Comments Add Comment

प्रहरीमा दैनिक ११० घटना दर्ता, सबैभन्दा धेरै आत्महत्या

३१ चैत, काठमाडौं । नेपाल प्रहरीमा पछिल्लो ८ महिनामा २६ हजार ३०६ वटा घटना दर्ता भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार यो अघिल्लो वर्षको फागुन मसान्तसम्म दर्ता घटनाको तुलनामा १६.१६ प्रतिशतले कम हो ।

कुँवरका अनुसार आर्थिक वर्ष २०७७ साउनदेखि फागुनसम्म सबैभन्दा धेरै आत्महत्याको ४ हजार ४८३ वटा घटना दर्ता भएका छन् । ‘आत्महत्यापछि सार्वजनिक हित सम्बन्धी कसूरमा ४ हजार ३६८ वटा घटना दर्ता भएको देखिन्छ’, उनले अनलाइनखबरसँग भने, ‘यही अवधिमा लागूऔषधको १ हजार ९८३ घटना दर्ता भएका छन् ।’

लागूऔषधपछि बैंकिङ कसूर, जबरजस्ती करणी र चोरीसम्बन्धी घटना क्रमशः १ हजार ६८८, १ हजार ६५३ र १ हजार ५६९ वटा घटना दर्ता भएको प्रहरीको तथ्यांक छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरका अनुसार पछिल्लो ८ महिनामा हत्या सम्बन्धी ४४७ वटा घटना दर्ता भएका छन् । ०७६ साउनदेखि फागुनसम्मको अवधिमा दर्ता भएको घटनाभन्दा २१.१२ प्रतिशतले बढी हो ।

कुँवरका अनुसार यो अवधिमा चोरीका घटना चाहिँ कम भएका छन् । २०७६ साउनदेखि फागुनसम्मको अवधिमा २ हजार ७ चोरीका घटना दर्ता भएकामा यो वर्षको साउनदेखि फागुनसम्म १ हजार ५६९ घटना दर्ता भएका छन् । यो २१.८२ प्रतिशतले कम भएको कुँवरले बताए ।

नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीका अनुसार प्रहरीको आक्रामक कारबाही, अन्तरदेशीय र संगठित अपराध नियन्त्रणमा प्राथमिकता जस्ता विषयले संगठित प्रकृतिका अपराध घटेको हो ।

उनका अनुसार महिला तथा बालबालिका सम्बन्धी घटना पनि ८ महिनाको अन्तरमा घट्दो अवस्थामा छन् । तर, गत आर्थिक वर्षको तुलनामा ८.५१ प्रतिशतले बढेको उनले सुनाए ।

‘अघिल्लो आर्थिक वर्षको तुलनामा अहिले कर्तव्य ज्यान, जबरजस्ती करणी, करणी उद्योग, ज्यान मार्ने उद्योग, आत्महत्या लगायतका गम्भीर प्रकृतिका घटनाहरु बढेता पनि समग्रमा दर्ता भएका घटनाहरुको तुलनामा गर्दा गत आर्थिक वर्षभन्दा १६.१६ प्रतिशतले कम भएको छ’, कुँवरले भने । अहिलेको आर्थिक वर्षमा चोरी, बैंकिङ कसूर, ठगी जस्ता अपराध कम भएको पाइएको उनले बताए ।

नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीका अनुसार प्रहरीको आक्रामक कारबाही, अन्तरदेशीय र संगठित अपराध नियन्त्रणमा प्राथमिकता जस्ता विषयले संगठित प्रकृतिका अपराध घटेको हो । अहिले सामाजिक प्रकृतिको अपराधको संख्या बढी रहेको तथ्यांकले देखाउँछ ।

समाजशास्त्री काशीनाथ प्याकुरेलका अनुसार संगठित अपराध घट्नुमा कोरोना भाइरसको महामारीको पनि कारण देखिएको छ । ‘प्रहरी कारबाही त छँदैछ, महामारीका कारण संगठित र अन्तरदेशीय अपराधको चेन पनि खल्बलिएको छ’, उनी भन्छन् । महामारीकै कारण मानिसहरु जागिरविहीन हुँदा ठगी, लुटपाट र चोरी जस्ता घटना बढेको उनी बताउँछन् ।

३९७ हतियार बरामद, राजश्व संकलन बढ्यो

प्रहरीले यो साउनदेखि फागुनसम्मको अवधिमा देशभरबाट ३९७ वटा छोटो तथा लामो हतियार बरामद गरेको छ । प्रवक्ता कुँवरका अनुसार ३४९ लामो तथा ४८ वटा छोटो हतियार बरामद भएको हो ।

अघिल्लो आर्थिक वर्षको यही अवधिमा २१४ लामो र ८१ छोटो गरी २९४ वटा हतियार बरामद भएको थियो ।

प्रहरीले साउनदेखि फागुनसम्म ४ हजार ७०५ जना फरार आरोपीलाई पक्राउ गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा २ हजार ३३२ जना फरार प्रतिवादी पक्राउ परेका थिए । यही अवधिमा २४ करोड ३५ लाख २३ हजार ५३ रुपैयाँ बिगो संकलन भएको उनले बताए ।

कुँवरका अनुसार गत आर्थिक वर्षको फागुन मसान्तसम्म पक्राउ परेका फरार आरोपीको पक्राउ गर्दा अहिलेको संख्या शतप्रतिशतले बढी हो । प्रहरीले यो अवधिमा २७ किलो सुन बरामद गरेको छ, अघिल्लो आर्थिक वर्ष ३० किलो बरामद भएको थियो ।

‘यो अवधिमा २ अर्ब १२ करोड ७४ लाख ५७ हजार ५७० रुपैयाँ राजश्व संकलन भएको छ’, कुँवरले भने, ‘गत वर्षको १२ महिनाभन्दा यस वर्षको ८ महिनामै राजश्वमा योगदान २७ प्रतिशतले बढेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment