Comments Add Comment

आहा-रारामा संकटाले रच्यो इतिहास

Photo Credit : सुदर्शन रञ्जित

२८ चैत, पोखरा । आहा–रारा गोल्डकप फुटबलको उपाधि जित्दै संकटा क्लबले इतिहास रचेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा अफ्रिकन रुट्स एशोसियसन डाउला क्यामरुनलाई टाइब्रेकरमा ४–२ को गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो पटक आहा–राराको उपाधि चुमेको हो ।

१९औं संस्करणको उपाधिसँगै संकटाले १० लाख १ हजार रुपैँया हात पारेको छ ।

निर्धारित र थप गरिएको समयमा पनि खेल १–१ गोलको बराबरीमा रोकिएपछि निर्णय पेनाल्टी सुटआउटमा लिइएको थियो । संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गर्दै संकटाका लागि पहिलो पटक आहा–रारामा इतिहास रचेका हुन् ।  अफ्रिकनका यानिक र रिमले गोल गर्दै खेल प्रतिस्पर्धामा गराएको भए पनि कुइटेको प्रहार खेर गयो भने संकटाका गोलकिपर राजाबाबु थापाले एमबाकोपको प्रहार छेक्न सफल भए ।

पोखरा रंगशालामा भएको खेलमा अग्रता भने अफ्रिकन रुट्सले लिएको थियो । १० औं मिनेटमा बासेकले गोल गर्दै अफ्रिकन रुट्सलाई १–० को अग्रतामा पुर्‍याएका थिए । उसले पहिलो हाफभर आफ्नो अग्रता जोगाउन सक्यो ।

तर दोस्रो हाफमा नयाँ रणनीतिका साथ मैदान उत्रिएको संकटाले बराबरी गोल गर्न सक्यो । ५१ औं मिनेटमा संकटाका ग्लोरीले गोल गर्दै १–१ को बराबरीमा पुर्‍याएका थिए । त्यसअघि अफ्रिकनले गोल गर्ने मौका पाए पनि चुकेको थियो ।

आहा–राराकै इतिहासमा पहिलो पटक फाइनलमा पुगेको संकटाले उपाधि नै उचाल्यो ।

पहिलो पटक सहभागिता जनाएको अफ्रिकन टोलीले उपविजेताका रुपमा  ५ लाख रुपैयाँ हात पारेको छ ।

आहा–रारा गोल्डकप १९ औं संस्करणसम्म आइपुग्दा नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबले समान ६/५ पटक उपाधि उचालेका छन् । अर्को बलियो टोली थ्रीस्टारले ५ पटक प्रतियोगिता आफ्नो नाममा लेखाएको छ । यस्तै अफ्रिकन युनाइटेड क्लब र सहारा क्लबले समान १/१ पटक उपाधि जितेका छन् ।

८ क्लबको सहभागिता रहेको प्रतियोगिताको च्याम्पियन संकटाका गोलकिपर राजाबाबु थापा उत्कृष्ट घोषित हुँदा संकटाकै नीरज बस्नेत उत्कृष्ट डिफेन्डर भए ।

यस्तै अफ्रिकन रुट्सका राफायल रिम उत्कृष्ट मिडफिल्डर हुँदा अफ्रिकन रुट्सकै बासिकले उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकको उपाधि पनि अफ्रिकन रुट्सका सेर्गी बोरिसले हात पारे । उनीहरुले जनही २५ हजार रुपैयाँ हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment