Comments Add Comment

राजेश हार्डवेयरको बालाजु शाखा सिल, शाखा प्रमुख पक्राउ

फाइल फोटो

२२ चैत, काठमाडौं । उपभोक्ता ठगीको आरोपमा बालाजुको राजेश हार्डवेयरका शाखा प्रमुख शुक्रबार प्रहरी हिरासतमा पुर्‍याइएका छन्। उपभोक्तालाई बिक्री गरिएको फलाम र डण्डीको तौलमा ठगी गरेको आरोपमा शाखा प्रमुख कमल शर्मालाई उनकै पसलका ग्राहकले नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त बालाजुमा बुझाएका हुन् ।

हार्डवेयरले बिक्री गरेको डण्डी र फलामको वास्तविक तौल बिलमा जनाइएको भन्दा फरक परेको वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले बताए । उनका अनुसार, शाखा प्रमुखलाई उपभोक्ताले ल्याएर बुझाएको जानकारी गराएपछि वाणिज्य विभागले हार्डवेयरको शाखा सिलबन्दी गरेको थियो । शाखा प्रमुख शर्मालाई पनि आइतबार विभागको जिम्मा लगाइएको उनले बताए ।

व्यवसायी सागरमल अग्रवालको राजेश हार्डवेयरका नेपालभर १८ वटा बिक्री केन्द्र छन् । तीमध्ये एक बालाजु शाखाबाट गरिने तौल ठगीबाट सबभन्दा पीडित साना ग्रिल तथा स्टिल्स व्यवसायीहरू थिए । उनीहरूले ग्रिल तथा स्टिल्स व्यवसायी संघ, काठमाडौंमा उजुरी गरेका थिए ।

शृंखलाबद्ध ठगीको उजुरी परेपछि शुक्रबार राजेश हार्डवेयरको बालाजु शाखा विरुद्ध ‘अप्रेसन गरेको’ संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र अर्यालले बताए । उनका अनुसार, शुक्रबार तीनजना ग्रिल व्यवसायीले राजेश हार्डवेयरमा फोन गरेर विभिन्न प्रकारका डण्डी र स्टिल अर्डर गर्दै ती सामान बिलसहित पठाइदिन भने । तीनवटा गाडीमा सामान आएपछि हार्डवेयरका कर्मचारीलाई राखेर तीनवटै ठाउँमा पुनः तौल गरेर ठगी प्रमाणित गरियो ।

त्यस क्रममा ग्रिल तथा स्टिल्स व्यवसायी संघका पदाधिकारी र उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अधिकारीलाई साक्षी राखिएको थियो ।‘बिलमा १०० किलो लेखिएको सामान जोख्दा ९० किलो मात्र भयो’ संघका वरिष्ठ उपाध्यक्ष अर्यालले भने, ‘९८ किलो भनिएको वस्तुको तौल ७८ देखि ८१ किलो मात्र भयो । त्यसपछि ती सामान बेच्ने बालाजु शाखा प्रमुखलाई पनि समातेर खरीद गरेको वस्तुसहित प्रहरीमा बुझायौं ।’

राजेश हार्डवेयरको बालाजु शाखामा ग्राहकले सामान किन्दा बाहिर सडकमा तौल गरेर भित्र अर्का कर्मचारीलाई चिट पठाइन्छ । उनले बिक्रीको विवरण रजिष्टरमा दर्ता गरेर बिल बनाउन नयाँ चिर्कटो कम्प्युटरमा पठाउँछन् । सामानको परिमाण र बिलमा फरक पार्ने हर्कत त्यही क्रममा गरेको पाइएको ठगिएका ग्रिल व्यवसायीहरू बताउँछन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शनिबार स्थलगत अनुसन्धान गरेर राजेश हार्डवेयरको बालाजु शाखा सिल गरेर सञ्चालकलाई २४ घण्टे पत्र काटिएको जनाएको छ । विभागका निर्देशक समेत रहेका प्रवक्ता शिवराज सेढाईंले हार्डवेयरले ठगी गरेको स्थलगत अनुसन्धानबाट पुष्टि भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment