Comments Add Comment

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई जनताको सुझाव

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सांसदलाई दिने रकम कटौती गर्न सर्वसाधारणले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सुझाव दिएका छन् । वर्षेनी थुप्रै मानिसको ज्यान जाने सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ बनाउन समेत जनताले अर्थमन्त्रीसमक्ष माग गरेका छन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार र वृद्धवृद्धाका लागि निःशुल्क उपचारको व्यवस्था गर्न समेत जनताले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणको चरणमा छ । अहिले अर्थमन्त्रालयले सरोकारवाला निकायबाट सुझाव संकलन गरिरहेको छ । सोहीक्रममा अर्थमन्त्री विण्णु पौडेलले सामाजिक संजालबाट समेत सुझाव माग गरेका छन् । जहाँ अधिकांश जनताले सिद्धबाबाको पहिरोग्रस्त क्षेत्रमा सुरुङ निर्माणको काममा बजेट छु्टयाउन माग गरेका छन् ।

भरत पाण्डे लेख्छन्, ‘हजारौंको ज्यान जोखिममा पार्ने सिद्धबाबाको सडक व्यवस्थापन र जनतालाई प्रत्यक्ष राहत हुने कार्यक्रम आउनुपर्‍यो मन्त्रीज्यू ।’ तारा प्रसाद भट्टराई सोध्छन्, ‘अर्थमन्त्री ज्यू सिद्धबाबा सुरुङमार्ग कहिलेबाट शुरु हुन्छ ? हरेक साल मानवीय क्षत भएको कुरा यहाँलाई अवगत नै छ ।’ विष्णु बराल लेख्छन्, ‘सिद्धबाबाको सुरुङमार्गलाई जसरी पनि बजेट छुट्याउनु होला, तपाईंका जीवनभरको सबैभन्दा ठूलो गुण हुनेछ ।’

आत्मनिर्भर कहिले बन्ने ?

जनताले भारतबाट आयात हुने वस्तुहरुमा नेपाल स्वयमः आत्मनिर्भर हुन सक्ने भएपनि त्यसतर्फ ध्यान दिन नसकेकोमा समेत सचेत बनाएका छन् । श्यामदास खरेलले कागज, मोटरको टायर, फलफूल, दूध, अन्न र तरकारीमा आत्मनिर्भर हुने गरी बजेट ल्याउन सुझाव दिएका छन् । उनले खैनी, चुरोट, गुट्खा, पान पराग र मदिराको आयातमा लाग्ने भन्सार शुल्क दोब्बरले बढाउन समेत अर्थमन्त्रीलाई सुझाव दिएका छन् ।

प्रेमराजले सुरक्षा निकायका कर्मचारी समस्यामा परेको भन्दै बजेट छु्टयाउन माग गरेका छन् । दीपेन्द्र पौडेलले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सुविधा नदिएको भन्दै त्यसको व्यवस्थापन गर्न समेत ध्यानाकर्षण गराएका छन् । शिव अधिकारीले वृद्धवृद्धालाई निःशुल्क उपचारको माग गरेका छन् । दिपेश गौडेलले विद्युतीय सवारी साधनमा लाग्ने कर घटाउन भनेको छन् । यसले प्रदूषण कम गर्ने उनको तर्क छ ।

चेतन पन्तले भैरहवा विमानस्थलको सिघ्र संचालनमा जोड दिएका छन् । दीपक भट्टराईले बन्द सरकारी संस्थान र उद्योग संचालनमा ल्याउने कार्यक्रम राख्न सुझाव दिएका छन् । अशोक श्रेष्ठले युवाउद्यमी र बेरोजगार ग्रामिण भेगका समस्या समाधान गर्ने गरी बजेट ल्याउन माग गरेका छन् । राज बरालले महाविरले संचालन गरेको आविश्कार केन्द्र र धुर्मुस सुन्तदीको नेतृत्वमा बन्न लागेको रंगशालाका लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment