Comments Add Comment

कोरोनाको दोश्रो लहरको असरः स्थगित हुँदै स्टेज कार्यक्रम, अन्यौलमा कलाकार

विश्वभर फैलिएको कोरोना महामारीको असर मनोरञ्जन बजारमा सर्वाधिक परेको देखिन्छ । अन्य व्यवसायकहरु लयमा फर्किएपनि मनोरञ्जन क्षेत्रले अझै बलियो गती लिन सकेको छैन । नेपालमा पनि गतबर्षको चैत्र ११ गतेबाट लकडाउन भएपछि अन्य क्षेत्र जस्तै मनोरञ्जन क्षेत्र सुनसान बन्यो । गीत रेकर्डिङ, म्युजिक भिडियो निर्माणदेखि स्टेज कार्यक्रमहरु ठप्प थिए । यसले स्टेज कार्यक्रममै आश्रित बनेका कलाकारहरुको आम्दानीमा ठूलो असर पर्यो ।

तर, कोरोना महामारी विस्तारै कम हुँदै गएपछि अन्य क्षेत्र जस्तै स्टेज कार्यक्रमले पनि गती लिन थालेको थियो । कलाकारहरु स्टेज कार्यक्रममा व्यस्त हुन थालेका थिए ।

स्टेज कार्यक्रमले लय समात्दै गर्दा कोरोनाको दोस्रो लहरको त्रास सुरु भएको छ । जसले, धेरै स्टेज कार्यक्रमहरु स्थगित हुन थालेको कलाकारहरु बताउँछन् । कोरोनाको त्रास पुनः बढेसँगै तय भएका कतिपय स्टेज कार्यक्रम स्थगित हुन थालेको गायक पशुपति शर्माले अनलाइनखबरसँग बताए ।

‘धादिङ, नेपालगञ्ज, नवलपरासी लगायतका स्थानमा तय भएका कार्यक्रमहरु स्थगित भए, पशुपतिले अनलाईनखबरसँग भने–‘तय भएका केही कार्यक्रमहरु छन् । तर, ति कार्यक्रमहरु पनि हुने हुन् कि होइनन् भन्ने अन्योल छ ।’
अब, त माहोल लयमा फर्किएको भनेर उत्साहित भएपनि दोश्रो चरणको कोरोनाले अन्यौलता थपेको पशुपतिले बताए ।

यस्तै, गायिका मेलिना राईले पनि कोरोनाको दोस्रो लहरको त्रासले लयमा फर्किदै गरेको स्टेज कार्यक्रममा अन्यौलता थपेको बताईन् । उनका पनि तय भएका दुईवटा स्टेज कार्यक्रमहरु स्थगित भैसकेका छन् । गत सोमबारमात्रै चितवनको ठोरीमा तय भएको स्टेज कार्यक्रम स्थगित भएको मेलिनाले बताइन् ।

गायक खुमन अधिकारीका पनि तय भएका तीनवटा स्टेज कार्यक्रम स्थगित भैसकेका छन् । तय भैसकेका कार्यक्रम पनि हुने हुन् कि होइनन् भन्ने आशंका बढेको खुमनले बताए ।

गायिका प्रीति आले झण्डै एक वर्षपछि स्टेज कार्यक्रममा फर्किएकी थिइन् । स्टेज कार्यक्रममा प्रितीको राम्रो डिमाण्ड छ । तर, कोरोनाको दोश्रो चरणको लहर बढेपछि केही कार्यक्रम स्थगित भएको प्रितीले बताइन् । केही कार्यक्रम पछाडि धकेलिएको उनको तर्क छ ।

प्रीतिले भनिन्–‘होलीमा तय भएको कार्यक्रम स्थगित भयो । नयाँ वर्षको अवसरमा काठमाडौं महानगरपालिकाले स्टेज कार्यक्रमको तय गरेको थियो । त्यो पनि स्थगित भएको छ ।’ तय भएका केही कार्यक्रम पनि के हुन्छ भन्न नसकिने अवस्था रहेको प्रीतिले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment