
News Summary
Generated by OK AI. Editorially reviewed.- रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले सन् २०२५ को साहित्यतर्फको नोबेल पुरस्कार हंगेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई प्रदान गरेको छ।
- क्राज्नाहोर्काइले सन् १९८५ मा प्रकाशित पहिलो उपन्यास 'सेतानट्याङ्गो' मा हंगेरीको अधिनायकवादको विनाश चित्रण गरेका छन्।
- उनले हंगेरीका महान् फिल्म निर्देशक बेला टारसँग मिलेर आफ्ना किताबहरूलाई पटकथामा रूपान्तरण गरेका छन् र धेरै पुरस्कार पाएका छन्।
रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हंगेरीका उपन्यासकार तथा पटकथा लेखक लास्लो क्राज्नाहोर्काइलाई बिहीबार सन् २०२५ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गर्यो । ‘विनाशकारी भयका बीचमा पनि कला र त्यसको शक्तिलाई पुन: पुष्टि गरिरहने उनका प्रभावशाली र दूरदर्शी रचनाहरूले गर्दा उनले यो पुरस्कार पाए ।
उनका किताबभित्रका कठिन, डिस्टोपियन र उदासीन विषयवस्तुहरूसँग परिचित उनका पाठकहरूका लागि यो कुनै आश्चर्यको विषय होइन । ती पाठकले यो क्षणको प्रतीक्षा धेरैअघिदेखि गरिरहेका थिए ।
सन् १९५४ मा हंगेरीको जुला भन्ने एउटा सानो शहरमा जन्मिएका हुन् लास्लो क्राज्नाहोर्काइ । उनी १८ वर्षको उमेरमा नै आफ्नो घर, शहर र परिवार छोडेर भागे र मनमौजी तरिकाले जीवन बिताउन थाले ।
त्यतिबेलासम्म दोस्तोवस्की, टोल्स्टोय, चेखब, गोन्चारोबजस्ता १८औं शताब्दीका रसियन लेखकहरूको जिन्दगी र उनीहरूका पात्रहरूसँग उनको गहिरो लगाब बसिसकेको थियो। उनी तिनै पात्रहरूजस्तै आफ्नो मध्यमवर्गीय जिन्दगीलाई झन् तल गिराएर एउटा उत्पीडित र दयनीय भावनाकासाथ समाजमा आफूलाई सबैभन्दा तल्लो दर्जामा उभ्याउन चाहन्थे । यही कारण उनले आफ्नो शहर र आफ्नाहरूलाई छाडेर भागी नयाँ जिन्दगीको अनुभव लिए ।
त्यतिबेला हंगेरीमा कम्युनिष्ट शासन थियो । र त्यहाँ हरकोहीले कुनै न कुनै काम गर्नुपर्ने अनिवार्य थियो । क्राज्नाहोर्काइले पनि एकपछि अर्को गर्दै धेरै सानातिना कामहरू गरिरहे । सैन्य सेवामा जानुपर्ने बाध्यतालाई टार्न उनले धेरै जागिरहरू बदलिरहन्थे । कामको सिलसिलामा उनी हंगेरीका थुप्रै ठाउँ पुगे । उनले माइनिङको काम गरे, ६ वटा गाउँहरूको हाउस अफ कल्चरल डाइरेक्टरको रूपमा पनि आवद्ध भए, स्कुलहरूमा पढाए । त्यहाँका साना पुस्ताकालयलाई व्यवस्थापन पनि गरे ।
उनले एउटा डेरी फार्ममा वाचम्यानको जागिर भेट्टाए, जसलाई उनी आफ्नो जिन्दगीको सबैभन्दा राम्रो काम मान्छन् । करिब ३९० गाईहरूबीच, उनले त्यहाँका गोठहरूमा एकप्रकारको छुट्टै शान्ति भेट्टाए र तिनलाई स्याहार्नुमा नै आनन्द पाए । र उनले त्यही समयदेखि नै आफ्नो दिमागमा एउटा किताब लेख्न थाले ।
उनी भन्छन्, ‘कुनै टेबलमा, जहाँ शब्दकोश र किताबहरू थुप्रिएका छन्, जहाँको झ्यालबाट सुन्दर दृश्य देखिन्छ, उनी त्यसरी सबथोक मिलेर बसेका ठाउँहरूमा रहेर केही पनि लेख्न सक्दैनन् । बरू उनी ट्रेनभित्र, ट्रेन स्टेसनहरूमा र धेरैजसो हिँडिरहेका बेला दिमागभित्रै केही न केही लेखिरहेका हुन्छन्, किनकि उनी यस्ता लेखक हुन्, जो आफ्ना कथाहरूलाई पहिले आफ्नो मस्तिष्कभित्र एउटा रुप दिइसक्छ अनि मात्र ती कथा र भावानामश्रित अक्षरलाई कागजमा उतार्छ ।
हंगेरीका ‘विनाशकारी कथाहरूका गुरु’, जसलाई कहिले लेखक बन्नु थिएन, उनले सन् १९८५ मा आफ्नो पहिलो किताब लेखे– ‘सेतानट्याङ्गो’ । क्राज्नाहोर्काइले हंगेरीमा कम्युनिजमको पतन हुनुभन्दा चार वर्षअघि उक्त उपन्यास प्रकाशित गरेका थिए । यो किताबको विषयवस्तुले धेरैजसो तत्कालीन हंगेरीको अधिनायकवादको विनाशलाई चित्रण गर्छ ।
यसले एउटा विनाशकारी र मुसलधारे वर्षातले भिजिरहेको यस्तो दुनियाँको परिचय दिन्छ, जहाँ मदिराले लठ्ठ भएका मान्छे र झुटा पात्रहरू हल्ला र भ्रमको खाडलमा भासिएका छन् ।
यस किताबका घटनाहरू एउटा बेनामी गाउँको वरपर घुम्छन्, जुन त्यागिएको छ, जुन उजाड छ, उराठ छ । यहाँका बासिन्दा अधिकांश किसान छन्, त्यहाँ एउटा मेकानिक छ, एउटा हेडमास्टर, एउटा डाक्टर, दुई किशोरी वेश्याहरू, उनीहरूकी जड्याहा आमा, दुष्ट भाइ र पागल बहिनी छन् । उनीहरू लेउ लागेका, मक्किएका घरमा बस्छन् र भत्किँदै गएको, माकुराको जालोले पुरिँदै लगेको भट्टीमा भेला हुन्छन् ।
यो किताब जासूसी उपन्यास जस्तो छ । यो एउटा असफल षड्यन्त्रबाट सुरु हुन्छ । केही किसानहरूले सामूहिकरूपमा गाउँबाट भाग्ने योजना बनाइरहेका छन् तर अचानक उनीहरूले दुई पात्रहरू (इरिमिस र पेट्रिना) गाउँतिर आउँदैछन् भन्ने कुरा चाल पाउँछन् । जसलाई उनीहरूले चिन्छन् र जसलाई उनीहरू आफ्ना पुराना साथी ठान्छन्।
यो किताब पर्खाइको पनि कथा हो । यस उपन्यासभित्र कथा र पात्रहरू गुम्सिएका छन्, भित्रभित्रै निसास्सिरहेका छन्– जहाँ कथा घिस्रिँदै एउटा बिन्दुमा पुग्छ र फेरि त्यही लयात्मक हिँडेको बाटो भएर फर्किन थाल्छ । यसको कथावाचन शैली बिल्कुल नयाँ र रोचक छ । यसको डिस्टोपियन दुनियाँभित्र ढल्दै गइरहेको कम्युनिजमभित्र तत्कालीन उदास हङ्गेरीको प्रतिबिम्ब देख्न सकिन्छ ।
पश्चिमी दर्शनमा ६ अंक सैतान या दैत्यको अंक मानिने गरिन्छ । सायद यस कारण पनि किताबमा सिधा र उल्टो हिँडिरहेका ६/६ च्याप्टरहरू छन् । सेतान, अर्थात् राक्षस । ट्याङ्गो, अर्थात् एउटा नृत्य–जसमा एक कदम अगाडि सारेपछि अर्को कदम पछाडि सार्दै नाचिन्छ, कदम-कदम को नृत्य । ‘सेतानटाङ्गो’भित्र यस्तो संसार छ, जहाँ सैतानले मानिसहरूको काम र उनीहरूको जीवनको अर्थमाथि नाच्दै-नाच्दै शासन गर्छ ।
क्राज्नाहोर्काइलाई किताब लेख्नु थिएन । उनी लेखक बन्न चाहँदैन थिए तर आफूभित्र रहेको दुनियाँलाई सुरक्षित राख्न भने चाहन्थेँ । त्यसैले उनले शब्द चुने । जब उनले आफ्नो पहिलो किताब लेखे, त्यसपछि अर्को कुनै किताब नलेख्ने निर्णय गरे । तर पछि गएर त्यस्तो भएन । उनी संगीतका पारखी हुन्, कुनैबेला उनी आफ्नो मस्तिष्कभित्रको दुनियाँलाई संगीतभित्र पनि लुकाउन सक्छु भनेर सोच्थे ।
एकपल्ट जब भियानामा उनी आफ्नो किताब ‘सेतानट्याङ्गो’को दोस्रो च्याप्टरका केही हरफहरू पढिरहेका थिए, तब उनलाई लाग्यो उनको किताबको लय कतै गायब भएको छ । उनी अझै पनि किताबहरूमा एउटा रिदम हुनुपर्छ भन्ने कुरामा विश्वास गर्छन् । उनले आफूले आफैंलाई यो गल्तीका लागि माफी दिन सकेनन् । त्यसैले उनले दोस्रो किताब लेखे– ‘द मेलान्कोली अफ रेजिस्टेन्स’ ।
