Comments Add Comment

‘हरेक स्थानीय तहले दमकल राख्नुपर्छ’

आपतकालीन अवस्थामा अग्नि नियन्त्रण तथा उद्धार गर्ने सवारी साधन हो, दमकल । त्यसमा आगलागी नियन्त्रण तथा उद्धारका लागि आवश्यक पर्ने विभिन्न यन्त्र, उपकरण, पानी र केमिकलसहितका सामग्री राखिएका हुन्छन् । अन्तर्राष्ट्रिय विपत्को ‘कलर कोड’ अनुसार रातो रंग लगाइएका विभिन्न किसिमका बत्ती र साइरन जडित सवारी साधनलाई हामी दमकल भनेर बुझ्छौं ।

अहिलेको अवस्थामा दमकलको महत्व कति छ भनेर मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन । यो आपतकालीन मानवीय सेवा प्रवाह गर्ने महत्वपूर्ण सवारी साधन हो । आगलागी र उद्धार कार्यमा प्रत्येक सेकेण्डको भूमिका महत्वपूर्ण हुन्छ । एक सेकेण्ड अघि गएर गरेको उद्धारले ठूलो क्षति रोक्न सक्छ । त्यसैले यो सवारी साधनको एकदम जरूरी छ र यो आफैं महत्व प्रमाणित भएको साधन हो ।

नेपाल जस्तो मुलुकमा अग्नि नियन्त्रणका लागि दमकलविनाको परिकल्पना नै नगरे हुन्छ । नेपालको परिप्रेक्ष्यमा जंगल आगलागीको विषय फरक पाटो हो । यद्यपि, त्यसका लागि पनि छुट्टै किसिमको दमकल हुन्छ ।

शहरभित्र चलाइराखिएका जुन दमकलहरू छन्, तीविना शहरी आगलागी नियन्त्रण कल्पना पनि गर्न सकिन्न । भलै मानिस मिलेर कतिपय ठाउँमा आगो निभाइएला तर, त्यहाँ आगो निभाउने काम मात्रै हुन्छ, क्षति न्यूनीकरण गर्न सकिंदैन ।

आगलागी नियन्त्रणमा दमकल सबैभन्दा प्रभावकारी छ । हामीसँग अहिले जुन खालका दमकलहरू छन्, ती आधुनिक र अन्तर्राष्ट्रियस्तरमा प्रयोग हुने खालका भने छैनन् । नेपालमा प्रयोग हुने दमकलमा न्यूनतम सुविधा मात्रै छन् । त्यसैले बरु आधुनिक प्रविधियुक्त दमकलको खरीदमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।

सबै स्थानीय तहले दमकल राख्नैपर्छ । यो मैले मात्र भनेको होइन, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ नै ७५३ वटा स्थानीय तहमै दमकल राख्नुपर्छ भनेर बोलेको छ । कानूनले नै दमकल राख्नुपर्ने व्यवस्था गरेपछि स्थानीय तहले आफ्नो क्षेत्रभित्र आगलागी नियन्त्रण गर्नका लागि दमकल नराखी हुँदै हुन्न ।

नेपालको पहिलो दमकल सेवा

जुद्ध बारुण यन्त्र कार्यालय, नेपालको सबैभन्दा पहिलो दमकल सेवा हो । यो १९९४ सालमा स्थापना भएको हो । ९ भदौ २०६५ मा मन्त्रिपरिषद्ले निर्णय गरे अनुसार यो अहिले काठमाडौं महानगरपालिकामा हस्तान्तरण भएर सञ्चालनमा छ ।

कुनै ठाउँमा आगलागी भएको फोन आउनुअगावै दमकल तयारी अवस्थामा राखिएको हुन्छ । फोन आइसक्दा दमकल निस्किसक्छ । काठमाडौंको हकमा ढिलो ‘मूभ’ हुने समस्या छैन । आगलागीमा हामी पहिलो ‘रेस्पोन्डर’ हौं, आगलागी भएको ठाउँमा पुगिसकेपछि आवश्यकता अनुसार नजिकैका स्थानीय तहसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल बोलाउँछौं । जिल्लातिरको हकमा दमकल पुग्न ढिलाइ भयो भन्ने सुनेका छौं । यसमा सुधार हुनुपर्छ ।

