Comments Add Comment

‘अब महिलामा पनि लामो फर्म्याटको क्रिकेट चाहिन्छ’

२९ चैत, काठमाडौं । करिब चार महिनाको अन्तरालमा नेपालमा महिलाका दुईवटा क्रिकेट प्रतियोगिता आयोजना भयो । दुवै टी-२० फर्म्याटको थियो । पुसमा दाङमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना भएको थियो ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा ललितपुर मेयर वुमन्स च्याम्पियनसिप पनि सम्पन्न भयो । दुवै छोटो भर्सनको टुर्नामेन्ट थियो । प्रधानमन्त्री कप पुरुषको क्रिकेट ५० ओभरको भए पनि महिलाको भने टी-२० फर्म्याटमा भयो ।

पुरुषको समेत केहीमात्र ५० ओभको टुर्नामेन्ट भइरहेको बेला महिलामा भने लामो फर्म्याटको खेल देख्न सकिँदैन ।

अब भने महिला क्रिकेटमा पनि लामो फर्म्याटको प्रतियोगिता आवश्यक रहेको खेलाडीहरु बताउँछन् ।

एपीएफलाई मेयर वुमन्स कपको च्याम्पियनसिप बनाउने टिमका कप्तान तथा राष्ट्रिय टिमकी उपकप्तानसमेत रहेकी सीता ना मगरले टी-२० क्रिकेटमात्र धेरै भएको र अब लामो फर्म्याटको क्रिकेट चाहिने बताइन् ।

‘राष्ट्रिय टिमको लागि लामो फर्म्याटको क्रिकेट पनि चाहिन्छ । ४० वा ५० ओभरको खेल भयो भने हामीलाई पनि पिचमा टिक्न सजिलो हुन्छ ।’

यस्तै राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्रीले पनि अब लामो फर्म्याट आयोजना गर्न सोच्नुपर्ने बेला आएको बताइन् ।

‘लामो फर्म्याटको गेम पनि अब सोच्नुपर्ने विषय हो । क्रिकेट एसोसिएसनले पनि यसबारे सोच्नुभएको होला । किनकि हामीलाई लामो समय खेल्न ब्याट्सवुमन चाहिएको छ । जसमा टेम्परमेन्ट र धैर्य देख्न सकिन्छ ।’

सीताले टी-२० मात्र खेल्दा हतार हुने भएकोले लामो ओभरको खेल भए पिचमा टिकेर खेल्न सहज हुने बताइन् ।

‘टी-२० मात्र हुँदा खेल्दा अली हतार हुन्छ । ४० ओभर वा ५० ओभरको भयो भने खेल्ने समय हुन्छ अनुभव पनि हुन्छ । त्यसैले लामो ओभरको फर्म्याटको खेल पनि आवश्यक छ । अनि अब राष्ट्रिय टिमको क्वालिफायर म्याचहरु पनि आउँदैछ । त्यसको लागि चाँडै क्याम्पहरु भयो भने राम्रो हुन्छ ।’

यस्तै रुविनाले बाहिरको टुर्नामेन्टहरु टी-२० फर्म्याटमै खेलिरहेकोले पनि नेपालमा टी-२० मात्र भएको हुन सक्ने बताइन् । ‘हो हामीले लामो समयदेखि टी-२० फर्म्याटको खेलिरहेको छौँ । बाहिरको टुर्नामेन्टहरु पनि लामो फर्म्याटमा छैन टी-२० कै फर्म्याटको हुन्छ । एकपटक मात्र हामीले ४० ओभरको खेलेको थियौँ । त्यो नभएर पनि जति पनि छ बाहिरको टी-२० फर्म्याटकै गेम छ ।’ प्रदेश १ की कप्तानसमेत रहेकी रुविनाले भनिन् ।

यस्तै मेयर वुमन्स च्याम्पियनसिपमा पनि राम्रो खेल्ने खेलाडीहरु रहेकोल अब लामो फर्म्याट गर्नेबारे क्रिकेट संघसंग पनि कुरा गर्ने बताइन् । ‘यस टुर्नामेन्टमा पनि हामीले हेर्यौँ । जसले सिंगल कन्भर्ट गरिराछ क्लासिक सट खेलिराछ । हामी क्रिकेट एसोसिएसनसँग पनि कुरा गर्छौँ अन्तर्राष्ट्रियमा नभए पनि कुनै डोमेस्टिक टुर्नामेन्ट भए पनि लामो फर्म्याटमा होस् भन्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment