+
+

मध्य तराइमा गहुँ बालीको सिन्दुरे रोगबारे अध्ययन

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २६ गते १८:४७
फाइल तस्वीर

२६ चैत, वीरगञ्ज । गहुँबालीमा लाग्ने सिन्दुरे रोगबारे नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को विज्ञ टोली हाल मध्य तराईका पर्सा, बारा र रौतहट जिल्लामा छन् ।

कृषि अनुसन्धान निर्देशनालय प्रदेश–२ बाराका प्राविधिक अधिकृत राजेन्द्र यादवका अनुसार बाराको कोल्हवी, बरियारपुर, डुम्बरवाना, पर्साको सोलखपुर र रौतहटमा पनि अध्ययन भएको छ ।

अध्ययनका क्रममा गुणस्तरहीन बीउमा बढी रोग लागेको देखिएको छ । सिफारिस गरिएका सिन्दुरेरोग प्रतिरोधी जातको बीउ नलगाउँदा पनि बालीमा समस्या देखिएको उनी बताउँछन् । सिन्दुरे रोगले गहुँ बालीमा २५ देखि ३० प्रतिशतसम्म क्षति पुर्‍याउँदै आएको अनुमान कृषि विज्ञको छ ।

प्रदेश २ मा धान पछिको दोस्रो मुख्य बालीमा गहुँ पर्छ । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार आठवटै जिल्लामा गरी १ लाख ७४ हजार १ सय ५१ हेक्टर जमिनमा गहुँ खेती हुने गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा प्रति हेक्टर ३ दशमलव ३५ मेट्रिक टन गहुँ उत्पादन भएको देखिन्छ ।

के हो सिन्दुरे रोग ?

पातमा सिन्दुरको थोपाजस्तो देखिने रोगलाई ‘सिन्दुरे रोग’ भनिन्छ । ढुसीबाट लाग्ने यो रोग लागेपछि प्रकाश संश्लेषण प्रक्रियामा अवरोध पुर्‍याउँछ, पातले खाना बनाउन पाउँदैन ।

जसले गर्दा गहुँको उत्पादन प्रक्रियामा नै असर पारिदिन्छ । बोट नै सुकेर जान्छ । बेर्ना अवस्थादेखि बोटको बस्यक अवस्थासम्म यसले आक्रमण गर्छ ।

कालो, खेरो र पहेँलो गरी तीन किसिमको सिँन्दुरे रोग नेपालमा देखिएको छ । कालो र खैरो तराईमा बढी देखिन्छ भने पहेँलो पहाडमा बढी देखिने गरेको कृषि विज्ञहरु बताउँछन् ।

ठीक समयमा गहुँको बीउ छर्ने, रोग प्रतिरोधी भनी सिफारिस गरिएका गहुँका जात लगाउने, मलखादको सन्तुलित प्रयोग गरेर उचित सिञ्चाइको व्यवस्था गर्ने हो भने प्रकोपबाट वच्न सकिने कृषि प्राविधिक यादव बताउँछन् ।

‘तराइमा ९४ प्रतिशत किसानले नार्कबाटै सिफारिस गरिएको जातकै गहुँ लगाउँछन्’ उनले भने ‘तर कतिपय किसानले भारतबाट पनि बीउ ल्याएर छरेको देखिन्छ, जसले गर्दा रोगको प्रकोप देखिन्छ ।’

उनले सिन्दुरे रोगको प्रकोप देखिए कृषि प्राविधिकको सल्लाह अनुसार उपचार गर्नुपर्ने बताए । विजय, आदित्य, भृकुटी, वाणगंगा, गौतम, एनएल ९७१, बीएल ४३४१ यसअघि नै सिफारिस गरिएका जात हुन् ।

जिंक गहुँ १ र जिंक गहुँ २ सिफारिस गरिएका नयाँ जात हुन् । जिंक र आइरनको मात्रा बढी हुने हुँदा यो गहुँको पिठो गर्भवतीको पोषण सुरक्षा सुधार गर्न उपयुक्त मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?