अग्ला भवनहरूमा आगो लागे नियन्त्रणका लागि ठूलो समस्या हुन्छ । २०/२२ तलासम्मका भवनहरू बनेका छन्, थप पनि बन्ने क्रममा छन् । तर, काठमाडौंको जुद्ध बारुण यन्त्र कार्यालय युनिटसँग मुश्किलले १० तलासम्मको मात्रै आगलागी नियन्त्रण गर्न सक्ने उपकरण छ

अन्तर्राष्ट्रिय रूपमा ‘फायर ब्रिगेड’ को छुट्टै ‘युनिट’ हुन्छ । त्यो २४सै घन्टा तयारी अवस्थामा बस्छ र अग्नि नियन्त्रण तथा उद्धारको कार्य गर्छ । यो युनिटको सञ्चालन र प्रयोग प्रहरी, सेनाको जस्तो अनुशासनमै बसेर काम गर्ने संस्थाको रूपमा हुनुपर्छ । हामीकहाँ पनि त्यही अभ्यास छ ।

तर, विभिन्न जिल्लामा चाहिं भर्खरै स्थानीय तहको अभ्यास भइरहेको अवस्थामा अलिकति समस्या पनि देखिएको छ । संस्थागत विकास भइनसकेकाले पनि त्यस्तो भएको हुनसक्छ । विस्तारै अनुभवबाट सिकेर पनि यसमा परिवर्तन ल्याउन सकिन्छ ।

बारुण यन्त्रलाई एउटा छुट्टै युनिटको रूपमा राखेर सेवा प्रवाह गरे प्रभावकारी हुन्छ । दमकलका लागि छुट्टै ऐन, कानूनको पनि आवश्यकता छ, कानून भए दमकल र त्यहाँ काम गर्नेलाई अझ बढी जिम्मेवार बनाउन सकिन्छ ।

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले चाहिं दमकल सञ्चालन सम्बन्धी केही कुराहरू बोलेको छ । त्यस अगाडि दमकल सञ्चालनका सम्बन्धमा कुनै ऐन, कानून नै थिएन । अहिले कम्तीमा स्थानीय तहले दमकल सेवा सञ्चालन गर्नुपर्ने भन्ने छ । अब दमकल सञ्चालन सम्बन्धी नियम र आचारसंहिता पनि बनाउनु जरूरी छ ।

कुन मापदण्डको दमकल ल्याउने भन्ने विषयमा पनि गाइडलाइन हुनुपर्छ । शहर, ग्रामीण भेग, जंगल क्षेत्रमा आगलागी नियन्त्रणमा छुट्टाछुट्टै खाले दमकलको प्रयोग हुनुपर्छ । दमकल खरीद गर्दा पनि त्यसमा चाहिने के–के विषय राख्ने भन्नेमा संघ, प्रदेश र स्थानीय सरकारले मापदण्ड तोक्नु जरूरी देख्छु ।

दमकल सञ्चालन गर्ने छुट्टै युनिटको व्यवस्थापन, ‘फायर फाइटर’ हरूलाई तालिम, पाठ्यक्रमको विकासलगायत विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ । नियमित रूपमा अग्नि नियन्त्रकलाई कसरी परिचालन गर्ने भन्ने पनि अहिलेसम्म स्पष्ट खाका छैन । यस सम्बन्धी ज्ञान नहुँदा अहिले कतिपय नगरपालिकाले ल्याएका दमकल त्यसै थन्किएर बसेका छन् ।

अर्को कुरा हामीकहाँ एउटा सामान्य सुरक्षा गार्डको पनि छुट्टै ‘ड्रेस कोड’ हुन्छ । तर, ‘फायर फाइटर’ हरूको कुनै ‘ड्रेस कोड’ छैन । आगोमा काम गर्ने हुुनाले हामीले विभिन्न खाले लुगा लगाएका हुन्छौं, तर सबैतिर समानता हुने गरी अब यस सम्बन्धी मापदण्ड नै तोक्नुपर्छ ।

आगो नियन्त्रणका सीमितता

हामीकहाँ आगो नियन्त्रणमा धेरै समस्या छन् । पहिलो त सबै ठाउँमा सुविधा भएका दमकल छैनन् । त्यस्तै जनशक्ति खटाउने ऐन, नियम निर्देशिकाहरू छैनन् । अग्नि नियन्त्रकलाई तालिम दिने विद्यालय छैनन् । सीमित ज्ञान र सीपको भरमा यति ठूलो जिम्मेवारी पूरा गर्न बाध्य छन् अग्नि नियन्त्रकहरू ।

प्रविधि र ज्ञानका कारण नयाँ–नयाँ खालका भौतिक संरचनाहरू बनिरहेका छन् । अग्ला भवनहरूमा आगो लागे नियन्त्रणका लागि ठूलो समस्या हुन्छ । २०/२२ तलासम्मका भवनहरू बनेका छन्, थप पनि बन्ने क्रममा छन् ।

तर, काठमाडौंको जुद्ध बारुण यन्त्र कार्यालय युनिटसँग मुश्किलले १० तलासम्मको मात्रै आगलागी नियन्त्रण गर्न सक्ने उपकरण छ । अन्यसँग त त्यति पनि छैन । त्यसैले हामीसँग उपलब्ध साधन र हामीले दिनुपर्ने सेवा बीचमा आकाश–जमीनको अन्तर परिरहेको छ ।

एउटा उदाहरण हामीलाई पानी भर्नका लागि ‘फायर हाईड्रेन्ट’ (खानेपानी प्रणालीमा जडान गरिएको आगो निभाउन प्रयोग हुने ठाउँ) हरू पर्याप्त छैनन् । कुनै आगलागी भएका ठाउँमा गएर पानी सकियो भने थप पानीका लागि फर्किएर कार्यालयमै आउनुपर्छ कि कहाँ छ पानी भनेर खोजेर हिंड्नुपर्छ । केही मिनेटको समय पनि महत्वपूर्ण हुने यस्तो बेलामा हामी पानी खोज्दै हिंड्नुपर्ने अवस्था हुन्छ ।

संरचनागत कुरा गर्दा कतिपय सडकमा दमकल छिर्न सक्ने अवस्था छैन । सडकमा छरपस्ट तारहरूले आगलागी भएको स्थानमा छिटो पुग्न समस्या हुन्छ । असन जस्ता ऐतिहासिक शहरहरूमा मुख्य बाटोमै दमकल मुश्किलले पुग्छ । त्यहाँ भित्रसम्म दमकल जान सक्ने अवस्था छैन ।

जैसीदेवलको एउटा घटनामा हामीले सानो ठाउँबाट भित्र छिरेर आगलागी नियन्त्रणमा लियौं । त्यस्ता ठाउँहरूलाई ध्यानमा राखेर हामीले मोटरसाइकल दमकल पनि बनाएका छौं । कोर क्षेत्रमा यो सहयोगी साबित भएको छ ।

अर्कोतर्फ जनतामा पनि आगलागीबाट सुरक्षित हुन पर्याप्त चेतना छैन । सलाई, लाइटर तथा आगो उत्पन्न हुने वस्तुहरू केटाकेटीको पहुँचबाट टाढा राख्ने र पेट्रोल, मट्टीतेल, डिजल जस्ता अत्यधिक प्रज्ज्वलनशील पदार्थ घरमा राख्न नहुने जस्ता सामान्य विषयमा पनि नागरिकको ध्यान गएको छैन ।

त्यस बाहेक जथाभावी रूपमा दियो, बत्ती तथा धुप नबाल्ने र अग्निजन्य कार्य गर्दा आगोले चाँडै टिप्ने कपडाहरू लगाउनुहुँदैन भन्ने चेतनाको अझै पनि अभाव छ । नियन्त्रित आगोले हाँसो ल्याउँछ, अनियन्त्रित आगोले आँसु । त्यसैले आगोमा हेलचेक्र्याइँ गर्नुहुँदैन ।

(नेपालकै पुरानो जुद्ध बारुण यन्त्र कार्यालयका प्रमुख भट्टराईसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित)

यो पनि पढ्नुहोस ६०० स्थानीय तहमा दमकल छैन, डोजर चाहिं फालाफाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment