+
+
Shares

जेनजी प्रदर्शनमा प्रहरी प्रशासनको गम्भीर चुक

१५ चैतको तिनकुने प्रदर्शनबाट पाठ नसिकेको प्रहरी प्रदर्शनकारी संसद् भवनमा पुग्नुअघि नै रोक्नुपर्नेमा असफल भयो । जब जेनजी निषेधित क्षेत्र नाघेर अघि बढे, अन्धाधुन्ध गोली चलाउन थाल्यो ।

गौरव पोखरेल गौरव पोखरेल
२०८२ भदौ २३ गते २३:१५

२३ भदौ, काठमाडौं । माइतीघरदेखि बानेश्वर क्षेत्रमा पछिल्लो पाँच वर्षमा दर्जनौं प्रदर्शन र आन्दोलन भए, हजारौंको उपस्थिति भएको शिक्षक आन्दोलन भयो । दुर्गा प्रसाईं नेतृत्वको अराजक राजावादी आन्दोलनसमेत भयो । सबैमा प्रदर्शनकारी निषेधित क्षेत्र तोडेर अघि बढ्न खोज्थे, घम्साघम्सी हुन्थ्यो ।

तर, कुनैमा प्रदर्शनकारी नयाँ बानेश्वरमा रहेको संसद् भवनसम्म पुग्न सक्थेनन् ।

शिक्षक लगायतका आन्दोलनमा एभरेष्ट होटल अगाडि नै प्रदर्शनकारी रोकिए, तीनकुनेमा भएको प्रसाईंको आन्दोलनमा सहभागीलाई समेत संसद् भवनतिर आउन नदिने गरी व्यवस्थापन गरिएको थियो । सोमबारको जेनजी आन्दोलनलाई चाहिँ सुरक्षा संयन्त्रले कमजोर आँक्दा गम्भीर सुरक्षा चुक भएको छ ।

नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तम सुवेदीका अनुसार, १५ चैतको आन्दोलनमा समेत प्रदर्शनको चुनौती विश्लेषण गर्न चुक्दा जनधनको क्षति भएको थियो ।

‘त्यसबेला २ जनाको मृत्यु र करोडौं रुपैयाँको जनधन क्षति भएको थियो, तर ५ महिनापछि भएको यो प्रदर्शनमा पनि प्रहरीले केही सिकेको देखिएन,’ उनले अनलाइनखबरसँग भने, ‘यो प्रदर्शनमा कति युवा जम्मा हुन्छन्, कसरी परिचालित हुन्छन्, योजना के के छ भन्ने विषयकै राम्रो विश्लेषण भएको देखिन्न ।’

जेनजीले एकैपटक काठमाडौंको सडकमा प्रदर्शन गरेका थिएनन् । इन्डोनेसियामा भएको भ्रष्टाचार विरोधी आन्दोलन देखेका युवाले सामाजिक सञ्जालमा एकसातादेखि ‘नेपोवेविज’ अभियान चलाइरहेका थिए । नेताका छोराछोरीको विलासी जीवनशैलीलाई डिजिटल स्पेशमा उजागर गरिरहेका थिए ।

त्यो अभियानको निशानामा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका छोरादेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी र नातिनीसम्म परिरहेका थिए । एमाले नेता महेश बस्नेत, सांसद एकनाथ ढकाल लगायतका परिवार समेत तारो बनिरहेका थिए ।

यो पृष्ठभूमिमा घोषित जेनजी आन्दोलनको हुरी कुन तहसम्म फैलिइसकेको थियो भने भिडियो स्ट्रिमिङ प्लेटफर्म टिकटकमा यससम्बन्धी पोष्टमा आएका हजारौं भ्यूजले देखाउँथ्यो । रेडिटदेखि डिस्कर्डसम्म चलिरहेका छलफलले देखाउँथ्यो ।

अझ पछिल्लो समय देशका चर्चित कलाकारहरू, काठमाडौं महानगरका मेयर बालेन शाहदेखि सामाजिक सञ्जाल इन्फ्लुयन्सरहरूले जनाएको ऐक्यबद्धताले सोमबारको प्रदर्शनमा हुनसक्ने उपस्थितिको छनक दिन्थ्यो । तर, काठमाडौं प्रहरी परिसर प्रदर्शनको विश्लेषण गर्न चुकेको देखिएको अधिकृतहरू बताउँछन् ।

प्रहरीले अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको गम्भीर उल्लंघन गरेको छ, बल प्रयोगको हदले सीमा नाघेको छ । – मोहना अन्सारी, पूर्वसदस्य, मानवअधिकार आयोग

जेनजी प्रदर्शन बानेश्वरस्थित संसद् भवन पुग्नुअघि दिउँसो ११:४५ बजे एउटा वाटर क्याननबाट केहीबेर पानी हान्नुबाहेक प्रहरीले त्यहाँ केही गरेन । एकजना डीएसपीसहित सीमित प्रहरी अधिकारीहरू मात्र त्यहाँ देखिए । प्रहरीले बोकेको माइकमा बोलेको आवाज समेत सुनिने स्थिति थिएन । केहीबेरमै प्रहरी पछि हट्यो । आन्दोलनकारी सिधै बानेश्वर पुग्दा समेत त्यहाँ थप उपस्थिति देखिएन ।

बरु जेनजी युवाले संसद् भवनको गेट भत्काउने प्रयास गर्न थालेपछि संसद् भवनभित्र बसेका प्रहरीले अन्धाधुन्ध अश्रु ग्यास हान्न थाले । प्रदर्शनकारी झन् आक्रोशित भए । परिस्थिति कस्तोसम्म भयो भने संसद् भवनको गेटमाथि प्रदर्शनकारी चढ्दा प्रहरीले ताकेरै घातक हतियारबाट गोली चलायो । अनलाइनखबरको ड्रोन भिडियोमा समेत प्रहरीले कसरी ताकेर गोली हानिरहेको देखिन्छ ।

‘खासमा १५ चैतमा भएको कमजोरीमा फिल्डमा खटिएकादेखि दोषी देखिएकाहरूलाई कारबाही भएको भए यो स्थिति नआउन सक्थ्यो,’ काठमाडौंका पूर्वप्रहरी प्रमुख समेत रहेका सुवेदी भन्छन्, ‘गृहमन्त्रीले अहिले राजीनामा त दिनुभयो, तर त्यतिबेलै यो निर्णय भएको भए सायद अहिले गृह प्रशासन अर्को हिसाबले अघि बढ्थ्यो ।’

फिल्डमा भिड नियन्त्रणको अनुभव नभएका प्रहरीलाई खटाउँदा समेत विगतमा कठिनाइ भएको देखिएको थियो । तर, त्यसमा पनि प्रहरीले सिकेको देखिएन । राति मात्र कमाण्ड गर्न भन्दै एसएसपी सोमेन्द्रसिंह राठौरलाई समेत परिचालन गरिएको सार्वजनिक भयो ।

मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीका अनुसार, सोमबारको घटनाले आन्दोलनमा प्रहरीको बल प्रयोगले सीमा नाघेको देखिन्छ ।

‘२०६२/६३ सालको जनआन्दोलनपछि यो तहसम्मको बल प्रयोग सायद भएको थिएन, झन् भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा एकैदिन एउटै घटनामा यति धेरै मानिसहरुको ज्यान जानु अस्भाविक परिरस्थिति हो,’ उनी भन्छिन्, ‘यो नेपालको संविधानले दिएको भेला हुने, आफ्नो भनाइ राख्न पाउने नागरिक अधिकारको समेत उल्लंघन हो, साथै अन्तर्राष्ट्रिय मानवअधिकारको समेत गम्भीर उल्लंघन भएको छ ।’

गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सोमबार अबेर दिएको जानकारी अनुसार, प्रदर्शनमा १९ जनाको मृत्यु भएको छ, देशभर कम्तीमा ३ सय घाइते उपचाररत् छन् । यो तहको परिस्थिति आउनुको प्रहरीबाट प्रदर्शनकारीमाथि बारम्बार भइरहेको घातक हतियारको प्रयोग समेत हो ।

‘पटकपटक घातक हतियारको प्रयोग नगरौं, म्याद सकिएको अश्रु ग्यास नहानौं भनेर कुरा उठिरहेको हुन्छ, तर प्रहरीले बारम्बार त्यही दोहोर्‍याइरहन्छ,’ अन्सारी भन्छिन्, ‘अझ आज त अस्पतालमा समेत अश्रु ग्यास प्रहार भएको छ ।’

बानेश्वरको सिभिल अस्पताल परिसरमै प्रहरीले साँझ लाठीचार्ज र अश्रु ग्यास हानेका थिए । जबकि, प्रदर्शन नियन्त्रणबाहिर पुग्नुअघि सोमबार सडकमा प्रहरीको साथमा लाठी नै देखिएन ।

२०३६ सालदेखि भीड नियन्त्रणका लागि खटिएका पूर्वडीआईजी माधव थापाका अनुसार, २०६२/६३ पछि भएको आन्दोलनमा समेत १९ दिनमा २१ जना मात्र मारिएका थिए ।

‘जम्मा २१ जनाको ज्यान गएर गणतन्त्र आएको हो, तर यो सबै गैरघातक हतियार प्रयोग गरेकाले सम्भव भएको हो,’ उनी सम्झन्छन्, ‘त्यतिबेला रबर बुलेटको प्रयोग र लाठी चार्ज व्यापक गरिएको थियो ।’

तर, जानकारहरुका अनुसार, सोमबार प्रहरीले जतिबेला भिडमा हस्तक्षेप गर्नुपथ्र्यो, त्यसबेला केही गरेन । जब परिस्थिति नियन्त्रणबाहिर पुग्यो, त्यसपछि जथाभावी घातक हतियार प्रयोग गर्न थाल्यो ।

नेपाल प्रहरीका एक उच्च अधिकृत चाहिँ आफूहरुले पहिले जिल्ला प्रशासन कार्यालयमा रहेको कमाण्ड सेन्टरबाट बल प्रयोग गर्ने अनुमति नै नपाएको दाबी गर्छन् । कमाण्ड सेन्टर प्रमुख जिल्ला अधिकारी छवि रिजालको नेतृत्वमा थियो ।

उनी आफैं अहिले छोराछोरीलाई विदेश पठाएर काठमाडौंमा जेनजीमाथि गोली बर्साएको भन्दै सामाजिक सञ्जालमा प्रश्न खेपिरहेका छन् ।

रिजालमाथि व्यापक प्रश्न उठाइन थालेपछि उनले प्रशासनको वेबसाइटबाट आफ्ने तस्वीर समेत हटाएका छन् ।

‘तर, यसमा काठमाडौं प्रहरीबाट झन् गम्भीर चुक भयो, यसबारे प्रहरी प्रधान कार्यालयले समीक्षा गर्दैछ,’ एक अधिकृतले भने, ‘काठमाडौंमा पटकपटक भएको यस किमिसको कमजोरीलाई गम्भीरतापूर्वक लिएका छौं ।’

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?