Comments Add Comment

प्रचण्डप्रति प्रधानमन्त्रीको व्यंग्य : ए दाइ, प्रधानमन्त्री भइदेउ न !

३० चैत, काठमाडौं । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्न सोमबार दिउँसो राष्ट्रियसभा गृह पुगेका प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्ड र पार्टीका नेता माधवकुमार नेपाललाई हँसिमजाकको पात्र बनाए, व्यंग्य गरे ।

प्रधानमन्त्री ओलीले सम्बोधनको अधिकांश समय प्रचण्ड र माधव नेपालको आलोचना र सरकारको बचाउमा खर्चिएका थिए ।

झण्डै दुई तिहाइको सुदृढ सरकार ढाल्न प्रचण्ड र माधव नेपाल हल बाँधेर कांग्रेस नेता (शेरबहादुर देउवा) कहाँ गएको भन्दै दुवैलाई मीर जाफरको संज्ञा दिए । प्रचण्ड र माधव नेपालकाे नाम नलिई भने, ‘वामपन्थी सरकार ढाल्ने, सुदृढ सरकार ढाल्ने मीर जाफरहरु हुन् यिनीहरु । अन्तर्घातीहरु हुन् यिनीहरु । भित्रबाट आन्दोलनलाई ध्वस्त पार्ने तत्वहरु हुन् यिनीहरु ।’

उनीहरु पार्टी (साबिकको नेकपा)मा हुँदासम्म सरकारले निकै कठिनसँग काम गरेको ओलीले बताए । ‘हिंड्न खोज्यो भने यताबाट खुट्टा तानेको छ, उताबाट खुट्टा तानेको छ, यताबाट दौराको फेर समाएको छ । हिंड्नै नदिने, काम गर्नै नदिने’ उनले भने’, म त हैरान के भएँ भने बिहानदेखि बेलुकासम्म बस्यो छलफल ।’

‘आफूसँग कुम जोडेर बस्न दिएन, कुर्सी पर सारिदिएछ’ भनेर किचकिच मात्र गरेको ओलीले टिप्पणी गरे ।

भष्मासुरलाई दिएको वरदान

आफूले वामपन्थी आन्दोलनलाई एकजुट बनाउन हरसम्भव प्रयास गरेको प्रधानमन्त्री ओलीको दाबी छ । चुनाव तालमेल र पार्टी एकताका लागि जसलाई जतिजति भाग चाहिन्छ, दिएको भन्दै उनले भने, ‘महादेवले भष्मासुरलाई वरदान दिए जस्तै मैले बहुमत दिएँ । खै यो बहुमतको प्रयोग गरेर टाउकोमा हात राखौं भनेर मैलाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निकाले ।’

‘टाउकामा हात राख्न मात्र ल्याएको होइन, मेरो त टाउकामा हात राखिसके । पार्टी अध्यक्षबाट निकालेको सुन्नुभयो होला, दलको नेताबाट निकालेको सुन्नुभयो होला । पार्टीको साधारण सदस्यबाट पनि निष्कासन गरेको पनि सुन्नुभयो होला’ ओलीले भने ।

प्रचण्ड र नेपालले केटाकेटीलाई दशैं आएर आँगनमा नाचेजस्तो तमासा गरेको उनले बताए । आफूलाई मिथिला चित्र जस्तो भित्तामा टाँस्छु, धुलोमा मिलाइदिन्छु भनेको भन्दै उनले भने, ‘संसद विघटन नभएको भए संसद सदस्यबाट पनि निकाल्थे । संसद थिएन, त्यसकारण संसद सदस्यबाट निकाल्न पाएका थिएनन् ।’

किर्नाले भैंसी खाए जस्तै हो

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले साविकको नेकपामा प्रचण्ड-नेपाल समूहले आफूमाथि भएको कारबाही ‘किर्नाले भैंसी खाए’ जस्तो भएको टिप्पणी गरे ।

‘किर्नाले भैंसी खाएको देख्नुभएको छ कि छैन ? यिनीहरुले गरेको हामीलाई कारबाही त्यस्तै हो । किर्नाले भैंसी खाएजस्तै । किर्नाले भैंंसी खाने ? यिनको रहर हो । तर किर्ना किर्नाकै ठाउँमा हुन्छ । भैंसी भैंसीकै ठाउँमा हुन्छ ।’

उनले अघि भने, ‘सन्तोष गर्न पाइन्छ, किर्नाले भैंसी खाएकै हो । खायो खायो, पुटुक्क भयो, किर्नु फुत्रुक्क झर्‍यो ।’

ए दाइ, प्रधानमन्त्री भइदेउ न !

प्रचण्डको नाम नलिई उनले युवाहरुलाई उछालेर १७ हजारलाई मराइएको र अहिले पनि मानिसहरुलाई अलमल्याउन कोशिश गरिरहेको बताए । मैले आफ्नाहरुलाई छाडेर गल्ती गरेको भन्ने प्रचण्डको पछिल्ला अभिव्यक्तितर्फ संकेत गर्दै ओलीले भने, ‘झण्डै दुई तिहाइको सरकार ढाल्न पार्टी फुटाएर कांग्रेसकहाँ बिन्तीपत्र हाल्न जाँदा आफ्नो छोडियो कि छोडिएन ? अन्त गइयो कि गइएन ?’

