Comments Add Comment

पहिल्याउनुपर्छ, आफ्नो बच्चाको खुवी र रुचि के हो ?

बच्चा के चाहन्छन् ? बच्चा के कुरामा खुसी हुन्छन् ? हामी चासो राख्दैनौं  । बच्चाको खुबी के हो ? हामी सोध्दैनौं । त्यसैले बच्चालाई उनीहरुको रुची, क्षमता भन्दा अरु कुरामा हामीले जोड दिन्छौं । नतिजा, बच्चाले अपेक्षित सफलता हासिल गर्दैनन् । साथसाथै उनीहरुसँग भएको प्रतिभा पनि उजागर हुन पाउँदैन ।

अभिभावकको चाहन्छन्, ‘मेरो बच्चाले धेरै पढोस् । राम्रो जागिर पायोस् । भविष्य सुरक्षित होस् ।’ शिक्षक चाहन्छन्, ‘आफुले पढाएको विद्यार्थीले राम्रो अंक हासिल गरोस्,  ताकि मेरो पदोन्नती  हुनसक्छ । विद्यालयको ब्रान्ड भ्यालु बढ्छ ।’

हरेक शैक्षिक संस्था भन्छ, मेरो रिजल्ट राम्रो छ । मेरो पढाई राम्रो छ । मैले पढाएको विद्यार्थीले टप गरेको छ । तर, त्यसपछि कुरा उसले भन्दैन । किनभने विद्यालयको भूमिका पनि त्यती नै । अर्थात निश्चित परीक्षाहरुमा पास गराउनु । परीक्षामा उत्कृष्ट अंकका साथ पास गराएपछि विद्यालयको दायित्व पुरा हुन्छ ।

खासमा विद्यालयले लागि यस्तो आधार तय गर्नुपर्ने हो, जहाँ टेकेर बच्चाले आफ्नो क्षमता, खुबीलाई थप निखार्न सक्छन् । उनीहरुको आफ्नो बुद्धि, विवेक, क्षमताको विकास हुन्छ र त्यसकै उपयोगबाट भोलिका दिनमा केही गर्न समर्थ हुन्छन् । तर हाम्रो विद्यालय शिक्षाले बच्चाको समग्र विकासमा भन्दा पनि नतिजामा  ध्यान दिन्छ । त्यही कारण बच्चाहरु रिजल्टको पछाडि दौडन्छन् ।

अभिभावक चाहन्छन्, आफ्नो बच्चाले परीक्षामा उत्कृष्ट अंक हासिल गरोस् । यसको अर्थ के भने हामी बच्चालाई प्रमाणपत्रका लागि पढाइरहेका छौं । विद्यालयले भन्ने गरेका छन्, ‘हामीकहाँ पढेपछि विश्व बजारमा बिक्ने प्रमाणपत्र प्राप्त हुन्छ । तपाईं जहाँ पनि रोजगारका लागि आवेदन दिन सक्नुहुन्छ ।’

यसरी प्रमाणपत्रको चक्करमा लागिरहँदा हामीले बालबच्चालाई जीवनोपयोगी वा व्यवहारिक शिक्षा दिन छुटाउँछौं । उनीहरुको लागि जुन शिक्षा दैनिक जीवनमा वा व्यवहारमा काम आउँछ, त्यसबाट वञ्चित गराउँछौं ।

उनीहरुको क्षमता के छ, के कुरामा रुची छ, के बन्न चाहन्छ, कस्तो जीवनमा रमाउन चाहन्छ भन्ने कुरालाई हामी ध्यान दिदैनौं । जबरजस्ती पुस्तकको पाठ घोकाएर प्रमाणत्रको दौडमा मिसाइदिन्छौं । बच्चालाई शिक्षा दिनु भनेको ज्ञानी बनाउनु मात्र होइन । सक्षम र उत्तरदायी नागरिक बनाउनु पनि हो । भोलि गएर उसले सहज रुपमा आफ्नो जीवन व्यतित गर्न मात्र होइन अरुको मद्दत गर्न पनि सकोस् । अरुको मुहारमा खुसी ल्याउन सकोस् । तर, के तपाईं-हामीले बच्चालाई यस किसिमको वातावरण दिएका छौं ?

हरेक बच्चाको आ-आफ्नै खुबी हुन्छ । क्षमता हुन्छ । त्यसलाई पहिचान गरेर त्यसलाई कसरी फलाउने, फुलाउने भन्ने कुरामा हामीले सहयोगी भूमिका खेल्ने हो ।

सबै बच्चा एकनास हुँदैनन् । सबैले एउटै कुरालाई एकै हिसाबले बुझ्दैनन् । उनीहरुको सोचाईं, बुझाईं, ग्रहण गर्ने क्षमता पनि एकनास हुँदैन । बच्चाहरुको यी भिन्न भिन्नै प्रवृत्तिलाई बुझेर सही ढंगले उनीहरुको क्षमता विकास गराउनका लागि हामीले सहयोग गर्नुपर्छ । किनभने कुनैपनि बच्चा आफैमा कमजोर हुँदैनन् । कमजोर त हाम्रो परीक्षा प्रणालीले देखाउने हो । प्रमाणत्रले देखाउने हो । तर वास्तवमा बच्चा कमजोर हुँदै हुँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment