Comments Add Comment

लिकेज बढेपछि सडक विभागले गुहार्‍यो केयूकेएल

३० चैत, काठमाडौं । काठमाडौंमा गत चैत १५ गतेदेखि मेलम्चीको पानी वितरण शुरु भएपछि सडकमा पानीको लिकेज (चुहावट) बढेको छ । चुहावाटको समस्या बढेपछि आवश्यक रणनीति बनाउनुपर्ने भन्दै डिभिजन सडक कार्यालय काठमाडौंले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग छलफल गर्ने भएको छ ।

डिभिजन प्रमुख कुबेर नेपालीका अनुसार ३ सयभन्दा बढी स्थानमा सडकमा पानीको लिकेज देखिएको बताए । केयूकेएलले अहिलेसम्म करिब डेढ दर्जनस्थानमा मर्मतका लागि सडक खन्ने अनुमति मागेको छ ।

सडकमा जताततै पाइप फुटेर पानी निस्किएपछि सडक विभागले भने चिन्ता व्यक्त गर्दै आएको छ । विगतमा मेलम्चीको पाइपलाइन बिछ्याउँदा बिग्रिएको सडक बल्ल-तल्ल ठीक पारेको भन्दै विभागले फेरि पुरानै दिन आउने विभागको चिन्ता छ ।

एकैपटक धेरै स्थानमा सडक खन्नुपर्ने र पाइपलाइनको लिकेज टाल्नुपर्ने भएपछि डिभिजनले समन्वयात्मक रुपमा काम गर्न आग्रह गर्ने निधो गरेको हो । यसका लागि मंगलबार केयूेकेएलसहित सरोकारवाला निकायलाई छलफलमा  बोलाइएको नेपालीले बताए ।

‘उहाँहरुले सडक खनेर पुर्दा जथाभावी ढंगले काम भयो भने फेरि सडक बिग्रन्छ, हामीसँग सडकको विज्ञता छ, उहाँहरुसँग पाइपको,’ उनले भने,’हामी दुबै सरकारी निकाय भएकाले समस्याको समाधान छिटो र व्यवस्थित तरिकाले गरौं भन्ने हाम्रो प्रस्तााव हो ।’

अहिले शहरका विभिन्न भागमा खानेपानीका पाइप फुट्ने/चुहिने समस्या देखिएका छन्। केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार केयूकेएलका अनुसार मुख्यगरी पुराना भित्री शहरहरूमा यस्तो समस्या बढी देखिएको छ । फाट्टफुट्ट रूपमा अन्य शहरी क्षेत्रभित्र ढल र पाइपलाइनबाट पानी बाहिर निस्किएको छ ।

लाजिम्पाट, बालाजु, सोह्रखुट्टे, पानीपोखरी, बानेश्वर चोक, रत्नपार्कलगायत क्षेत्रका सडकमा पनि यस्तो समस्या बढी देखिएको छ । प्रवक्ता राईका अनुसार पहिल्यैदेखि ढलको समस्या भएका क्षेत्रका पाइपलाइनमा पनि समस्या देखिएको छ । ढलबाट निस्कने ग्याँसले खानेपानीको पाइपलाई कमजोर बनाएका कारण चुहावटको समस्या देखिने गरेको उनको भनाइ छ ।

कतिपय क्षेत्रमा लामो समयदेखि पानी नआएकाले हाउस कनेक्सनमा समस्या देखिएको छ । मेलम्चीबाहेक अन्य विकासे निकायले पनि सडकमा विभिन्न काम गर्दा पाइपलाइन र ढल प्रणालीमा क्षति भएकाले ‘लिकेज’ को समस्या बढी देखिएको छ । अहिले केयूकेएलले अनामनगर क्षेत्रका १६ सय वटा धारामा बाहेक अन्य पुरानै प्रणालीबाट पानी छोडेको छ ।

केही दिनभित्र मेलम्चीबाट आउने दैनिक करिब १७ करोड लिटर पानी वितरण थालिसक्ने योजना केयूकेएलको छ ।

केयूकेएलले काठमाडौंमा बिछ्याइएको करिब एक हजार किलोमिटरको नयाँ वितरणलाइनमार्फत पानी वितरण गर्न अब क्रमैसँग परीक्षण गर्ने योजना बनाएको छ । तर, नयाँ वितरणलाइनमार्फत वितरण शुरु गरेपछि पनि ठाउँ-ठाउँमा थप लिकेजको समस्या देखिन सक्ने अनुमान छ । समस्या समाधान गर्दै एक वर्षसम्म लगाएर नयाँ लाइनबाट पानी वितरण गरिसक्ने योजना छ ।

यो पनि पढ्नुहोस मेलम्चीको पानी : पुरानो वितरण प्रणालीले थेग्नै सकस यो पनि पढ्नुहोस अहिलेको ढल प्रणालीले मेलम्चीको पानी थेग्‍न मुश्किल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment