Comments Add Comment

‘खर्च गर्न नसक्ने आयोजना बजेटमा नराख्नुहोस्’

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका सन्दर्भमा अर्थ मन्त्रालयले मन्त्रालयगत छलफल सुरु गरुेको छ । १५ चैतसम्म सिलिङ अनुसार बजेट प्रस्ताव माग गरेको अर्थले अब भने मन्त्रालयगत छलफल प्रारम्भ गरेको हो ।

सोही सिलसिलामा बिहीबार अर्थ मन्त्रालयले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेको छ । उक्त अवसरमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न मन्त्रालयलाई आग्रह गरे । उनले कार्यान्वयन गर्न नसक्ने कार्यक्रम बजेटमा राख्दा आर्थिक वर्षको अन्तिममा सरेन्डर गर्नुपर्ने बाध्यता हुने भन्दै यस्तो आग्रह गरेका हुन् ।

अर्थमन्त्री पौडेलले बहुवर्षिय योजनाहरुमा पनि जति खर्च गर्ने हो, त्यही अनुसार बजेट राख्न आग्रह गरे । सिलिङभित्र रहेर बजेट निर्माण गर्नु पर्ने सीमा रहेको बताउँदै उनले बजेट कार्यान्वयन गर्न सक्ने संयन्त्रलाई पनि ध्यान दिन जरुरी रहेको उल्लेख गरे । प्राथमिकताका आधारमा कार्यक्रम प्रस्ताव गर्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले अन्तरमन्त्रालयबीच समन्वयको आवश्यकता समेत औल्याए । उनले कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई बजेट र नीतिमार्फत सम्बोधन गर्ने आश्वासन समेत दिए ।

छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड-१९ बाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह गरे । अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले साना कार्यक्रम भन्दा संघीयताको मर्म र भावना अनुसार ठूला र विशेष कार्यक्रममा जोड दिनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment