Comments Add Comment

एनभीए क्लब लिग भलिबलमा आर्मीको सहज जित

२० चैत, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौ संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको पुरुषतर्फ खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सेटमा पराजित गर्‍यो । आर्मीले मणिमुकुन्दलाई २५-१७,२५-१४, २५-२१ ले पराजित गरेको हो ।

नेपाल भलिबल संघ एनभीएको आयोजनामा बिहीबार देखि सुरु भएको च्याम्पियनसिपको पहिलो दिनमै पुरुषतर्फ अर्को दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफले पनि जित हात पारेका छन् ।

पुलिसले नयाँबजार सामाजिक युवा क्लबलाई ३-० र एपीएफले बुलबुले रारा क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

यस्तै महिलातर्फ भएको उद्घाटन खेलमा न्यु डायमण्ड स्पोर्ट्स क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० ले सहजै पराजित गरेको थियो । च्याम्पियनसिपमा पुरुषतर्फ सात र महिलातर्फ ६ टिम सहभागि छन् ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, बुलबुले रारा क्लब, नयाँ बजार सामाजिक युवा क्लब र मणिमुकुन्द भलिबल क्लब छन् ।

महिलातर्फ एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, न्यु डायमण्ड स्पोर्ट्स क्लब, ढोरपाटन स्पोर्ट्स क्लब र भरतपुर मेट्रो खेलकुद परिषद छन् ।

लिग च्याम्पियनसिपको महिला र पुरुष दुवैतर्फको विजेताले ३ लाख पुरस्कार प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौथोले ३७ हजार ५ सय पाउनेछ ।

पहिलो दिनको खेलको नतिजा

महिलातर्फ- न्युडायमण्ड विरुद्ध ढोरपाटन : २५-६, २५-२, २५-५

पुरुषतर्फ- पुलिस विरुद्ध नयाँबजार : २५-९, २५-२१, २५-१६

एपिएफ विरुद्ध बुलबुले रारा : २५-२०, २८-२६, १८-२५, ३२-३०

आर्मी विरुद्ध मणिमुकुन्द : २५-१७, २५-१४, २५-२१

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment