१७ चैत, काठमाडौं । नेपालले सोमबार घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशलाई २–१ ले पराजित गर्दै थ्री नेसन्स कप फुटबलको उपाधि जित्यो ।
८ खेलको गोलविहीन यात्रा टुङ्ग्याएको नेपालले १९८४ को पहिलो सागपछि घरेलु मैदानमा पहिलो पटक उपाधि जित्यो । नेपालका सफल कप्तान विराज महर्जनले यही खेल खेलेपछि सन्यासको घोषणा गरे ।
यो सबै खेलको एक पाटो रह्यो । सोमबारको खेलमा अर्को पाटो पनि थियो । त्यो हो, खेल अवधिभर दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति र खेलाडीहरुले लगाएको ‘केपी बा, वी लभ यू’ को नारा ।
‘केपी बा, वी लभ यू’
मन्त्रीहरुसहित रंगशाला पुगेका प्रधानमन्त्री ओलीले रेफ्रीलाई म्याच बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गरे । भीआईपी कक्षमा बसेर खेल हेरेका उनले नेपालले गोल गर्दा खुशी मनाए । खेल सकिएपछि पुरस्कार वितरण गरे । सन्यास लिएका खेलाडी विराजलाई ब्लेजर लगाएर बिदाइ गरे ।
अन्तिममा मैदानमै गएर नेपाली खेलाडीसँग बसेर सामूहिक फोटो खिचाए । फोटो खिचाउँदै गर्दा नेपाली टिमका सदस्यहरुले ‘केपी बा, वी लभ यू’ को नारा लगाए, जुन त्यहाँ उपस्थित धेरैका लागि अनपेक्षित थियो ।
साबिकको नेकपा दुई समूहमा विभाजित भएको बेला प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूहका कार्यकर्ताले ‘केपी बा, वी लभ यू’ को नारा लगाउन थालेका थिए । ओली जुन जुन कार्यक्रममा जान्थे, यही नारा लाग्थ्यो ।
तर मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीकै सदस्यहरुले पनि यो नारा लगाएका छन् ।
केही खेलाडीले त मेडल थाप्न प्यारापिटमा जाँदा पनि ‘केपी बा, वी लभ यू’ भनेको पाइएको छ । धेरै खेलाडी केपी ओलीको फ्यान रहेको र आफूलाई पनि मन परेर त्यसो भनेको राष्ट्रिय टिमका विंगर सुजल श्रेष्ठले बताए ।
मैदानमै पुगेपछि यो नारा अझै चर्को स्वरमा लाग्यो । कसले सुरु गर्यो भन्ने चाहिँ यकीन छैन । प्राप्त भिडियो फुटेजहरुमा रन्जित धिमाल, विशाल राई लगायतका खेलाडीले सुरुमा ‘केपी बा, वी लभ यू’ भनेको देखिन्छ । नारा लगाउन सहायक प्रशिक्षक राजेश मानन्धरले पनि अगुवाइ गरेको देखिन्छ ।
सही कि गलत ?
राष्ट्रिय टिमका खेलाडीहरुले ‘केपी बा, वी लभ यू’ भनेको भिडियो सामाजिक सञ्जाल भाइरल बनेको छ । कतिपयले यसको आलोचना समेत गरेका छन् ।
यसबारे राष्ट्रिय टिमका खेलाडीहरु बोल्न तयार छैनन् । कतिपयले ‘मैले त हो मा हो मिलाएको हुँ । सही वा गलत थाहा भएन’ भनेका छन् । ‘प्रधानमन्त्री आफैं मैदानमा आएर टिमलाई हौसला दिएपछि सम्मानस्वरुप त्यसो भनेको जस्तो लाग्छ । अब नारा लगाउने भनेर सल्लाह गरेर लगाएको होइन’ नाम उल्लेख नगर्ने शर्तमा एक खेलाडीले भने ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले यो विषय अनुशासन कमिटीभन्दा म्याच कमिसनरसँग जोडिने भन्दै प्रतिक्रिया नदिने बताए ।
फाइनल खेलका म्याच कमिसनर गोकुल थापा थिए । उनले भने मैदानबाहिरको विषय आफूलाई नसोध्न आग्रह गरे । ‘९० मिनेटभित्र कुनै जातजाति, भाषा लिङ्ग वा राजनीतिक विषयमा बोल्न पाइँदैन’ उनले भने, ‘त्यो खेल सकिएपछि भएको होला । यसबारे मलाई धेरै थाहा छैन ।’
प्रतिक्रिया 4