Comments Add Comment

‘प्रचण्डजी ! अहिले तपाईंसँग सेना र हतियार छैन’

१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आफ्नो निहित स्वार्थका लागि देशको राजनीति धमिल्याउन खोजेको आरोप लगाएका छन् । तर अहिले माओवादीसँग हतियार र लडाकु दुवै नभएकाले कोही पनि नडराउने उनको टिप्पणी छ ।

मंगलबार रिपोर्टस् क्लबको वार्षिकाेत्सव कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्डको चर्को आलोचना गरे । केही मान्छेले आफ्नो निहित स्वार्थका लागि देशको राजनीति धमिल्याउन खोजेको भन्दै उनले भने, ‘के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ?’

एमाले र माओवादीबीच एकीकरण गर्दा आधा आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति गरेको स्वीकार गरेका ओलीले प्रचण्डबाट असहयोग भएको बताए । पछि कार्यकारी अध्यक्ष हुने शर्तमा प्रचण्डले नै त्यो सहमति खारेज गरेको भन्दै उनले प्रश्न गरे, ‘आधा आधाको कागज बीचैमा च्यातेर कार्यकारी (अध्यक्ष) लेखाएको होइन ?

‘एउटा समय थियो म मात्र बोल्थेँ, मानिसहरु हतियार र लडाकुसँग डराउँथे’ उनले भने, ‘आज तपाईंका सो कल्ड सेना पनि छैनन्, हतियार पनि छैनन् । ती दिन त गए ।’

चैतमा महाधिवेशन गर्ने र आफू अध्यक्ष नहुनेभन्दा पनि प्रचण्डले पार्टीमा भाँडभैलो गरेको उनले टिप्पणी गरे । ‘माधव नेपाललाई तेस्रो अध्यक्ष हुनुस् भन्दा को–कोले उचालिदिए खान्न भन्नुभयो, सडकमा गएर प्रचण्डपछिको अध्यक्ष हुनुभयो’ उनले भने ।

नेकपा भन्ने पार्टीभित्रका व्यक्तिको घिनलाग्दो महत्वाकांक्षाका कारण अहिले मुलुकमा अस्थिरता आएको ओलीले बताए । केही मान्छेको तीव्र महत्वाकांक्षाका लागि आफूले प्रधानमन्त्री पद नछाड्ने भन्दै उनले भने, आज देशलाई संकट परेको छ भने तिनै मान्छेका कारण छ, कहाँ तानाशाही भएको छ ?’

महन्थको पार्टी मिलाइदिन मुद्दा हालौं ?

नेकपाको एकता खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताउने २३ फागुनको सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि प्रचण्डले निवेदन दिएकामा पनि ओलीले असन्तुष्टि जनाए । ‘पार्टी एउटै बनाएर दर्ता गर्न कसले रोकेको छ ? पार्टी मिलाइदिन अदालतमा निवेदन हाल्ने ?’ उनले भने ।

ओलीले अगाडि भने, ‘म पनि महन्थ (ठाकुर) जीको पार्टी मिलाइदिन अदालतमा मुद्दा हाल्छु ।’

उनले अघि भने, ‘प्रचण्डजी मिल्न खोजेको हो भने मिल्नुस् न, डबलीका भाषा बोलेर एकताको गफ दिने ? बेकारको उल्टापाल्टा कुरा गरेर नहिंड्नुस् ।’

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेपछि अर्काको नाममा पार्टी दर्ता गरेको भन्दै उनले त्यही नामका लागि ढिपी नगर्नसमेत प्रचण्डलाई आग्रह गरे । ‘अर्काको नाममा पार्टी दर्ता गर्ने ? उनले अघि भने, ‘उहाँले कुटे पनि हुने, मारे पनि हुने भएकाले बानी बिग्रियो, अब चल्दैन प्रचण्डजी, ती दिन गए ।’

विगतमा माओवादीसँग हतियार र लडाकू भएकाले मात्र धेरै मानिस डराएको उनले बताए । ‘एउटा समय थियो म मात्र बोल्थेँ, मानिसहरु हतियार र लडाकुसँग डराउँथे’ उनले भने, ‘आज तपाईंका सो कल्ड सेना पनि छैनन्, हतियार पनि छैनन् । ती दिन त गए ।’

उमेर ख्याल नगरी छेलो फाल्न खोज्दा कम्मर सड्किएको बुढो मान्छेको कथा सुनाउँदै ओलीले भने, ‘प्रचण्डजीलाई उमेर सम्झिन आग्रह गर्न चाहन्छु । उहिले सम्झिएर छेलो फ्याल्न नखोज्नुस्, ढाड सड्किन्छ । त्यो जमाना गयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment