
२९ चैत, हेटौंडा । सशस्त्र द्वन्द्वको समयमा चितवनमा मारिएका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नको अभियोग लागेकाहरुले उच्च अदालतबाट पनि सफाइ पाएका छन् ।
उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीशहरु चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले अधिकारी हत्याको अभियोग लागेका १२ जनालाई सफाइ दिने चितवन जिल्ला अदालतकै फैसलालाई सदर गरेको हेटौंडा इजलासका उपरजिस्ट्रार कैलाश भट्टराईले बताए ।
२०६१ जेठ २४ गते गोरखा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारीका कान्छा छोरा १७ वर्षका कृष्णप्रसादको तत्कालिन माओवादीले हत्या गरेको थियो ।
उनको हत्या आरोपमा २०७० चैत ३० गते छिमेकी छविलाल पौडेल, भीष्मराज पौडेल, रामप्रसाद अधिकारीसहित १२ जनाविरुद्ध मुद्दा चलाइएको थियो । उनीहरुलाई जिल्ला अदालत चितवनले २४ भदौ २०७५ मा सफाइ दिएको थियो । त्यसविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो ।
कृष्णप्रसादकी आमा गंगामाया छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै हाल वीर अस्पतालमा अनशनरत छिन् । यही माग राखेर अनशन बसेका बाबु नन्दप्रसादको भने २०७१ असोज ६ गते अनशनकै क्रममा मृत्यु भएको थियो ।
प्रतिक्रिया 4