Comments Add Comment

निलम्बनबारे सुरेन्द्र पाण्डेले भने : तानाशाहले गर्ने यही हो, प्रतिकार गर्छौं

१९ चैत, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बन गरेको पत्र पठाउँदा नेता माधवकुमार नेपाल र पाण्डे पोखरामा सँगै थिए ।

बिहीबार नै अगुवा कार्यकर्ता भेलामा नेता नेपालले आजभोलिमै ओलीले पाण्डेलाई पनि निलम्बन गरेको पत्र पठाउने बताएका थिए ।

‘म त उहाँको नजरमा निलम्बित भइसकें । आज आउँछ कि भोलि आउँछ । अब सुरेन्द्र पाण्डे पनि सदस्यबाट बर्खास्त हुने हो । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलाई हटाएर हट्ने कुरा हुन्छ,’ नेता नेपालले भने, ‘के त्यो (एमाले) केपी ओलीको निजी कम्पनी हो ?’

ओलीले ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको घोषणा भएपछि पोखराका नेता कार्यकर्तासँग नेपालले भने, ‘मैले भनेको होइन त कमरेडहरु । ओलीले गर्ने नै यही हो । पालैपालो सबैलाई निलम्बन गर्ने र आफू सर्वेसर्वा हुन्छु भन्ने छ । तर, हामी त्यसो हुन दिँदैनौं ।’

अगुवा कार्यकर्ता भेला सकिएलगत्तै नेता सुरेन्द्र पाण्डेले चाहिँ पोखरामा अर्को भेला बोलाएका थिए । गण्डकी प्रदेश सचिवालय र जिल्लाहरुमा कमिटी निर्माण गर्न जिम्मेवारी बाँडफाँट गर्न राखिएको भेलामा पाण्डेले आफूलाई निलम्बन गरेको थाहा पाए ।

‘ओलीले यो गर्छन् भन्ने थाहै थियो । पालैपालो यसै गर्दै जान्छन्, हामीलाई त्यसतर्फ कुनै चासो नै छैन । त्यसैले यसलाई ठूलो र गम्भीर रुपमा नलिनुहोला कमरेडहरु,’ पाण्डेको भनाइ उधृत गर्दै नेपाल समूहका कास्की अध्यक्ष धनराज आचार्यले भने, ‘हामीले देशैभरि कमिटी बनाउने हो र ओली समूहलाई ठक्कर दिने हो, ओली प्रवृत्तिलाई परास्त गर्ने हो ।’

नेता पाण्डेले गुटगत राजनीतिबाट आएका ओलीले पार्टी र कम्युनिस्ट आन्दोलन सिध्याउन लागेको भन्दै नआत्तिन आग्रह गरे । ओली सुरुदेखि नै पार्टी र पद्धतिभन्दा पनि गुट निर्माण गर्ने र रमाउने खालको प्रवृत्तिको मानिस भएको पाण्डेले बताए ।

गुट बनाउँदै आफू मातहतका मानिसलाई जम्मा गर्ने र बाहेकलाई तिकडम गरेर अप्ठेरोमा पार्ने, हटाउने, अपमानित गर्न खोज्ने ओलीको पुरानै प्रवृत्ति भएको नेता पाण्डेको भनाइ थियो ।

भेला सकिएपछि अनलाइनखबरसँग कुराकानी गर्दै नेता पाण्डेले ओलीको पूर्वनियोजित र पहिले नै तयार पारिएको योजना अनुसार आफूहरुलाई हटाइएको प्रतिक्रिया दिए । ओलीले कम्युनिस्ट आन्दोलन र एमालेलाई जबर्जस्ती विभाजन गर्ने काम गरिरहेको उनको भनाइ थियो ।

‘एमालेलाई छिन्नभिन्न र लथालिंग पार्ने श्रृङ्खलाकै नयाँ कडी हो, ममाथिको आजको निलम्बन,’ पाण्डेले अनलाइनखबरसँग कुराकानी गर्दै भने, ‘गुटबाट पार्टी कब्जा गर्ने काम ओलीजीबाट भयो ।’

पार्टीका इमान्दार क्रान्तिकारी कार्यकर्ता र आफू पनि ओलीको कदमबाट बिचलित नहुने पाण्डेले बताए । माधव नेपाल र भीम रावललाई कारबाही गरेको भनेपछि आफूहरुलाई पनि कारबाही गर्ने पूर्वानुमान रहेको पाण्डेको भनाइ थियो ।

ओलीको कदमको प्रतिकार गर्दै निरन्तर अगाडि बढ्ने पनि उनले बताए । पाण्डेले भने, ‘ओलीको स्वेच्छाचारी र तानाशाही कदमले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने काम गर्दैछ । ओलीजीले देश विदेशका प्रतिक्रियावादीहरुको पात्र बनेर जुन खालको काम गर्दैछन्, यसबाट सबै जना होसियार हुन जरुरी छ ।’

ओलीको प्रतिकार गर्न नसक्ने हो भने नेपालको कम्युनिस्ट आन्दोलन यस्तो थियो रे भन्ने दिन आउने पाण्डेको जिकिर गरे ।

‘गुटबाट उदाएर गुटकै रक्षा गर्दै आएका ओलीले नवौं महाधिवेशनमा गुटबाटै पार्टी कब्जा गर्नुभयो । फरक विचार राख्नेलाई पर्घेल्दै जानुभयो । उहाँ आलोचना मन पराउनुहुन्न । उहाँले प्रश्न रुचाउनुहुन्न । उहाँलाई पद्धति मन पर्दैन,’ पाण्डेले भने, ‘यसैको सिलसिला हो, हामीमाथिको कारबाही पनि । तर, यसको सशक्त प्रतिकार हुन्छ । हामी झक्दैनौं, झन् ऊर्जाका साथ अगाडि बढ्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment