Comments Add Comment

भैरहवामा प्रदेशस्तरीय यू-१६ क्रिकेट प्रतियोगिता सुरु

२२ चैत, बुटवल । लुम्बिनी प्रदेशस्तरीय यू–१६ क्रिकेट प्रतियोगिता भैरहवामा सुरु भएको छ । बलियो नेपालको आयोजनामा सिद्धार्थ रंगशालामा टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिम सहभागी छन् । पोषण र खेलकुदलाई सँगसँगै लैजाने उद्देश्यले पहिलो पटक लुम्बिनी प्रदेशस्तरीय यू–१६ टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको बलियो नेपालका कार्यकारी प्रमुख अतुल उपाध्यायले जानकारी दिए । प्रतियोगिताका लागि लुम्बिनी प्रदेशका विभिन्न विद्यालयबाट खेलाडीहरु छनौट गरिएको थियो । छनौट गरिएका खेलाडीहरुबाट प्रत्येक जिल्लाका १/१ टीम गरी १२ टीमले प्रतिस्पर्धा गरेका हुन् ।

प्रतियोगिताले सन् २०३९ मा हुने अन्डर–१६ विश्वकपका लागि राम्रा खेलाडी उत्पादनमा सहयोग पुग्ने नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्काले बताए । ‘तल्लो तहबाटै खेलाडी छनौट गरी राम्रो राष्ट्रिय टीम बनाउन यस किसिमका प्रतियोगिताले सहयोग पुग्ने हाम्रो विश्वास छ’, उनले भने ।

रुपन्देही र समग्र लुम्बिनी प्रदेशले राष्ट्रिय क्रिकेटको विकासमा ठूलो योगदान गरेको भन्दै खड्काले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन यहाँ हुने प्रतियोगिताले भूमिका खेल्ने बताए । रुपन्देहीबाट मात्रै राष्ट्रिय क्रिकेट टिममा रहेर ९० बढी खेलाडीले योगदान गरेका छन् ।
राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले जिल्ला–जिल्लामा लुकेका खेलाडीहरुको प्रतिभा बाहिर ल्याउन यस किसिमका प्रतियोगिताले थप सहयोग गर्ने बताए । सन् २०३९ मा हुने यू–१६ विश्वकप खेल्नका लागि अहिले भइरहेका प्रतियोगिताले टिम तयार गर्न र विश्वकटमा छनोट हुने उनले विश्वास व्यक्त गरे ।

पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनले खेलसँगै खेलाडीलाई पोषणको आवश्यक पर्ने भएकाले बलियो नेपालले पोषण र खेलकुदलाई सँगै बढाउने उद्देश्यले क्रिकेट आयोजना गर्नु राम्रो भएको बताए ।

शनिबार भएका दुई खेलमा दाङले प्युठानलाई १२६ रन र पाल्पाले नवलपरासीलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment