Comments Add Comment

प्रभु साह भन्छन् – सांसदलाई पदमुक्त गर्ने प्रचण्डको निर्णय प्रतिगामी

२५ चैत, काठमाडौं । सहरी विकासमन्त्री प्रभु साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने निर्णयलाई लोकतन्त्रको उपहास भनेर टिप्पणी गरेका छन् ।

माओवादी केन्द्र त्यागेर एमाले (ओली समूह)बाट मन्त्री बनेका साहसहितका नेतालाई माओवादी केन्द्रले सांसद पदबाट हटाउने निर्णय गरेपछि उनको सो भनाइ सार्वजनिक भएको हो ।

साहले बुधबार फेसबुकमा लेखेका छन्, ‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले साहसहित लेखराज भट्ट र गौरीशंकर चौधरीले दल त्यागेकाले उनीहरुलाई सांसद पदबाट हटाउन संघीय संसद सचिवालयमा पत्राचार गरेका थिए ।

एमालेसमेतको मतबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दल त्यागको कानुनी डण्डा चलाउन नसुहाउने साहको धारणा छ । उनले लेखेका छन्, ‘आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता/सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख्नेहरूले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन ।’

साहले थप लेखेका छन्, ‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन् ।’

सांसदहरुमाथि हमलाको दुष्प्रयास गरिएको भन्दै उनले त्यसलाई प्रतिगामी कार्यको संज्ञासमेत दिएका छन् ।

‘अहिलेकै संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक/कानुनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुष्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो,’ मन्त्री साहले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment