Comments Add Comment

आईएनजीओले एक वर्षमा नेपालमा गरे १५ अर्ब ६७ करोड खर्च

तस्वीर सौजन्य : सेभ द चिल्ड्रेन/कोरोना महामारीका बीच सेभ द चिल्ड्रेनले स्थानीय तहसँगको समन्वयमा जाजरकोटको कुशे गाउँपालिकामा खाद्यान्न वितरण गर्दै ।

२७ चैत, काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले एक वर्षको अवधिमा १५ अर्ब ६७ करोड रुपैयाँ भन्दा (१३ करोड २८ लाख डलर) बढी रकम खर्च गरेका छन् ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ को अन्तिम (असार मसान्त २०७७) सम्म देशभर ८६ वटा एनजीओमार्फत यो रकम खर्च भएको हो । यसमध्ये ६५ करोड रुपैयाँ (५५ लाख डलर) भने कोरोना महामारीसँग जुध्ने प्रयोजनका लागि खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । एक वर्षको अवधिमा आईएनजीओले सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमै रकम खर्च गरेको तथ्यांकमा उल्लेख छ । यसरी गरिएको खर्च ४ करोड १८ लाख ५५ हजार (४ अर्ब ९३ करोड रुपैयाँ भन्दा बढी) रहेको छ ।

त्यसपछि शिक्षा, जीवनस्तर, महिला बालबालिका तथा सामाज कल्याणको क्षेत्रमा बढी रकम खर्च भएको पाइएको छ । यसबाहेक कृषि, खानेपानी, शहरी विकास लगायतका क्षेत्रमा समेत आईएनजीओको पैसा खर्च भएको छ । कोरोना महामारीका बीच यो वर्ष आईएनजीओबाट परिचालिन हुने कुल रकम भने घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा एनजीओहरुबाट कुल २१ करोड ५३ लाख (२५ अर्ब ६० करोड रुपैयाँ हाराहारी) रकम परिचालन भएको थियो ।

आव २०७६/७७ मा अघिल्लो आवको तुलनामा करिब ३८ प्रतिशतभन्दा कम रकम आईएनजीओबाट परिचालित भएको हो । यद्यपि यो वर्ष कतिपय आईएनजीओबाट सरकारको औपचारिक प्रणालीमै विवरण नआएको पाइएको छ । आर्थिक वर्ष २०७५/७६ मा कुल ११४ वटा आईएनजीओले सरकारको प्रणालीमा विवरण पठाएका थिए । यो वर्ष गत वर्षको तुलनामा २८ वटा आईएनजीओबाट विवरण आएन । मन्त्रालयका एक अधिकारीका अनुसार यसरी कम आईएनजीओबाट विवरण कम आउँदा खर्च भएको रकम समेत घटेको हो ।

देशभर ३३४ आयोजना/कार्यक्रम

एक वर्षमा देशभर आईएनजीओले कुल ३३४ वटा आयोजना/कार्यक्रममा रकम खर्च गरेका छन् । यसरी आएका कार्यक्रममध्ये यो वर्ष सबैभन्दा धेरै ७१ वटा आयोजना/कार्यक्रम स्वास्थ्यसँग सम्बन्धित थिए ।

शिक्षामा ५२ वटा कार्यक्रम/आयोजनामा बजेट खर्च भएको छ । जीवनस्तरको क्षेत्रमा कुल ४४ वटा कार्यक्रम/आयोजना कार्यान्वयनमा रहेको देखिएको छ । कृषिमा २७ र खानेपानीमा १७ आयोजनामा आईएनजीओको पैसा लगानी भएको देखिएको छ । महिला, बालबालिका र समाज कल्याणको क्षेत्रमा भने ३६ वटा आयोजनामा लगानी भएको छ । स्थानीय विकास र वातावरणमा ८/८, भूकम्पपछिको पुनर्निर्माणमा ७, वनमा ६ तथा खेलकुदमा ४ वटा आयोजना रहेको तथ्यांकमा देखिएको छ ।

सबैभन्दा बढी काठमाडौंमा 

भौगौलिक रुपमा हेर्दा आईएनजीओका सबैभन्दा बढी परियोजना काठमाडौं केन्द्रित रहेको पाइएको छ । यहाँ कुल ३५ वटा आयोजना/कार्यक्रम आईएनजीओबाट सञ्चालनमा रहेको देखिएको छ ।

सिन्धुली र नुवाकोटमा ३२, काभ्रेपलाञ्चोक, सर्लाही, धादिङमा ३०/३०, सप्तरी र मकवानपुरमा २८/२८ वटा आयोजना/कार्यक्रम आईएनजीओबाट सञ्चालनमा रहेको तथ्यांक छ । सबैभन्दा कम मनाङमा ४, मुस्ताङमा ५, स्याङ्जामा ७ वटा कार्यक्रम मात्र आईएनजीओबाट खर्च भएको पाइएको छ ।

खर्चको प्रभाव कस्तो छ ?

अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय सहायतासम्बन्धी प्रतिवेदनमार्फत अन्तर्राष्ट्रिय गैर सरकारी क्षेत्रबाट प्राप्त भएको सहायताले देशको विभिन्न क्षेत्रमा सेवा प्रवाह, साक्षरता अभिवृद्धि, जवाफदेहिता वृद्धि र नागरिकलाई जागरुक बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएको छ ।

आव २०७६/७७ मा बढी खर्च गर्ने ५ आईएनजीओ

आव २०७६/७७ मा सबै भन्दा बढी खर्च गर्ने आईएनजीओ सेभ द चिल्ड्रेन हो । यो आईएनजीओबाट २ अर्ब ५४ करोड ५३ लाख (२ करोड १ लाख डलर) रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन भएको छ । त्यसपछि क्रमशः वल्र्ड भिजन इन्टरनेशनल, प्लान नेपाल, हेफर इन्टरनेशनल नेपाल र अक्फाम ग्रेट ब्रिटेन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment