Comments Add Comment

मोरङमा बाबुछोराको विवादमा बाबुको मृत्यु

२९ चैत, विराटनगर । मोरङको विराटनगर महानगरपालिका–८ मा बाबुछोराबीचको विवादमा एक जनाको मृत्यु भएको छ । छोरासँगको झगडामा बलुवाइ गाउँका ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार शनिबार राति बुबा छोराबीचको विवादका क्रममा माइलो छोरा रविले धकेल्दा मुखिया लडेका थिए, र उनको घाटीमा बासको भाटाले छेडेको थियो ।

गम्भीर घाइते भएका विकोको उपचारका क्रममा कोसी अस्पताल विराटनगरमा राति ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

घटनापछि २५ वर्षीय रवि फरार छन् । शनिबार राति नै फरार भएका रविको खोजी भइरहेको प्रहरीले जनाएको छ । विकोका तीन छोरा र एक श्रीमती छन् ।

स्थानीय वासिन्दाका अनुसार मुखिया परिवारको झुप्रोमा मदिरा पसल थियो । राति अबेरसम्म पसल खोलेको भन्दै विको र छोरा रविबीच झगडा सुरु भएको थियो । त्यसै क्रममा रविले धकेल्दा घरको बार लगाएको बाँसको भाटा विकोको घाँटीमा उनिएको थियो ।

प्रहरीका अनुसार विकोको जेठो छोरा लेटु सहनी बिरामी भएर घरमै सुतेका थिए । जेठो छोरालाई अस्पताल लैजान बोलाइएको एम्बुलेन्समै राखेर घाइते विकोलाई अस्पताल लगिएको थियो ।

प्रहरीले सोधपुछका लागि जेठा र कान्छा छोरालाई नियन्त्रणमा लिएको छ । फरार रहेका माइला छोरा रविको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment