Comments Add Comment

किरण चेम्जोङ बने एसियामा साताको उत्कृष्ट खेलाडी

२३ चैत काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् ।

एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार एएएफसी इन्टरनेसनल प्लेअर अफ दी विकमा किरणसहित १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । त्यसमा ९ खेलाडीलाई पछि पार्दै किरण विजेता बनेका हुन् ।

यसरी मनोनयनमा पर्ने किरण नेपालकै पहिलो खेलाडी थिए भने उपाधि जित्ने पनि पहिलो खेलाडी बनेका छन् ।

एएफसीको वेबसाइटमा मतदान बन्द भएको जनाइएको छ । जसमा किरणले ५५.६९ प्रतिशत मत ल्याउँदै ‘एएफसी प्लेयर अफ दी विक’ बन्न सफल भए । दोस्रो स्थानमा रहेका साउदी अरेबियाका सलेह अल–सेहेरीले २०.७२ प्रतिशत मत पाए । इराकका अल अली हवई तेस्रो हुँदै १०.१६ प्रतिशत मत पाए ।

किरणले एसियाकै साताको उत्कृष्ट खेलाडीको अवार्ड जित्नु खुसीको विषय भएको जनाएका छन् । ‘यो वर्ष मेरो लागि भाग्यमानी सावित भएको छ । म एकदमै गौरवान्वित छु । नेपालको इतिहासमै यो पहिलो पटक मनोनयनमा परेको र जितेको हो । यो हाम्रो लागि उपलब्धि हो र गर्वको क्षणसमेत हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,’ सँगै मिलेर काम गरे जे पनि सम्भव छ भन्ने उदाहरण हो । मतदानका लागि विशेष धन्यवाद । यो मेरो लागि धेरै हो । सबैलाई माया र समर्थनका लागि धन्यवाद । राष्ट्रलाई गर्व गराउन म अझै कडा मिहिनेत गर्नेछु । सबैलाई माया ।’

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा सोमबार सम्पन्न थ्री नेसन्स कपमा नेपालले उपाधि जित्दा किरण कप्तान थिए । उनको कप्तानीमा नेपालले पहिलो उपाधि जितेको हो । जसमा तीन खेल खेल्दा किरणले दुई क्लिनसिट राखे भने एक गोल मात्र व्यहोरे ।

प्लेअर अफ दी विकको मनोनयनमा किरणसँगै ताजिकिस्तानका एलिसेर जाहालिलोभ, जोर्डनका मुसा अल तामारी, बहराइनका मोहमेद मरहुन,  इराकका अला अली महावी, साउदी अरेबियाका सलेह अल सेहरी,  इरानका सरदार अज्मोउन, जापानका युया ओसाका, कतारका मोहमेद मुन्तारी र युएईका अली मब्खोतुन परेका थिए ।

सन् २०१९ देखि गोल नगरेको अवस्थामा आइपुगेको नेपालले थ्री नेसन्स कपमा बंगलादेशलाई २–१ ले हराएर उपाधि जित्यो । त्यो सफलताको केन्द्रमा गोलकिपर तथा कप्तान किरण चेम्जोङ रहे, जसले तीन खेलमा एक गोल मात्रै खाए र थ्री नेसन्स कपको उपाधि जित्दै पूर्व कप्तान विराज महर्जनको बिदाइ भव्य बनाइदिए,’ एएफसीले लेखेको थियो ।

केही दिनअघि मात्रै किरण भारतको आइलिगमा उत्कृष्ट गोलकिपर घोषित भएका थिए । राउण्डग्लास पञ्जाबका लागि १४ खेल खेलेका उनले ७ खेलमा क्लिनसिट राखेका थिए ।

यस्तै उनी यस सिजनको आइ लिग टिम अफ दि सिरिजमा पनि पर्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment