२७ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले हुलाकी सडक आयोजना निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
पर्सा क्षेत्र नम्बर ४ का सांसद लक्ष्मणलाल कर्ण नेतृत्वको प्रतिनिधिमण्डलसँगको शुक्रबारको भेटमा मन्त्री नेम्वाङले रोकिएको सडक निर्माण तत्काल सुरु गर्ने प्रतिबद्धता जनाए । आवश्यक परे वन मन्त्रालय र राष्ट्रिय निकुञ्जका प्रतिनिधिलाई साथमै लिएर निर्माणाधीन सडकको स्थलगत अवलोकन गर्न आफैं ठोरी आउने पनि मन्त्री नेम्वाङले बताए ।
वीरगञ्ज-ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरी १ र २ मा चितवन राष्ट्रिय निकुञ्जले सडक निर्माणमा अवरोध गरेपछि सांसद कर्णसहितको टोलीले मन्त्री नेम्वाङलाई भेट्न आएको थियो । प्रतिनिधिमण्डलका सदस्य सन्तोष श्रेष्ठका अनुसार प्रधानमन्त्रीले समेत हुलाकी सडक निर्माणमा आएको समस्याबारे चासो राखेको र यसबारे बुझ्न आफूलाई भनेको मन्त्री नेम्वाङले बताएका थिए ।
उनले हुलाकी सडक निर्माणमा देखापरेको समस्या समाधानबारे आइतबार वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, हुलाकी सडक विभाग लगायतका प्रमुखसँग छलफल राखिएको बताए ।
संघर्ष समितिले बिहीबार वनमन्त्री प्रेमबहादुर आलेलाई भेटेर रोकिएको सडक निर्माण कार्य अघि बढाउने वातावरण बनाइदिन आग्रह गरेको थियो ।
सडक बनाउन निकुञ्जले रोकेको भन्दै सडक निर्माणको जिम्मा पाएको कालिका बानियाँ जेभी कन्स्ट्रक्सनले अधुरै सडक हस्तान्तरण गरेपछि ठोरीका वासिन्दाले चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् ।

