
२५ चैत, काठमाडौं। दुबईमा न्यूड फोटोसुट गराएको आरोपमा प्रहरीले ११ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युक्रेनी महिलाहरु रहेको त्यहाँस्थित युक्रेनी वाणिज्य दूतावासलाई उद्धृत गर्दै बीबीसीले जनाएकाे छ ।
युक्रेनी वाणिज्य दूतावासका अनुसार एक दर्जन महिलाहरु दुबईको मरिना इलाकाको बालकोनीमा न्यूड फोटोसुट गराइरहेका बेला उनीहरुलाई प्रहरीले हिरासतमा लिएको हो ।
दुबईमा सार्वजनिक नग्नताको उल्लंघन गरेमा ६ महिना कैद तथा ५ हजार दिराम जरिवाना हुने व्यवस्था छ । युएईको धेरै कानुन सरिया कानुनमा आधारित हुन्छन्। साथै मानिसहरुले सार्वजनिक स्थानमा प्रेम व्यक्त गरे वा समलिङ्गी सम्बन्ध प्रदर्शन गरे जेलको सजाय भोग्नुपर्ने हुन्छ ।
युएईमा भएकाे याे घटना पहिलाे हाेइन
कुनै पनि सार्वजनिक स्थानमा अश्लील सामग्री या त्यस्तो कुनै सामग्रीले सार्वजनिक रुपमा नोक्सान वा अभद्र भएमा त्यस्तो गर्ने व्यक्तिलाई जेल र जरिवाना दुवै हुने दुबई प्रहरीले पहिले नै चेतावनी दिंदै आएको छ ।
दुबई प्रहरीले आफ्नो बयानमा भनेको छ, ‘त्यस्तो प्रकारको अस्वीकार्य व्यवहारले अरब समाजको मूल्य र मान्यतालाई दर्शाउँदैन। त्यसले नैतिकता पनि देखिँदैन।’ प्रहरीका अनुसार दुबईमा बस्ने र घुम्न आउने पर्यटकमा समेत यो नियम लागू हुन्छ । त्यसमा कुनै पनि पर्यटकलाई गलत क्रियाकलाप गर्ने छुट नभएको प्रहरीको भनाइ छ ।
यसअघि पनि दुबईमा घुम्न आउने हाई-प्रोफाइलका पर्यटकलाई प्रहरीले हिरासतमा लिएको थियाे। सन् २०१७ मा एक बेलायती महिलाले एक व्यक्तिसँग शारीरिक सम्पर्क गरेको आरोपमा एक वर्षको जेल सजाय भोग्नुपरेको थियो ।
प्रतिक्रिया 4