२२ चैत, काठमाडौं। नेपाली कांग्रेसमा युवा नेता नैनसिंह महरले शिक्षा र स्वास्थ्य सरकारको स्वामित्वमा राख्ने विषय कांग्रेसको एजेन्डा बन्नु पर्ने बताएका छन्। नेविसंघ पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका नेता महरले शिक्षा र स्वास्थ्य जस्तो जनसरोकारको ठूलो विषय सरकारको स्वामित्वमा पर्न नसक्नु दु:खद् विषय भएको बताए।
‘नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादको अवधारणा कार्यान्वयन गर्न पनि शिक्षा र स्वास्थ्य जस्तो गम्भीर विषय राज्यकै मातहतमा रहनुपर्छ’, नेपाल शिक्षक संघको संघिय शिक्षक प्रतिनिधि सभाको बन्द सत्रमा बोल्दै नेता महरले भने, ‘ शिक्षा र स्वास्थ्य राज्यको मातहतमा रहेमात्रै दुई खाले नागरिक उत्पादन हुने समस्या निराकण हुन्छ। नत्र सधै यो समस्या यस्तै विकराल रहन्छ।’
७७ जिल्लाका करिब ७ सय बढी प्रतिनिधि र नेपाली काँग्रेसका पदाधिकारी,केन्द्रीय सदस्य समेत उपस्थित रहेको कार्यक्रममा नेता महरले नेकपा सरकारको तीन वर्षे कार्यकालका बारेमा लेखिएको आफ्नो पुस्तक ‘महाकाण्ड’ हस्तान्तरण गरेका थिए ।

अहिले गरिब जनताको पहुँचमा शिक्षाा र स्वास्थ्य आकासको फल जस्तै भएको र सबैका लागि स्तरिय शिक्षा उपलब्ध न हुँदा दुइ खाले नागरिक उत्पादन भइरहेको उनको तर्क छ। शिक्षा र स्वास्थ्य जनताको सहज पहुँचमा पुग्न नसकेकै कारण खराव मनोवृत्ति मौलाएको नेता महरको टिप्पणी छ।
‘अहिले पनि शिक्षकका दु:ख उस्तै छन्। मासिक तलवले परिवार धान्न सक्ने अवस्था छैन।शिक्षकलाई सामान्य आधारभूत आवश्यकता पूर्ति गर्न पनि धौं-धौं हुने गरेको छ’, महले भने, ‘मनमा परिवार कसरी धान्ने भन्ने चिन्ता भएपछि शिक्षकले कसरी राम्रो शिक्षा दिन सक्छ ? ‘
उनले राज्यले शिक्षकका आधारभूत आवश्यकता पूरा हुने गरी सेवा सुविधा थप्नुपर्ने बताए। राज्यले आवश्यकता पूरा गरे शिक्षकले पनि गुणस्तरिए शिक्षामा जोड दिनुपर्ने उनको तर्क छ।
नेता महरले वर्तमान सरकार शिक्षा क्षेत्र तहसनहस गर्न लागि परेको आरोप लगाएका छन्। ‘तीन वर्षमा सरकारले शिक्षा क्षेत्रमा माफियाहरूको हालिमुहाली गरायो। पार्टीको घोषणा पत्रमा २० प्रतिशत बजेट छुट्याउने भनेकोमा ११ प्रतिशत मात्रै छुट्यायो।
उच्चस्तरीय शिक्षा आयोगको रिपोर्ट प्रधानमन्त्री ले लुकाएर राखेको र बिद्यार्थी को पढाईका बारेमा सरकारले ठोस योजना ल्याउन नसकेका कारणबाट सरकारको उदासिनता प्रष्ट हुन्छ’, उनले भने। सरकारको उदासिनताकै कारण कोरोना महामारीमा जनता पिल्सिएको उनको आरोप छ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4