा पौडी पोखरी करिब १ करोड लागतमा निर्माण गरिएको क्लबका सञ्चालक विराज विष्टले बताए । पौडी पोखरीमा सुविन लामा र सानुभाइ पौडेललाई प्रशिक्षकका रुपमा राखिएको छ ।
गौरिकालाई क्लबले आजीवन निःशुल्क सदस्यता प्रदान गरेको क्लबका अर्का सञ्चालक मन्दिर राणाले जानकारी दिए । त्यस्तै १३ औं सागकी स्वर्ण विजेता ट्रायथलनकी सोनी गुरुङ र पौडीकी समिरा शोभा श्रेष्ठलाई क्लबले एक वर्षका लागि निःशुल्क सदस्यता प्रदान गरेको छ ।
प्रतिक्रिया 4