यो किताबले हंगेरीको एउटा सानो शहरमा स्वरैकाल्पनिक, अतियथार्थवादी घटनाहरूको रहस्यमयी श्रृंखला चित्रण गर्छ । जाडो याम सकिनै लाग्दा, संसारको सबैभन्दा ठूलो ह्वेलको जस्तो शरीर प्रदर्शन गर्ने भन्दै एउटा सर्कस शहर आइपुग्छ, जसले गर्दा त्यहाँका मान्छेहरूबीच विचित्रका हल्लाहरू फैलिन्छन् ।
क्राज्नाहोर्काइको पहिलो किताबमा जस्तै यो किताबमा पनि लामा–लामा वाक्यहरू छन्, अनुच्छेदहरू छन् । यस किताबमा उनले ‘विनाशकारी लेखन’को गुणलाई आध्यात्मिक स्तरमा पुर्याएका छन् । यो किताबमा सपनाजस्ता दृश्यहरू र बिल्कुल विचित्रका पात्रहरू छन्, जसले व्यवस्था र अव्यवस्था बीचको अराजक संघर्षलाई अँगाल्छन् ।
उनी आफ्नो कथावाचनशैलीमा बारम्बार प्रतिरोध गर्छन् । कथा अघि बढ्दै गर्दा वाक्य संरचनाहरू निमिलेकोजस्तो भान हुन्छ, या उनका किताबमा एकदमै कठिन, लामो अनि अखण्ड अनुच्छेदहरू हुन्छन्, जसले उनको बेलगाम विचारको प्रतिनिधित्व गर्छ । यो किताबमा पनि एउटा विचित्रको लय छ, तर पढिरहँदा यो एकदम सुस्त हिँडिरहेको शंखेकीराजस्तो लाग्छ । र यसलाई पश्चिमी सभ्यताको अँध्यारो ऐतिहासिकता, दर्शन, समाजप्रतिको व्यंग्य र भविष्यवाणीको रूपमा पनि वर्णन गर्न सकिन्छ ।
तर आफ्नो दोस्रो किताब ‘द मेलान्कोली अफ रेजिस्टेन्स’ मा पनि क्राज्नाहोर्काइले केही न केही खोट भेटे । त्यसपछि त्यसलाई सुधार्न अर्को किताब लेखे । यो सिलसिला चिलिनैरह्यो । यसरी हरेकपटक एउटा पर्फेक्ट लयको किताब लेख्ने चक्करमा उनले एकपछि अर्को किताब लेख्दै गए ।
क्राज्नाहोर्काइले हंगेरीका महान् फिल्म निर्देशक बेला टारसँग आफ्नै किताबलाई पटकथामा ढाल्दै रचनात्मक (जुन ऐतिहासिक छ) साझेदारी गरेका छन् । उनका किताबहरूलाई टारले सिनेमामा रूपान्तरण गरेका छन्, जसमा सात घण्टाभन्दा लामो ‘सेतानट्याङ्गो’ र ‘द वेर्कमेस्टर हार्मोनिज’ (‘द मेलान्कोली अफ रेजिस्टेन्स’मा आधारित) समावेश छन् । उनले टारसँग मिलेर ‘द टुरिन हर्स’ र ‘द म्यान फ्रम लण्डन’जस्ता फिल्मका पटकथा पनि लेखेका छन् । क्राज्नाहोर्काइले सन् २०१५ को ‘म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार’, ‘नेसनल बुक अवार्ड’सहित अहिलेसम्म धेरै पुरस्कारहरू प्राप्त गरेका छन् ।
क्राज्नाहोर्काइका कथा जति निराशाजनक छन्, त्यति नै हाँस्यास्पद पनि छन् । उनका पात्रहरूको आत्मालाप, उनीहरूको अभिव्यक्ति कति ठाउँमा दार्शनिक सुनिन्छन् भने कति ठाउँमा एकदम बेतुकापनले भरिएका हुन्छन् । पढिरहँदा टाउकै दुखाउने भुलभुलैया जस्ता वाक्यप्रति उनी अब्सेस्ड छन् । उनका अविश्वसनीय वाक्यहरू लम्बेतान मात्र लाग्दैन, ती कथाको गम्भीरताको पागलपनलाई वजन दिन्छन्, जुन कहिले उदेकलाग्दो लाग्छ, त कहिले हाँस्यास्पद ।
र उनी कथामा विकार, निर्थकता र केही मायावी सम्भवनाहरू खन्याउन पनि अभ्यस्त भइसकेका छन् । यस्तो लाग्छ, उनका किताबहरूले कुनै पात्रको कथा कम, हालत वा अवस्थाको कथा बढी भनिरहेको छ । उनको ब्रह्माण्डमा, विनाश एउटा घटना मात्र होइन, अवस्था पनि हो: एउटा सुस्त, अर्थहीनतामा अल्झिएको दैनिकीजस्तो । र उनी आफैंले भनेजस्तै उनका कृतिहरू ‘पागलपनको बिन्दुसम्म जाँचिएको वास्तविकता’ हुन् ।
प्रतिक्रिया 4