प्रज्ञा प्रतिष्ठानको डबलीमा जो भेट्यो, त्यसलाई मन्त्री र प्रधानमन्त्री बन्न आग्रह गरेको भन्दै उनले भने, ‘ए भाइ मन्त्री भइदेउ न, ए भाइ प्रधानमन्त्री भइदेउ न ।’

‘शेरबहादुरजीलाई भेट्यो, दाइ प्रधानमन्त्री भइदिनुपर्‍यो । महन्थजीलाई भेट्यो, ए दाइ प्रधानमन्त्री भइदिनुपर्‍यो। किन भन्दा कम्युनिष्ट सरकार ढाल्नुपर्‍यो ।’

कम्युनिष्ट आन्दोलनलाई बचाउन अहिलेको सरकार ढाल्नुपर्ने तर्क नक्कली भएको उनले बताए । ‘तपाईंहरु ढुक्क रहनुहोस् यस्ता छद्भेषी, वामपन्थी विरोधी, कम्युनिष्ट विरोधी, प्रगतिविरोधी, अग्रगामी आन्दोलन विरोधी, राष्ट्रियता, लोकतन्त्र विरोधी तत्वहरुलाई सफलता साथ अगाडि जान दिइने छैन’, ओलीले भने ।

निकाल्ने रहर पूरा गर

उनले एमाले प्रवेश गरेका नेताहरुलाई माओवादी केन्द्रले गरेको कारबाहीबारे पनि बोलेका छन् । आज मात्र चार जनालाई निकालेको भन्दै उनले भने, हामीले जिताइदिएका सदस्यहरु छन् निकाल । अबको चुनावबाट एउटा आउँदैन के निकाल्नु ?’

उनले हाँस्दै अघि भने, ‘निकाल, धीत मार, रहर पुर्‍याऊ अहिले नै । फेरि यो मौका आउँदैन ।’

‘हामीले टाँसिदिएका जुँगा यस्तो गरेर (मुठारेको संकेत गर्दै) अलिक दिनपछि त्यो जुँगा निकालिदिन्छौं, त्यसपछि सिध्यो’ प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले भने ।

हामीलाई पनि निष्कासन गर्न आउँछ

माधवकुमार नेपाल समूहले पार्टी फुटाउन खोजेको भन्दै उनले सीमा नाघे ठीक पार्ने चेतावनी दिए । ‘हामी एमाले नै हौं, एमालेलाई बलियो बनाउन अर्को पार्टी बनाउँदैछौं’ भनेर हिंडेको भन्दै उनले आत्मालोचना गरेर फर्किन आग्रह गरे ।

‘यति उपद्रव गर्दा पनि निष्कासन गरिएको छैन । आत्मालोचना गरेर फर्केर आउनुहोस्, आफ्नै पार्टी हो’ माधवकुमार नेपालसँगै झलनाथ खनालको नाम नै लिएका उनले भने, ‘गल्ती महसूस गरेर आउनुहोस्, विना भेदभाव काम गर्न दिइन्छ ।’

ओलीले अघि भने, ‘माधव नेपालजी आएर काम गर्नुहुन्छ भने अहिलेसम्म गरेका अपराधपूर्ण कामको आत्मालोचना गर्नुस् । तर गुटबन्दी चल्दैन । पार्टीले कुनै गुटलाई मान्यता दिंदैन ।’

साथै उनले पार्टीमाथि धावा बोले कारबाही गर्ने चेतावनी दिए । ‘बघिनी तबसम्म चुप हुन्छ, जबसम्म डमरुमाथि खतरा हुँदैन । पार्टीमाथि धावा बोल्नुभयो भने ठीक लगाइनेछ’ उनले भने, ‘बोलिरहनुभएको छ । तर म सीमा हेरिरहेको छु ।’

अघि भने, ‘तपाईंहरुलाई मात्र होइन, हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस् ।’

उनले आफ्नो पक्ष आउनेलाई टिकट दिने माधव नेपालको अभिव्यक्तिप्रति पनि व्यंग्य गरे । ‘केपी ओलीले टिकट दिएन भने चिन्ता नगर्नुहोस्, म दिन्छु टिकट । टिकट त बसपार्कमा बाँड्या बाँड्यै छ त’ उनले अघि भने, ‘माधव नेपालले टिकट बाँड्न सक्नुहुन्छ । तर सांसद एक जना पनि बनाउन सक्नुहुन्न ।’

उनले अघि भने, ‘आफैं बन्नुहुन्न, अर्कालाई के बनाउनुहुन्छ ?’

प्रधानमन्त्री ओलीले प्रदेश सरकार परिवर्तन गर्न खोज्ने प्रयासको पनि आलोचना गरेका छन् । संघीयताको माला जपेर नथाक्नेहरु नै संघीयताप्रति जनतामा वितृष्णा फैलाउने काममा लागेको भन्दै उनले भने, ‘कुनै प्रदेश यस्तो छैन, जहाँ समस्या नहोस् । अरु काम केही छैन, हरेक प्रदेशमा सरकार परिवर्तन । मुख्यमन्त्री परिवर्तन। अविश्वासको प्रस्ताव बोकेका छन्, कुदेका छन् ।’

अग्रगामी शक्तिविरुद्ध अपवित्र गठबन्धन बनाएर अस्थिरता ल्याउन खोजेको र जनतामा संघीयता नहुने रहेछ कि क्या हो भन्ने पर्न थालेको प्रधानमन्त्री ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment