
३० चैत, काठमाडौं । अष्ट्रेलियाको पश्चिमी प्रान्त वेस्टर्न अष्ट्रेलियामा समुद्री आँधी सेरोजाको प्रकोप देखिएको छ । यसको असर एक हजार किलोमिटर वरपरको क्षेत्रमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
उक्त आँधीको प्रतिघण्टा १७० किलोमिटरको गतिमा आएको समाचारमा उल्लेख छ । आइतबारको ठूलो आँधीहुरीपछि वेस्टर्न अष्ट्रेलियाको केलबारी सहरनजिकै पहिरो गएको छ ।
अहिले आँधी मत्थर भएको छ । तर, अझै पनि तीव्र वेगको आँधी दक्षिण–पूर्वी क्षेत्रतर्फ अघि बढिरहेको छ । आँधीका कारण घरमा क्षति पुगेको, रुखहरु ढलेको र विद्युत् कटौती भएको गुनासो सो क्षेत्रका वासिन्दाले गरेका छन् ।
अहिले पनि वेस्टर्न अष्ट्रेलियाका केही सहरमा ‘रेड अलर्ट’ जारी गरिएको छ । उक्त क्षेत्रका मानिसलाई सुरक्षित रहन सुझाव दिइएको छ । अष्ट्रेलियाले आपतकालीन सेवाका अनुसार १७५ जनाको उद्धार गरिएको छ ।
शक्तिशाली आँधी आउनुभन्दा अगाडि वेस्टर्न अष्ट्रेलियाका प्रिमियर मार्क म्याक्गोवनले पुरानै अवस्थामा फर्किन समय लाग्ने भन्दै सबैलाई धैर्य गर्न आग्रह गरेका छन् ।
गत महिना पूर्वी अष्ट्रेलियामा नदी तथा बाँधको सतह बढेर आएको बाढीपछि करिब १८ हजार मानिसहरु विस्थापित भएका थिए ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले आँधीबाट भएको क्षतिको राहतका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4